कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गौतमका आँखा काठमाडौं ७ मा

ओलीको प्रस्ताव— गौतमलाई सांसद रामवीर मानन्धरको स्थानमा लैजाऔं
मानन्धर भन्छन्— पार्टीले आवश्यकता देखे मान्न तयार छु
दुर्गा खनाल

काठमाडौँ — नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ  ।

गौतमका आँखा काठमाडौं ७ मा

नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विषयले प्रवेश पाएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले उक्त क्षेत्रका सांसद रामवीर मानन्धर आफ्नो पद छोड्नका लागि सकारात्मक रहेको जानकारी बैठकलाई गराएका छन् । एक नेताका अनुसार पार्टीले आवश्यकता देख्छ भने आफू पद छोड्न तयार रहेको भनी मानन्धरले आफूलाई बुझाएको पत्र अध्यक्ष ओलीले बैठकमा पेस गरेका थिए ।


‘अन्य क्षेत्रको प्रयास सफल नभएपछि अब काठमाडौं ७ विकल्पका रूपमा आएको छ, अध्यक्षले नै सांसदबाट आएको सहमतिबारे बैठकलाई जानकारी गराउनुभएको छ,’ नेकपा सचिवालय स्रोतले भन्यो । सांसद मानन्धरले भने राजीनामा दिने वा ओलीलाई बुझाएको सहमतिपत्रबारे बताउन चाहेनन् । पार्टीले गर्ने कुनै पनि निर्णय मान्न आफू तयार रहेको उनले बताए । ‘म पार्टीकै प्रतिनिधिका रूपमा निर्वाचित भएको हुँ,’ मानन्धरले कान्तिपुरसँग भने, ‘पार्टीले आवश्यकता देखे म पार्टीको निर्णय कार्यान्वयन गर्न तयार छु ।’


गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मत अन्तरले पराजित भएका थिए । मुलुकैभर वाम गठबन्धनको लहर चलेका बेला त्यही गठबन्धनका सूत्रधार मानिएका गौतम भने पराजित भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रको पकड मानिएको क्षेत्रमा भएको हारलाई गौतमले स्वाभाविक मानेका छैनन् । उनले पार्टीभित्रैको अन्तर्घात र विदेशी शक्तिहरूका कारण हारेको भन्दै पार्टी बैठकमा बताएका थिए । त्यसपछि उनले चुनाव हार्नुका कारणबारे छानबिन समिति नै बनाइएको थियो ।


‘वामदेव गौतम प्राविधिक रूपमा हार्नुभएको हो, वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूले हराए भन्ने उहाँको निकर्ष छ,’ गौतम निकट सांसद बलराम बाँस्कोटाले भने, ‘यस्तो वामपन्थी लहर चलेका बेला उहाँजस्तो नेतालाई हराइयो, विखण्डनकारी शक्तिहरूसमेत लागे ।’ तीन पटक उपप्रधानमन्त्री भइसकेका गौतमको आकांक्षा प्रधानमन्त्रीसम्म बन्ने थियो । उनले चुनाव प्रचारमा त्यस्तै दाबी गरेका थिए ।


वाम गठबन्धनले चुनाव जितेको अहिलेको अवस्थामा पार्टीभित्रको शक्ति सन्तुलनमा खेलेर प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखे पनि सांसद नभएकाले रोकिने भन्दै उनले सांसद बन्ने प्रयास गरेका हुन् । सांसद नभएपछि प्रधानमन्त्रीको रेसमा दौडिन नपाउने भएपछि चुनाव हारेलगत्तै उनी यो प्रयासमा थिए ।


गौतम निकट बाँस्कोटा भने अहिले प्रधानमन्त्री बन्ने उद्देश्यले गौतम सांसद बन्ने कुरा नआएको बताउँछन् । ‘पार्टीले आवश्यकता देख्दा उहाँ अघि बढ्ने हो, तर उहाँ आफैं त्यसका लागि लाग्नुभएको होइन,’ बाँस्कोटाले भने । ‘पार्टीभित्र उहाँ पनि प्रधानमन्त्रीको एउटा दाबेदार नेता हो तर अहिले नै उहाँ प्रधानमन्त्री हुने भन्ने होइन, केपी ओली नै पाँच वर्ष प्रधानमन्त्री भइहाल्नुहुन्छ,’ बाँस्कोटाले भने, ‘तर उहाँजस्तो नेताको संसद्मा अभाव भएको पार्टी नेताहरूले पनि महसुस गर्नुभएको छ ।’


