१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सीमामा सशस्त्र र एसएसबी सँगसँगै

विप्लव भट्टराई

इलाम — पटक–पटक सीमा विवाद उठ्ने इलामको पूर्वी भारतीय क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन हुने भएको छ । सशस्त्रले भारतीय सीमासुरक्षा बल एसएसबीसँगको सहकार्यमा सीमासुरक्षा गर्ने योजना छ ।
साहयता कक्षदेखि संयुक्त गस्ती गरेर सीमा क्षेत्र अनुगमनको काम हुनेछ ।

सीमामा सशस्त्र र एसएसबी सँगसँगै

दसैंअगावै सशस्त्रले ‘बोर्डर अब्जरभेसन पोस्ट’ राख्ने छ । पोस्ट सञ्चालन हुनासाथ दस गजाभित्र सहायता कक्ष सञ्चालनमा आउनेछन् । सशस्त्रले राख्ने पोस्टमा १ भारतीय सीमासुरक्षा बल रहनेछन् ।


त्यस्तै, एसएसबीले राखेको पोस्टमा सशस्त्रका पनि १ प्रतिनिधि हुनेछन् । ‘यसले दुवैतर्फ सहजीकरणमा सजिलो हुनेछ,’ सशस्त्र प्रहरी उपरीक्षक विदुर खडकाले भने, ‘त्यहाँको कमान्डरको सल्लाहबमोजिम सीमाक्षेत्रको गस्तीसमेत हुनेछ ।’ यो क्रममा सीमा पिलर, दशगजा र सीमामा देखिएका विवादबारे केन्द्रमा जानकारी हुनेछ र सर्वे टिमले समस्या समाधान गर्नेछ ।’ सीमाक्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) राख्ने तयारी भएको हो ।

इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुर क्षेत्रको ५ सय मिटर आसपास सशस्त्रको बीओपी क्याम्प रहनेछ । गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र प्रहरी बल, नेपाल १ नं. गण इलामले सीमासुरक्षाका लागि पोस्ट खडा गर्ने भएको हो । ०७५ जेठ २७ गते मन्त्रिपरिषद् निर्णयअनुसार गत साउन १३ गते गुल्मलाई स्तरोन्नति गर्दै गणमा परिणत गरिएको थियो ।

सरकारको नीतिअनुरूप तत्काल जिल्लाका चार स्थानमा बोर्डर अब्जरबेसन पोस्ट रहनेछ । पूर्वी पहाडी जिल्लाको सीमासुरक्षालाई ध्यान दिँदै पाँचथरको प्राङबुङ, चिवाभञ्ज्याङ र ताप्लेजुङको ओलाङचुङगोलामा पनि पोस्ट स्थापना हुनेछन् ।


भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमाक्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिति शून्य भएको गुनासो आउने गरेको थियो ।

सीमा पिलर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने र सीमाक्षेत्रमै अतिक्रमण हुने गरेको सरोकारवालाले गुनासो गर्दै आएका थिए । पोस्ट राखेपछि सीमासुरक्षालगायत शान्तिसुरक्षामा उल्लेख्य सुधार हुने गणका विदुर खडकाले जानकारी दिए । ‘इलाम त्यसै पनि शान्ति कायम भएको जिल्ला हो,’ खडकाले भने, ‘सशस्त्रको स्तरवृद्धिसँगै ठोस कार्यक्रमका साथ भएको उपस्थितिले स्थानीयलाई
सहज हुनेछ ।’


सन्दकपुरदेखि रोङ गाउँपालिका सलकपुरसम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रले भारतलाई छोएको छ । प्रत्येक १३ किलोमिटरमा बीओपी रहने गरी पोस्ट स्थापना हुनेछन् । जिल्लाका ४ स्थानमा बीओपी राख्ने निक्र्योल भए पनि तत्काल पशुपतिनगरमा पोस्ट रहनेछ ।

त्यहाँ सशस्त्र प्रहरी निरीक्षक कमान्डमा ३५ जना बस्नेछ । पशुपतिनगरस्थित पुरानो भन्सार कार्यालयमा पोस्ट रहनेछ । दसैंअघि नै पोस्ट राखिने खडकाले जनाए । अन्य स्थानमा पोस्ट स्थापनाका लागि जग्गासहित बासस्थानको व्यवस्था गर्न जिल्ला सुरक्षा समितिबाट सिफारिस भइसकेको उनले बताए ।

प्रकाशित : आश्विन २२, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?