२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पत्नी वियोगले गलायो

८५ वर्षीय वृद्धभत्ताबाट वञ्चित
बालबालिका भोकभोकै स्कुल आउजाउ
प्रताप विष्ट

हेटौंडा — बेलुुका सधैं ज्वरो आउँछ । छात्ती दुख्छ। एक महिनादेखि ओछ्यानबाट झरेर यताउती गर्न सकेका छैनन् । चारैतिर खुला भएको खरको छाप्रोमुनि ८५ वर्षीय बमबहादुर चेपाङ महिना दिनदेखि थला परेका छन् ।

पत्नी वियोगले गलायो

त्यही छाप्रोको एक कुनामा छोराले गाई बाँधेका छन् । बीचमा अँगेनो छ । सा–साना दाउरा पनि बलिरहेका छन् ।


डल्लो परेर सोमबार बमबहादुर सुतिरहेका थिए । सञ्चारकर्मीहरू जानेबित्तिक्कै पल्याकपुलुक हेरेर मयलले ढाकेको थोत्रो ओढ्ने हटाएर हेरे । अघिल्ला दाँत झरिसकेका थोते मुख देखाएर मुसुक्क हाँसे । चेपाङ भाषामा उनले ‘सिमा ङा एकान स्यावलाङ’ (बूढी मरी म एक्लै भएँ) भनेर पीडा पोखे ।


रोगले थला पारेको भन्दा पनि उनलाई बुढेसकालमा पत्नी वियोगले गलाएको थियो । उनकी पत्नी साहिँलीमायाको ८० वर्षको उमेरमा गत साउनमा मृत्यु भयो । जलबिन्दुका कारण उनी दुवै आँखा देख्दैन थिइन् । हेटौंडा उपमहानगरपालिका १४, नयाँबस्तीका बमबहादुरले गत असारसम्म आफ्नो र पत्नी साहिँलीमायाको प्राण घरअघिको चुरे बगरमा बालुवा चालेर धानेका थिए । ‘पत्नीको मृत्युपछि उनले बालुवा चाल्न पनि छाडे,’ स्थानीय सुकराम लामाले भने, ‘बूढी मरेपछि बूढा गल्दै गए ।’ २ छोरा, ४ छोरीका बाबु बमबहादुरलाई अहिले कान्छो छोराका सन्तानले सामान्य रेखदेख गर्दै आएका छन् । एक मुठी जाउलो खान पनि अहिले उनलाई धौधौ छ । औषधिको त कुरा परै जाओस् । उनको छाप्रोमा अन्नको एक दाना पनि छैन । औषधि गर्न पाए यताउता हिँड्न सकिन्थ्यो कि भन्ने उनलाई लागेको छ ।


उनी चेपाङ भाषामा सुस्तरी भन्छन्, ‘औषधि जङसा पैसा नाल’ (औषधि गर्न पैसा छैन) ।’ दोमा जसा नाला (खानेकुरा पनि छैन) ओछ्यानबाट टाउको उठाएर उनले पीडा सुनाए । उनले नेपाली भाषामै अलि जोडदिइ भने, ‘आफ्नो हात चल्दैन, मझेरीमा खाने कुरा फल्दैन ।’ उनी वि.सं. १९९० मा जन्मिएको । उमेरले ८५ वर्ष भइसके । तर, वृद्ध भत्ता पाएका छैनन् । उनीसँग ८ वर्षअघि बनाएको नागरिकताको प्रमाणपत्र छ । उक्त प्रमाणपत्रमा जन्ममिति २००४ वैशाख १० गते उल्लेख छ । ‘नागरिकता यस्तो बनाइदिएकाले वृद्धभत्ता पनि पाइएन,’ उनले भने । यही नागरिकताकै आधारमा पनि उनले गत वर्षदेखि भत्ता पाउनुपर्ने थियो तर पाउन सकेका छैनन् । भत्ता मात्र पाए उनलाई अलि सहज हुने थियो ।


उनका २ छोराका ४ देखि १५ वर्षसम्मका १० नातिनातिना छन् । सञ्चारकर्मीसँगको भलाकुसारीका क्रममा नातिनातिनाले उनलाई घेरे । केहीले मैलो कपडा लगाएका थिए भने केही अर्धनग्न थिए । उनीहरूमध्ये केही भोकभोकै स्कुल जान्छन्, दिउँसो भागेर आई ढिँडो वा खोले खान्छन् । केही भने विद्यालय नै जाँदैनन् । मुखैमा आएको दसैंमा यी नातिनतिनालाई एक छाक मासुभात कसरी खुवाउने भन्ने चिन्ता बमबहादुरलाई छ ।


उनको छाप्रोमा सानो सिसीमा मट्टीतेल हालेर झुम्रो डुबाएर टुकी बनाइराखिएको छ । राति त्यही टुकी बाल्छन् । हेटौंडा–पथलैया सडकको रातोमाटेबाट उनको छाप्रो आधा किमि दूरीमा छ । तर, यहाँ बिजुली पुगेको छैन । यो बस्तीमा १७ घर चेपाङ परिवारको बसोबास छ ।

प्रकाशित : आश्विन २३, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?