पप्पुको पुलमा दुर्घटना: पीडितलाई सुटुक्क पैसा

विमल खतिवडा

रौतहट — लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई रकम दिएको छ  । स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’ रकम दिएका हुन्  ।

रौतहटको लालबकैया नदीस्थित टिकुलिया घाटमा निर्माणकै क्रममा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलको पिल्लरमा ठोक्किएर दुर्घटनाग्रस्त डुंगा निकाल्ने प्रयास गर्दै सुरक्षाकर्मी । फाइल तस्बिर : कान्तिपुर

डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । मृतकका परिवारलाई ३ लाख ५ हजारका दरले पैसा दिइएको छ ।


पीडित परिवारलाई पैसा बुझेको कागजमा हस्ताक्षर गराइएको छ । पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियारका ज्वाइँ डा.महेश्वर कुर्मी आएर रकम दिएको मृतक परिवारका सदस्य रामबाबु साहले बताए । ‘अब पुलको काम पनि चाँडै सुरु गर्छौं भनेका छन्,’ उनले भने, ‘विगतमा जे भयो, अब काम गर्ने वातावरण मिलाइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि मानेका हौं ।’ साहकी आमा शान्तिदेवीको दुर्घटनामा निधन भएको थियो ।


वडाध्यक्ष भुवनेश्वरप्रसाद शाहीले पीडित परिवार र पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिसँग मध्यस्थता गरेका थिए । उनकै रोहवरमा पीडितले पैसा बुझेका हुन् । ‘मृतक परिवारलाई ५ लाख दिनुस् भनेका हौं,’ वडाध्यक्ष शाहीले भने, ‘३ लाख ५ हजारमा सहमति भएपछि रकम बुझेका हुन् ।’ पुल निर्माणको काम सुरु भएपछि मृतक परिवारका सदस्यलाई त्यहीं रोजगारी दिने भनेर पनि पप्पुका आफन्तले फकाएको स्थानीयले बताएका छन् ।


गौर नगरपालिका–४ टिकुलिया घाटमा भदौ ९ गते राति भएको दुर्घटनामा गौर–४ की ४५ वर्षीया इन्दुदेवी, ६४ वर्षीया शान्तिदेवी, १० वर्षीया उष्माकुमारी पटेल, डुंगा सहचालक ओमप्रकाश चन्द्रवंशी र ४० वर्षीया रुनादेवीको मृत्यु भएको थियो । २४ जनाले भने पौडिएर ज्यान जोगाएका थिए ।


घटनापछि जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशी नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । पीडितका आफन्त र स्थानीय बासिन्दा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलका कारण दुर्घटना भएको भन्दै आक्रोशित भएका थिए । त्यसपछि दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रहरीले कन्स्ट्रक्सनका अध्यक्ष सुमितलाई सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि बेवास्ता गरेपछि एक साताअघि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनका आफन्त आएर पैसा बाँडेका हुन् ।


प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पप्पु कन्स्ट्रक्सनका नातेदार आई मृतकका परिवारलाई पैसा दिएको सुन्दा आश्चर्यमा परेको बताए । ‘हामीलाई कुनै जानकारी छैन । पीडितले पनि जानकारी गराएनन्,’ उनले भने, ‘यथार्थ के हो बुझ्छु ।’ पीडितले पप्पुलाई कारबाही माग गर्दै प्रशासन र प्रहरीमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।


निर्माणस्थल सुनसान, उपकरण सड्न थाल्यो
लालबकैया पारिका बन्जाराहा, औरैया, मठियालगायत स्थानका बासिन्दालाई सदरमुकाम गौर आउन कठिनाइ भएपछि २०७१ असार २९ गतेबाट निर्माण सुरु गर्ने सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए । निर्माणको ठेक्का पर्सा वीरगन्जस्थित पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा सकार गरेको थियो । ठेक्का नम्बर १३९–०७१/०७२ रहेको टिकुलिया घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते तोकिएको थियो तर निर्माण अलपत्र भएपछि स्थानीय डुंंगाकै भर पर्न बाध्य भएका थिए ।


