जसले पर्खिरहेछन् पर्यटक

पहाडमा ‘हिल स्टेसन’ निर्माण गरी तराई र भारतको उत्तर प्रदेशका बासिन्दाको गन्तव्य बनाउने प्रदेश ५ सरकारको योजना
प्रदेश ब्युरो

बुटवल — लुम्बिनी प्रदेश ५ को पर्यटकीय केन्द्र हो । लुम्बिनीमा पर्यटक टिकाउन समस्या देखिएको छ । लुम्बिनी विकास कोषका अनुसार त्यहाँ आउने पर्यटक कम्तीमा २९ मिनेटदेखि बढीमा एक रात बिताउँछन् ।

पाल्पाको पर्यटकीय गन्तव्य रानीमहल ।

उनीहरूको बसाइ लम्ब्याउन रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धस्थल जोडेर बृहत्तर लुम्बिनीको योजनामा छलफल चलिरहेको छ । प्रदेशका जिल्लामा पर्यटन व्यवसायमा लगानी बढिरहेको छ ।

लुम्बिनी लक्षित गरी आउने पर्यटकलाई नजिकका नबिथोलिएका (भर्जिन) पहाडी गन्तव्य र तीर्थस्थलमा आकर्षित गर्न सके बसाइ लम्बिने स्थानीय बताउँछन् । प्रदेश सरकारले पहाडमा ‘हिल स्टेसन’ निर्माण गरी तराई र भारतको उत्तर प्रदेशका बासिन्दा आकर्षित गर्न सकिने निष्कर्ष निकालेको छ ।

पाल्पाका व्यवसायीले पर्यटकको बसाइ लम्ब्याउने योजना अघि सारेका छन् । लुुम्बिनी र पोखरामा आउने पर्यटकलाई पाल्पा र गुल्मीमा एक दिन बसाउने योजना बनाएका हुन् । होटल व्यवसायी, उद्योग वाणिज्य संघ, एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाटा), पर्यटनसँग सम्बन्धित संघसंस्था, होमस्टे सञ्चालक, स्थानीय तहले आन्तरिक तथा बाहय पर्यटकको बसाइँ लम्ब्याउन विभिन्न योजना अघि सारेर पर्यटकीय क्षेत्रको प्रचारमा जुटेका छन् । ‘पर्यटक आकर्षित गर्ने योजना जरुरी छन्,’ तानसेन ६ वडाध्यक्ष सागरमान महर्जनले भने, ‘कम्तीमा एक दिन बसाउन सकियोस् ।’ यसका लागि विभिन्न संघसंस्था, व्यक्तिको सहयोग आवश्यक रहेको उनले बताए ।

पर्यटनविज्ञ मनमोहन श्रेष्ठले पाल्पामा रहेका मठमन्दिर, श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र हुँदै गुल्मीको रेसुंगासम्म लैजानुपर्ने बताए । गर्मीका बेला बुटवलबाट ३९ किमि यात्रा गरेपछि तानसेन पुगिन्छ । ‘पहिले बासको समस्या थियो,’ उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भने, ‘अहिले होटल छन् ।’ जिल्लाका बल्ढेङ्गढी, रिब्दीकोट, भैरवस्थान, सिद्धगुफा, रानीमहल, श्रीनगरडाँडा, रम्भादेवी ताँहु, रामपुर, राम्दी, रुरु क्षेत्रमा पर्यटक लैजान सकिन्छ । बल्ढेङ्गढीबाट हिमाल र समथर तराई देखिन्छ । ‘भैरवस्थानमा प्रतापशमशेरले एसियाकै ठूलो त्रिशूल चढाएको विश्वास गरिन्छ,’ रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जीसीले भने, ‘हामीले पर्यटन क्षेत्रमा काम गर्ने योजना बनाएका छौं ।’

