कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपाका सांसद मानन्धरले भने, ‘पार्टीको स्वीकृतिपछि राजीनामा दिन्छु’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरले पार्टीको आधिकारिक निर्णय आएपछि राजीनामा दिने बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद मानन्धरले राजीनामा स्वीकृति निवेदन पार्टीलाई दिइसकेको जानकारी दिए ।

नेकपाका सांसद मानन्धरले भने, ‘पार्टीको स्वीकृतिपछि राजीनामा दिन्छु’

पार्टीले भोलि (बुधबार) सम्ममा स्वीकृति दिएपछि आफूले सभामुखसमक्ष राजीनामा दिने उनले प्रस्ट पारेका छन् । उनले भने, ‘राजीनामा स्वीकृति गरिपाउँ भनेर सोमबारको सचिवालय बैठकमा निवेदन दिएको छु । पार्टीको भोलिसम्ममा आधिकारिक निर्णय आउला, त्यसपछि राजीनामा दिने नै हो ।’


राजीनामामा सर्त नरहेको दाबी गर्दै उनले पार्टी निर्णयअनुसार राष्ट्रियसभा सदस्य वा मन्त्रीसमेत बन्न सक्नने बताए । 'पार्टीले मलाई ०४९ र ५४ मा वडाध्यक्ष बनायो, ७० र ७४ मा सांसद बनेकोले मेरो कुनै सर्त छैन' उनले भने, 'पार्टीले निर्णय गरेमा राष्ट्रियसभा सदस्या वा मन्त्री पनि बन्न सकिन्छ ।' राजीनामाले जनताप्रति धोका हुन्न र ? भन्ने पत्रकारको जिज्ञासामा उनले जनताप्रति धोका नभएर सम्मान हुने जिकिर गरे । 'जनताको अपेक्षा निर्माण र विकास हो । ७ नम्बर क्षेत्रमा हामीले जनताले पत्याउने काम गरेका छौं‌' उनले भनाइ थियो, 'टिमवर्क भएकोले मैलै जनतासँग गरेको वाचा पूरा गर्न समस्या हुँदैन ।'


नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउन सांसद मानन्धरले राजीनामा दिन लागेका हुन् । यसअघि गौतमलाई डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौं क्षेत्र नम्बर ७ खाली गराउने विकल्प थालिएको हो ।


गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मत अन्तरले पराजित भएका थिए । मुलुकैभर वाम गठबन्धनको लहर चलेका बेला त्यही गठबन्धनका सूत्रधार मानिएका गौतम भने पराजित भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रको पकड मानिएको क्षेत्रमा भएको हारलाई गौतमले स्वाभाविक मानेका छैनन् । उनले पार्टीभित्रैको अन्तर्घात र विदेशी शक्तिहरूका कारण हारेको भन्दै पार्टी बैठकमा बताएका थिए । त्यसपछि उनले चुनाव हार्नुका कारणबारे छानबिन समिति नै बनाइएको थियो ।

प्रकाशित : आश्विन २३, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?