कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बुढीगण्डकी गेजुवालाई दिने निर्णयप्रति कांग्रेसको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणकाे जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले आइतबारको बैठकमा उक्त परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर गर्दै त्यसैअनुसार निर्णय लिन माग गरेको छ । 

बुढीगण्डकी गेजुवालाई दिने निर्णयप्रति कांग्रेसको आपत्ति

‘स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालमा गठित अध्ययन समितिले गरेको थियो,' कांग्रेसले निर्णयमा भनेको छ, 'त्यसका लागि जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ ।’

कांग्रेसले विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा पुग्नु राष्ट्रहित विपरित भएको उल्लेख गरेको छ । ‘कुनैपनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्वन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन्,’ कांग्रेसले भनेको छ, ‘तर कुनै प्रक्रिया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुग्नु, हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पनु सरकारको राष्ट्रहित विपरितको कदम हो ।’

उसले बुढीगण्डकी परियोजनाका बारेमा सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षड्यन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपिल गरेको छ ।

निजगढमा अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति कांग्रेसले विमति प्रकट गरेको छ । ‘आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्नेगरी गति बढाउन सरकारलाई अपील गर्दछ,’ कांग्रेसकाे निर्णयमा भनिएकाे छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वधारनै नभएको वातवरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलाली जिल्लाको गोदावरीमा सदरमुकाम राख्ने निर्णय अपरिपक्क, विकास विरोधी भनेको छ । ‘यो निर्णय गैरजिम्मेवार र भू तथा वन माफियाहरुको चलखेलबाट प्रभावित छ,’ कांग्रेस निर्णयमा छ ।’

चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मुल्यमा अचाक्ली वृद्धिका विषयलाई लिएर कांग्रेसले जिल्ला प्रशासनमार्फत तत्कालै ज्ञापन बुझाउने र केन्द्रमा सरकारलाई सचेत गराउने निर्णय लिएको छ । निर्मला पन्तको बलात्कार र हत्याको घट्नामा संलग्नलाई अढाई महिना पुगिसक्दा पनि कारवाहीको दायरामा नल्याउनु दु:खद भएको कांग्रेसले उल्लेख गरेको छ ।

‘सरकार विषयको गम्भीरताकाप्रति असंवेदनशील र असक्षम प्रमाणित भएको छ । यस्तै प्रकृतिका घटना मुलुकव्यापी रुपमा आउनु झनै चिन्ताको विषय बन्न पुगेको छ,’ निर्णयमा छ । शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारको अकर्मण्यताले अपराधको सम्रज्य विस्तार हुँदै गएको कांग्रेसले उल्लेख गरेको छ ।

कांग्रेसले वाईडवडी जहाज खरिद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको भन्दै कांग्रेसले गहिराइपूर्वक छानविन गरी सार्वजनिक गर्न सम्वन्धित निकायसँग आग्रह गरेको छ ।

प्रकाशित : आश्विन २२, २०७५ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?