पुल निर्माणको काम ठेकेदारले अलपत्र छाडेपछि डुंगाकै भर पर्नुपरेको वडाध्यक्ष शाहीले बताए । ठेकेदार रौनियार, उनका प्रतिनिधि र प्राविधिक कोही पनि लामो समयदेखि निर्माणस्थलमा छैनन् । उपकरणहरू सबै खिया लागी सड्न थालेका छन् । पुलको पिल्लर बनाएर अलपत्र छाडिएको छ । सम्झौताअनुसार काम किन नसकेको भन्दै २०७४ माघ २९ गते सडक डिभिजन कार्यालयले पत्राचार गरेको थियो ।


उक्त पत्रको पप्पुले बेवास्ता गर्‍यो । चैत ६ गते अर्को पत्र पठाएर काम चित्तबुझदो नभए सार्वजनिक खरिद ऐनअनुसार कारबाही हुने चेतावनी दिइयो । डिभिजनले ७ दिनभित्र कामको प्रगति विवरणसहित उपस्थित हुन भन्दै चैत २५ गते थप पत्र पठाएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनायो । ठेकेदार रौनियारले निर्माण सामग्री अभाव, बन्द/हडताल, भूकम्प, वर्षा, बाढी, दसैं–तिहारलगायत बहाना बनाएर म्याद थप्न निवेदन दिएका छन् ।


यसरी भएको थियो घटना
गत भदौ ९ गते टिकुलियाका गाउँलेहरू खेतमा काम गर्न सधैंजस्तो डुंगा चढेर लालबकैया पारि गए । उनीहरू बन्जाराहास्थित खेतमा काम गरेर घर फर्कंदा रात परिसकेको थियो । अचानक घाटबाट केही पर दक्षिणतिर डुंगा मोडियो । नदीमा पानीको सतह बढी भएकाले चालक पप्पु चन्द्रवंशीले डुंगा सोझ्याउन सकेनन् । सिधै पुलको पश्चिमतर्फको दोस्रो पिल्लरमा ठोक्कियो र डुंगा टुक्रा–टुक्रा भयो ।


त्यसमा रहेकाहरू सबै नदीमा परे । तीमध्ये २४ जना पौडिएर बाहिर निस्के । चालक चन्द्रवंशीलगायत डुंगामा सवार पुरुषले महिलालाई डुबेको स्थानबाट उद्धार गरी बाहिर ल्याए । तीमध्येकै केहीलाई नदीले बगाएर दक्षिणतिर लग्यो । सुरक्षाकर्मीले घटनाको १५ घण्टापछि पिल्लरमा ठोक्किएर त्यहीं अडकिएको डुंगालाई बाहिर निकालेका थिए । हराएकाहरूको खोजीका लागि सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन गरिएको थियो । भारतीय क्षेत्रबाट ५ जनाको शव फेला पारिएको थियो ।


रौनियारलाई खोज्दै प्रहरी
जिल्ला प्रहरी गौरले पप्पुका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरी खोजी गरे पनि हालसम्म पक्राउ गर्न सकेको छैन । सोधपुछका लागि बोलाउँदा अटेर गरेपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ आदेश लिएको हो । उनलाई पक्रन प्रहरी परिचालन गरिएको छ । गौर प्रहरीले वीरगन्ज र काठमाडौंमा पक्राउका लागि सञ्चार गरे पनि फेला पार्न सकेको छैन । ‘पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई हामी खोज्दैछौं,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले भने, ‘अहिलेसम्म फेला पारेका छैनन् । खोजी जारी छ ।’


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियार र उनका छोरा एवं हालका अध्यक्ष सुमित रौनियारमाथि साढे ३८ करोडको बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । हरिनारायण संघीय समाजवादी फोरमका सांसद थिए । भ्रष्टाचारको मुद्दापछि उनको पद स्वत: निलम्बनमा परेको छ ।

