३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भूकम्पको भग्नावशेष हटाइयो

कान्तिपुर संवाददाता

पाल्पा — तानसेन नगरपालिका १ गोर्खेकोटस्थित हरिकुमारी श्रेष्ठको घर ०७२ सालको भूकम्पले भत्कायो । आधापाखो भत्केकै अवस्थामा तीन वर्ष रह्यो । पूरै भत्काउन् सकिनन् । आधा भत्केको घरमा बस्दै आएका थिए ।

भूकम्पको भग्नावशेष हटाइयो

यसपटक नेपाली सेनाको गोरखदल गणले घर भत्काइदियो । ‘सहयोगका लागि अनुरोध आएपछि घर भत्काएका हौं,’ गणका सेनानी मनोज डंगोलले भने, ‘उनीहरूसित भत्काउने उपाय नभएर खबर गरेका रहेछन् ।’


स्थानीयले धराप रहेको खबर गरेपछि त्यहाँ पुगेर आधा भागको भग्नावशेष हटाइएको उनले बताए । आवश्यक सहयोग माग भयो भने आफूहरू जहाँ पनि पुगेर त्यस्ता संरचना भत्काउन सक्ने डंगोलले बताए । ‘वरिपरिका कसैलाई पनि हानिनोक्सानी नहुने गरी सुरक्षित तवरले भत्काइएको छ,’ उनले भने, ‘यसअघि पनि सहयोग माग आएको स्थानमा पुगेर यस्ता भूकम्पले जोखिम भएका घर भत्काइएको छ ।’


तानसेन नगरपालिका ६ बर्तुङमा ढकेश्वर पोखरेलको भूकम्पले चर्किएको घरको भग्नावशेष पनि सेनाले हटाएको थियो । पोखरेलको घर भत्किँदा दुई जना घाइते भए । आधा भत्किएकाले त्यसलाई पूरै हटाउन सहयोग गरेको सेनानी डंगोलले बताए । चर्केका र कुनै पनि बेला भत्किन सक्ने जिल्लामा ५ हजारभन्दा बढी घर छन् । पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्पपछि अझै पनि जोखिमयुक्त घरमै बसेका छन् । केन्द्रीय तथ्यांक विभागबाट आएका इन्जिनियरले चर्केका र भत्केका १० हजार ४ सय ६५ घरको फोटो खिचेर लगेका थिए । ४ हजार ६ सय ५२ जनाको लाभग्राही सूची जिल्लामा आएको छ । त्यस्ता घरमध्ये अधिकांश घरमा अहिले पनि बसोबास छ । बाँकी रहेका ५ हजारभन्द बढी घर अझै पनि जोखिममै छन् । अधिकांशले भूकम्पले भत्काएकै संरचनामा टालटुल गरेर बसेका छन् ।


अधिकांश भ्वाङ परेका र चर्केका घरमै छन् । हरेक वर्ष दसंै नजिकिँदै गर्दा उनीहरूको मन खिन्न हुने गरेको छ । ‘हामी आफैं घर भत्काएर पुन: बनाउन सक्ने क्षमतामा छैनौं,’ उनीहरू भन्छन्, ‘हाम्रो घर कसले भत्काइदिने हो ?’ चर्केको र भ्वाङ परेपछि आफ्नै खर्चमा टालटुल गरेर बस्नेबाहेक अन्य उपाय नभएको रम्भा गाउँपालिका १ हेक्लाङका देवबहादुर नेपालीले बताए । भूकम्पले चर्केर भत्केकै घरमा बस्नुभन्दा टालटुल गरेर बसेको उनले बताए । अधिकांशको घर चिराचिरा परेको छ । ढुंगामाटोको गारो भत्किएर बाहिर उछिट्टिएका अझै धेरै छन् । घरमा हिँडदा पनि हल्लिनेमै बसेको रम्भा ४ हुमिनकी सीता गहतराजले बताइन् । ‘गाउँभरिका अरूले सुरुमा १५ हजार र पछि न्यानो कपडाको १० हजार पाए, मेरा हातमा त त्यो पनि परेन,’ उनले भनिन्, ‘पहिले नै आस देखाएर सरकारले निराश पारेको छ ।’ उनको घरको पछाडिको भागमा भ्वाङ परेको छ । अझै पनि उनीहरू सोही घरमै बसेका छन् । घर फेरि उभ्याउन सकिने अवस्था नभएको उनले बताइन् । उनले भनिन्, ‘भत्किएकै घरमा रात बिताएका छौं ।’ जिल्लाका १० स्थानीय तहमा एक इन्जिनियर र दुई ओभरसियर प्राधिकरणले खटाएको छ । तर उनीहरू गाउँसम्म पुगेका छैनन । जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर विवेक शाहले पहिलो, दोस्रो र तेस्रो किस्ता कति जनाले लगे भन्ने तथ्यांक तत्काल उपलब्ध गराउन नसकिने बताए ।

प्रकाशित : आश्विन २२, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?