एक दर्जन क्षेत्रबारे छलफल
कुनै निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर गौतमलाई सांसदका रूपमा प्रतिनिधिसभामा छिराउने यो पहिलो प्रयास होइन । यसअघि झन्डै दर्जन पटक गौतमका लागि कुन निर्वाचन क्षेत्र उपयुक्त हुन्छ भन्ने लेखाजोखा गरिएको छ । ती क्षेत्रका सांसदसँग कुरा पनि गरिएको छ ।


नेताहरूका अनुसार पछिल्लो पटक डोल्पाका सांसद एवं पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गराएर गौतम डोल्पामा चुनाव लड्न जानेबारे छलफल भएको थियो । पार्टीले करिब डोल्पा पठाउने मनस्थिति बनाएर राज्यमन्त्री बुढासँग कुरा गरी जिल्लाको वस्तुस्थिति अध्ययन गर्न पठायो ।

एक महिनाअघि मात्र राज्यमन्त्री बुढाले जिल्ला भ्रमण गरी आफूले राजीनामा दिने र गौतमलाई जिताएर पठाउने विषयमा स्थानीयहरूसँग छलफल गरे । तर बुढाको विकल्पमा गौतमलाई ल्याउने कुरा स्थानीयले मानेनन् । गौतमविरुद्ध माहोल बन्ने देखिएपछि राज्यमन्त्री बुढा राजीनामा दिन तयार भएनन् । त्यसपछि गौतमका लागि अर्को क्षेत्रको खोजी गर्ने क्रममा काठमाडौंं–७ को नाम पनि आएको हो ।


काठमाडौं–७ विगतदेखि नै कम्युनिस्ट जनमत रहेको क्षेत्र हो । संविधानसभाको दोस्रो चुनाव र अहिले लगातार मानन्धरले दुई पटक यो क्षेत्रमा जितेका छन् । पहिलो संविधानसभामा यही क्षेत्रमा तत्कालीन माओवादीकी हिसिला यमीले जितेकी थिइन् । गत चुनावमा सांसद मानन्धरले १८ हजार एक सय दुई मत ल्याएर जितेका थिए । उनले राप्रपाका विक्रमबहादुर थापालाई झन्डै आठ हजार मतको अन्तरमा हराएका थिए । गत चुनावमा यही क्षेत्रमा विवेकशील साझाले ५ हजार ३ सय ७६ मत ल्याएको थियो ।


गौतमलाई चुनावमा उठाउनका लागि वरिष्ठ नेता झलनाथ खनालको इलाम क्षेत्र–१ को प्रसंग पनि आएको थियो । त्यसपछि काठमाडौं–२ मा माधव नेपालको क्षेत्रको कुरा पनि आएको थियो । नेपाल वा खनाललाई राष्ट्रपति बनाउने र खाली हुने सिटमा गौतमलाई लैजाने बहस भएको थियो । तर राष्ट्रपतिमा विद्यादेवी भण्डारीको निरन्तरता दिने निर्णय भएपछि खनाल र नेपालका क्षेत्र खाली भएनन् गौतमका लागि स्थिति अनुकूल बनेन ।

ललितपुर–१ का सांसद नवराज सिलवालको मुद्दाका कारण निर्वाचित भए पनि सपथ हुन सकेको थिएन । त्यो बेला सिलवालको शपथ नै नगराई त्यहाँ सिलवाललाई खाली गरेर गौतमलाई उठाउने चर्चा पनि नेकपामा चल्यो । तर पछि सिलवालको शपथ भएपछि त्यहाँ पनि गौतमका लागि अनुकूल अवस्था आएन ।


नेताहरूका अनुसार बर्दिया–२ मा सन्तकुमार थारू, नवलपरासी पूर्व–२ का तिलबहादुर महत, रुकुम पूर्वकी कमला रोका, बाँके–३ का नन्दलाल रोकाय, बैतडी–१ का दामोदर भण्डारी, कञ्चनपुर–३ का दीपकप्रकाश भट्टदेखि दैलेख–१ का रवीन्द्रराज शर्माको क्षेत्र वामदेवका लागि खोजी गरियो । वाम पकट भएको धनकुटा १ मा जितेका राजेन्द्र राईलाई समेत छोड्न आग्रह गरेका थिए तर गौतम सफल भएनन् ।