तानसेन १२ मा सिद्ध गुफा छ । तानसेनबाट २ घण्टा पैदल हिँडे रानीमहल पुगिन्छ । तत्कालीन जनरल खड्गशमशेरले रानी तेज कुमारीको सम्झनामा रानीमहल बनाएका थिए । मूल तानसेनको भगवती टोलमा रणउजीरेश्वरी मन्दिर छ । अमरनारायण मन्दिर अर्को आकर्षण हो । प्रभासमा रहेको कमलपोखरीमा रातो जंगली धान पाइन्छ । बौघापोखराथोकको अग्लो डाँडालाई चेचिकोट अथवा रतन पाँडे भन्ने गरिन्छ । बौघागुम्हामा होमस्टे सञ्चालन गरिएका छन् । चापपानीमा बगनासदेवी मन्दिर छ ।

Yamaha

बौघागुम्हाको वैकुण्ठे झरना, कोलडाँडाको रक क्लाइम्बिङ, राम्दीदेखि केलादीसम्म र्‍याफ्टिङ, बल्ढेङ्गढीमा पर्यापयर्टन, अर्गली, रामपुर, मदनपोखरालाई कृषि पयर्टनका रूपमा पनि विकास गर्न सकिने व्यवसायी प्रदीप उदय बताउँछन् । खेल पयर्टन, प्याराग्लाइडिङ, पदयात्राका रूपमा विकास गर्न सकिने पनि थुप्रै क्षेत्र रहेको उनले बताए । पर्यटकलाई रुरु हुँदै गुल्मीको रेसुंगासम्म पुर्‍याउन सकिन्छ ।

पुर्कोटदहका पृथ्वी कुँवरले रेसुंगासँगै मदाने, थाप्लेलेक, पुर्कोटदहलगायत थुप्रै पर्यटकीय स्थलको विकास जरुरी रहेको बताए । रेसुंगामा पर्यटकीय पूर्वाधार छैनन् । ‘रेसुंगा लेकमा पुग्दा रमाइलो लाग्छ,’ घुम्न आएका रवि विष्टले भने, ‘तर भौतिक पूर्वाधार छैनन् ।’ स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले रुरुसँगै रेसुंगालाई जोड्न सक्नुपर्ने उनको सुझाव छ । रुरु रेसुंगा संरक्षण समितिले १५ वर्षे पर्यटन योजना बनाएको छ । ५ करोड रुपैयाँ खर्च गरिसकेको छ । मुलुकका १८ पर्यटकीय गन्तव्यमध्ये रेसुंगा पनि हो । पोखरी जीर्णोद्धार, रेसुंगा यज्ञशाला जीर्णोद्धार, ऋषि शृंगेश्वर आश्रम निर्माण, सिद्धबाबा मन्दिर जीर्णोद्धार गरेको छ ।

भारतीयको भीड
स्वर्गद्वारी भारतीय तीर्थयात्रीको मुख्य गन्तव्य हो । उत्तर प्रदेशस्थित गोन्डा, बलरामपुर, श्रावस्तीका बासिन्दा आउँछन् । आश्रम व्यवस्थापन समितिका अनुसार वर्षमा २ लाख बढी भारतीय आइरहेका छन् । प्रत्येक दिन भारतीय तीर्थयात्रीले परिसर भरिभराउ हुन्छ । स्वर्गद्वारीमा पूजा गरे स्वर्ग पुगिने विश्वास छ । यहाँ आउनेमध्ये ७० प्रतिशत भारतीय रहेको आश्रमका लेखापाल वासुदेव भट्टराई बताउँछन् ।

भदौ, कात्तिक, वैशाख र जेठमा धेरै आउँछन् । ‘यतिबेला पूजा गर्नेको लाम हुने भएकाले आएकै दिन फर्किन भ्याउँदैनन्,’ उनले भने, ‘आश्रमका धर्मशाला भरिन्छन् ।’ जेठमा दैनिक ४/५ हजार आउने भट्टराईले बताए । गत जेठमा ६० लाख भेटी जम्मा भएको उनको भनाइ छ । स्वर्ग पुगिने र मागेको पूरा हुने विश्वासले आएको भारत बलरामपुरका विनोद यादवले बताए ।

