कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैन : श्रममन्त्री

रासस

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् । 

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैन : श्रममन्त्री
सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क...’ को साेमबार लोकार्पण गर्दै उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए । 'सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ,' उनले भने ।


नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उनले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनुपर्ने बताए । नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उनले पूर्वाधार, आर्थिक, सामाजिक विकासमार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।


कार्यक्रममा का‌ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भूगोल र भावनामा विभक्त भएको दुई वटा नेपाललाई एक आपसमा जोड्न गीत, सङ्गीत महत्वपूर्ण माध्यम भएको बताए । रोजगारीका लागि विदेशिएका युवालाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको स्वीकार्दै शर्माले जहाँ रहेपनि मातृभूमिको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताए ।


उनले कांग्रेस नेतृत्वको सरकारका पालामा रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि स्पष्ट योजना बनाउन नसकिएको स्वीकार गरे ।


उक्त अवसरमा वरिष्ठ सर्जक नारायण रायमाझीले सरकार तथा राजनीतिक दलले विदेशिएका युवालाई स्वदेश फर्कन आह्वान गर्न नसकिरहेको सन्दर्भमा यस गीतले मातृभूमिको समृद्धिका लागि सम्पूर्ण युवालाई नेपाल फर्कन आह्वान गरेको बताए ।

प्रकाशित : आश्विन २२, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?