गौतमले दोस्रो संविधानसभा चुनावमा प्यूठान–१ बाट चुनाव जितेका थिए । यो क्षेत्र यसपटक वामगठबन्धनमा जोडिएको राष्ट्रिय जनमोर्चालाई दिइयो । त्यहाँबाट जनमोर्चाकी दुर्गा पौडेलले जितेकी छन् । राष्ट्रिय जनमोर्चासँग कुरा गरेर पौडेललाई राजीनामा गराई गौतमलाई पठाउनेबारे पनि पार्टीभित्र छलफल भएको थियो । नेकपाका नेताहरू जनमोर्चासँग अनौपचारिक प्रस्ताव पनि गरे । तर जनमोर्चाले सहमति जनाएन ।


जनमोर्चाले विज्ञप्ति नै निकालेर आफ्नो क्षेत्र नछोड्ने स्पष्ट गर्‍यो । नेकपाको वा वामपन्थी दलको पकड रहेका ठाउँ खोजी गरेर गौतमका लागि ती क्षेत्रका सांसदहरूलाई मनाउने प्रयास नेताहरूले गरेका थिए । तर कतै स्थानीय जनमत भडकियो भने कतै सांसदहरूले नै छोड्न तयार भएनन् । त्यसैले अहिले गौतमका लागि राजधानी काठमाडौंंको केन्द्र मानिने क्षेत्रको खाली गराउन खोजिएको छ ।


‘निर्माण प्राधिकरण’ नभएपछि फेरि सांसदकै माग निर्वाचन हारेपछि गौतमले एकपटक शक्तिशाली ‘निर्माण प्राधिकरण’ गठन गर्नुपर्ने र त्यसको जिम्मेवारी आफूलाई दिन पार्टीमा प्रस्ताव गरे । उनले सार्वजनिक रूपमै पनि चुनाव हारे अब एक पटक अवसर पाए मुलुकको विकास निर्माणको नेतृत्व गर्न तयार छु, यो विषयमा सरकारले विचार गरोस् पनि भने ।


उनले चुनावलगत्तै ‘नवनेपाल महानिर्माण’ नामको पुस्तकसमेत प्रकाशन गरे । निर्माणका क्षेत्रमा प्रधानमन्त्रीले गर्नेसम्मको अधिकार प्रयोग गर्न सक्ने गरी शक्तिशाली प्राधिकरण बनाउनुपर्ने उनको माग थियो । तर त्यो प्रयास सफल नभएपछि सांसद बनेर छिर्नेमा गौतमको जोडबल छ ।


एमालेमा हँ‘दा गौतम तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि उत्तिकै निकट थिए । त्यही निकटताका आधारमा दुई पार्टीबीच विगतमा सहकार्य हुने गरेको थियो । पछिल्लो समय एकतामा पुर्‍याउनका लागि गौतमको मिहिनेत थियो । ओलीलाई संसदीय दलको नेता, पार्टी अध्यक्ष र पहिलो पटक प्रधानमन्त्री बनाउने भूमिकामा वामदेव सक्रिय थिए । झलनाथ खनाल अध्यक्ष भएका बेला गौतम र ओलीको सम्बन्ध राम्रो थिएन । तर दोस्रो संविधानसभाको चुनावपछि ओली र गौतमको सम्बन्ध सुध्रियो ।


पार्टीभित्रको समीकरणमा गौतम जता उभियो त्यतै पल्लाभारी हुने अवस्थामा उनले ओलीको पक्ष लिए । त्यो बेलादेखि ओलीले आफू प्रधानमन्त्री वा अध्यक्ष भए एउटा पद गौतमलाई दिने प्रतिबद्धता जनाएका थिए । तर त्यो बचन ओलीले पूरा नगरेको उनको गुनासो रहँदै आएको थियो । अहिले चुनाव हारेपछि गौतम आफ्नो भूमिका नभएको भन्दै गुनासो गरिरहेका छन् । उनले सांसद हुने इच्छा देखाउन थालेपछि विगतमा विभिन्न समयमा गरेको बाचाहरूलाई टार्न नसकेर ओली र दाहालले अहिले गौतमलाई सांसद बनाउने मुद्दा बोकेर हिँडिरहेको एक नेताले बताए ।


दुई तिहाइको सरकार भए पनि अपेक्षित गति लिन नसकेकाले कुनै पनि स्थानमा चुनाव हुँ‘दा जित्न सकिन्छ कि सकिँदैन भन्नेमा नेताहरू द्विविधामा छन् । ‘तर यस्तो अवस्थामा वामदेवजी उठ्न खोजिरहनुभएको छ,’ सचिवालयकै एक नेताले भने, ‘उहाँले व्यक्तिगत रूपमै पनि अहिलेको अवस्था बुझ्नुपर्ने हो ।’

प्रकाशित : आश्विन २३, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?