२०१५/१६ सालदेखि भारतीय आउने गरेको आश्रम व्यवस्थापन समिति सदस्य ध्रुवश्री (रुद्र मिश्र) बताउँछन् । ‘भारतीय तीर्थयात्रीले चढाएको भेटीले आश्रम धानिएको छ,’ उनले भने, ‘पछिल्लो समय संख्या झन् बढ्दै छ ।’ वैशाखे पूर्णिमा, भदौको पितृपक्ष र खिचडी पर्व माघमा पनि भारतीय तीर्थयात्री आउने उनले बताए ।

रमणीय पूर्वी रुकुम
कान्छो जिल्ला पूर्वी रुकुम प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ । तीन गाउँपालिका रहेको यो रमणीय जिल्ला हो । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका पर्यटकीय महत्त्वका छन् । विभिन्न हिमाल, ताल तथा पोखरी, बहुमूल्य जडीबुटी, मगर गाउँ, मगर समुदाय संस्कृति, रीतिरिवाज, वेशभूषा, युद्ध पर्यटन, यार्चा र गुरिल्ला पदयात्रा मार्ग विशेष आकर्षणका छन् ।

५ हजार मिटरभन्दा अग्ला आधा दर्जन हिमाल छन् । पुथा, दोगारी, सामजाङ, सिस्ने, निम्खु, चुरेन हिमाल छन् । ७ हजार २ सय ४६ मिटर अग्लो पुथा, ६ हजार ५ सय ३६ मिटर अग्लो दोगारी, ५ हजार ९ सय २४ मिटर अग्लो सामजाङ, ५ हजार ९ सय ११ मिटर अग्लो सिस्ने, ५ हजार ८ सय ४० मिटर अग्लो निम्खु हिमाल र चुरेन हिमालको उचाइ ५ हजार ५ सय ९८ मिटर छ । पहिचान भइसकेका तथा हुन बाँकी दर्जनौं ताल र पोखरी छन् । सिस्ने गाउँपालिकाको कमलतालबाहेक सबै बस्तीदेखि टाढा छन् ।

मगर बस्ती, संस्कृति, वेशभूषा र भाषा आकर्षण हुन् । पुथाउत्तरगंगाका अधिकांश, भूमेका केही क्षेत्र मगर समुदायको बसोबास छ । उनीहरू वेशभूषा, भाषा र रीतिरिवाजका धनी छन् । रन्मामैकोट, तकसेरालगायतका मिलेका मगर बस्ती तथा गाउँ हेर्न लायक छन् । यार्चा र गुरिल्ला पदयात्राले पर्यटक लोभ्याउँछन् । पुथाउत्तरगंगाको मैकोटस्थित बुकी पाटनमा यार्चा पाइन्छ ।

सिजनमा धेरै मान्छे जम्मा हुने क्षेत्र यार्चा पदयात्रा मार्गबाट चिनिन्छ । तत्कालीन माओवादीले १० वर्ष सञ्चालन गरेको युद्धका क्रममा लडाकु हिँडेको बाटो ‘गुरिल्ला ट्रेल’ हो । रोल्पा, बागलुङ, म्याग्दी, रुकुमपूर्व हुँदै रुकुम पश्चिम, जाजरकोटसम्म ‘गुरिल्ला ट्रेल’ फैलिएको छ । सडकको पहुँच कम छ । मध्यपहाडी लोकमार्गले जिल्ला भित्रिन तथा बाहिरिन सजिलो बनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७५ ०८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ठेलमठेल अस्पताल

राजेन्द्र मानन्धर

दाेलखा — चरिकोटस्थित अस्पतालको टिकट काउन्टर खुल्ने समय बिहान १० बजेदेखि मध्याह्न १ बजेसम्मको अवस्था हेर्ने हो भने कुनै आन्दोलन भइरहेजस्तै लाग्छ– ठेलमठेल, जताततै भीड । सम्पूर्ण सेवा नि:शुल्क भएको यहाँ दैनिक ३ सयभन्दा बढी बिरामीले जचाउँछन् ।