प्रकाशित : आश्विन २३, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

यसपालि सुविकाल

राजबहादुर शाही

कोटिला, मुगु — अन्नबाली नसप्रेको भए कोटिला क्षेत्रबाट भारततिर मजदुरी गर्नेको लर्को लाग्ने थियो  । यो वर्ष खडेरी परेन  ।

धानबाली सप्रिएकाले खुसी हुँदै मुगुको सोरु गाउँपालिकास्थित सीपगाउँकी एक महिला । तस्बिर : राजबहादुर शाही । कान्तिपुर

छायानाथरारा नगरपालिका–६, कोटिला गाउँका ६० वर्षीय जनक ऐडी धेरैपछि खेतबारीको अन्नबाली देखेर खुसी छन् । पाखोबारीमा लगाएको कोदो, कागुनो, चिनो, फापर, सिमीलगायत बाली सप्रेपछि उनी दसैं रमाइलो गरी मनाउने धुनमा छन् । उनकै छिमेकी सरस्वती ऐडीको परिवार पनि बाली राम्रो उत्पादन भएपछि खाद्यान्न अभाव झेल्नु नपर्नेमा मक्ख छ ।


कोटिला क्षेत्रका अधिकांश किसानको मुहार हँसिलो बनेको छ । खडेरीका कारण यस क्षेत्रमा न्यून उत्पादन हुँदै आएको थियो । कुनै वर्ष त किसानले अन्नै भित्र्याउन पाउँदैनथे । गाउँमा सिँचाइ सुविधा नहुँदा कृषकहरू आकासेपानीका भरमा खेती लगाउँछन् । बर्सेनि खाद्यान्न अभावले सताउँथ्यो । यो वर्ष खेतीको समयमा अनुकूल वर्षा र कुनै रोगको प्रकोपसमेत नभएपछि कोटिला क्षेत्रमा अन्नबाली उत्पादन राम्रो भएको हो । अन्नबाली सप्रिए अधिकांशको घरमा वर्षभरि खान पुग्छ । मजदुरीका लागि कतै धाउन परेन । स्थानीयले अन्नबाली सप्रिए सुविकालका रूपमा लिने गरेको ऐडीको भनाइ छ ।


‘यस वर्ष घरका साना/ठूला भकारी अनाजले भरिएका छन्,’ उनले भनिन्, ‘चाडपर्वसँगै सुविकाल भित्रियो ।’ नगरपालिकाका मुन्दु, कोटिला, पिना, रोवा, कम्फा, श्रीनगर, कार्कीबाडालगायत बस्तीमा राम्रो उत्पादन भयो । ‘दुई वर्षदेखि अन्नबाली राम्रो फलिरहेको छ,’ मुन्दु गाउँका जंगलाल बोहोराले भने, ‘त्यसअघि खडेरीको पीडा खेप्दै आएका थियाैं।’


रुघा, त्रिप, लह, लापु, लुमलगायत बस्तीमा पनि कोदो, धान, चिनो, सिमीको उत्पादन राम्रो छ ।


सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाको बेसीका बस्तीमा कोदो, चिनो, धान, सिमी सप्रिएको छ । चिनो, कागुनो, पाखेधान लगायतको राम्रो उत्पादन भएको भिई गाउँका शिक्षक उमेर बुमीले बताए । जिल्लाभर यस वर्षे कार्तिके बालीको उत्पादनमा २५ प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छायानाथरारा नगरपालिकाका कृषि योजना अधिकृत केबी रोकायाले बताए ।


‘समयअनुकूल वर्षा भए अन्नबालीमा रोग नलाग्ने, असिनापानीले क्षति नबनाउनेलगायत कारण उत्पादन राम्रो भएको हो,’ उनले भने, ‘अन्न उत्पादन बढेपछि किसानमा खुसी छाएको छ ।’ उनले खाद्य संस्थानको चामल यस वर्ष कम खपत हुने आकलन पनि गरे ।

प्रकाशित : आश्विन २३, २०७५ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्