सबै सेवा नि:शुल्क पाइने चरिकोट अस्पताल । तस्बिर : राजेन्द्र/कान्तिपुर

तर भवन र स्थान अभाव छ । कोही भुइँमा बसेर उपचारको पर्खाइमा हुन्छन् । बहिरंग (ओपीडी) सेवा लिन बिरामी भीडमा च्यापिएर पर्खिरहेका हुन्छन् । दैनिक सरदर ४ जनालाई प्रसूति गराइने अस्पतालमा शिशु र सुत्केरी अप्ठयारो बसाइमा डिस्चार्जका दिन कुरिरहेका हुन्छन् । खासगरी, सरकार र निजी क्षेत्रको साझेदारीमा नि:शुल्क कार्यक्रम ल्याइएपछि अस्पतालमा भवन अभाव हुन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका काम स्थानीय तहमा सर्दै गएपछि अस्पताल कम्पाउन्डभित्रका केही भवन खाली छन् । भूकम्पपछि प्रबलीकरण गरिएका एउटा भवन कोठाहरू झन्डै १ वर्षदेखि तालाबन्दी छ । अस्पताल सञ्चालनको जिम्मेवारी पाएको भीमेश्वर नगरपालिकाले उक्त भवन सञ्चालन गर्न तीन पटक पत्राचार गरिसकेको छ । तर, अस्पतालका लागि जिल्ला स्वास्थ्य कार्यालयले भवन दिन आलटाल गर्दै आएको कर्मचारीहरू बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयको उक्त भवन प्राथमिक केन्द्रको स्वामित्वको जमिनभित्र छ । निजी क्षेत्र न्याय हेल्थले १० वर्षका लागि व्यवस्थापनको जिम्मेवारी लिएपछि प्राथमिक उपचार केन्द्र हुँदै अस्पतालमा परिणत भएको हो । प्रस्तावित अस्पतालको नाम दिइएको उक्त स्वास्थ्य केन्द्रमा नि:शुल्क सेवा लिन जिल्लाभित्र र काठमाडौंबाट पनि बिरामी आउँछन् ।

अन्यत्र ५/६ लाख खर्च लाग्ने भनिएका शल्यक्रिया उक्त अस्पतालमा नि:शुल्क हुने भएपछि अधिक चाप बढेको हो । स्थान अभावकै कारण क्यान्सर परीक्षणलगायत कतिपय सेवा सुरु नै गर्न नसकिएको प्रमुख चिकित्सक विनोद दंगाल बताउँछन् । उनका अनुसार भवन भए सेवाका दायरा बढाइँदै लान सकिने र बिरामीले नि:शुल्क लाभ लिन पाउने अवस्था छ ।

दैनिक दुईदेखि तीन जनासम्मको जटिल शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । सुरक्षित आराम कक्ष र शय्या अभावले सातामा पाँचदेखि ८ जनासम्म सरल शल्यक्रियाका बिरामीसमेत राजधानी रिफर भइरहेका छन् । जिल्ला स्वास्थ्य प्रमुख रामेश्वरप्रसाद चौरसिया खाली रहेको एउटा भवनमा विभिन्न निकायको आँखा परेकाले निर्णय गर्न नसकेको बताउँछन् ।

अहिले भवनमा स्टोर तथा रेडक्रसको ब्लड बैंक भएको प्रमुख चौरसियाले बताए । माथिल्लो खाली कोठामा हालै नगरपालिकाले औषधि राखेको छ । अस्पतालका लागि नगरपालिका र न्याय हेल्थले चाहेमा स्थान अभाव नहुने दाबी पनि उनले गरे ।

प्रकाशित : आश्विन २१, २०७५ ०८:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT