कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनाव हारेदेखि नै सांसद बन्ने इच्छा राख्दै दौडिएका थिए वामदेव गौतम

दुर्गा खनाल

काठमाडौँ — गत प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित नेकपाका नेता वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन्  ।
मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृतिपत्र पेस गरेका छन्  ।

चुनाव हारेदेखि नै सांसद बन्ने इच्छा राख्दै दौडिएका थिए वामदेव गौतम

त्यसलाई पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने सांसद मानन्धरले जानकारी दिए । ‘मेरोतर्फबाट पार्टीको सचिवालयमा राजीनामा गर्ने स्वीकृति पाऊँ भनेर निवेदन दिएको छु,’ मानन्धरले मंगलबार राजधानीको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब पहिले पार्टीले निर्णय गर्छ अनि म राजीनामा दिन्छु ।’

उनले आफ्नो पत्र सोमबारै सचिवालयमा पठाएका थिए । काठमाडौं ७ मा दुईपटक लगातार जितेका मानन्धरले गौतमका लागि आफूले स्वत:स्फूर्त रूपमा राजीनामा दिने निष्कर्षमा पुगेको दाबी गरे । ‘उहाँका लागि १०/१२ ठाउँबाट कुरा भएको थियो तर मैले उहाँजस्तो नेतालाई ल्याउँदा राम्रो हुन्छ भन्ने ठानेर छोड्ने निष्कर्षमा पुगेको हुँ,’ उनले भने, ‘दुई तिहाइको सरकार छ, यसले देश बनाउने लक्ष्य राखेको छ । त्यसैले देश बनाउन मान्छेको खोजी हुन्छ, त्यसमा हामी जोडिनुपर्छ ।’


पाँच वर्षसम्म सेवा गर्ने वचनसहित सांसद निर्वाचित भएको व्यक्ति बीचमै छाडेर जनतालाई धोका दिएको हो भन्ने प्रश्नमा सांसद मानन्धरले आफूले जनताको सम्मानका लागि छोड्न लागेको तर्क गरे । ‘जनताको अपेक्षा भनेको एउटै मात्र छ, शान्ति र विकास । त्यसैले देश बनाउन मान्छेको खोजी हुन्छ । त्यसमा हामी जोडिने कि नजोडिने ?,’ उनले भने, ‘यो जनताको सम्मानकै लागि हो ।’ उनले आफू २०४९ र २०५४ को स्थानीय चुनावमा वडाध्यक्ष भएको र दोस्रो संविधानसभादेखि अहिलेसम्म लगातार सांसद भएकाले त्यस क्षेत्रमा गौतमलाई जिताउन सक्ने क्षमता राख्ने दाबी गरे । ‘हामीसँग पार्टीका दस्ता छन् । संगठन चुस्त र दुरुस्त बनाएका छौं,’ उनले भने, ‘उहाँ हाम्रो पार्टीको नेता हो, पार्टी सिस्टममा धेरै जनता छन् ।’ उनले गौतम जस्तो नेता भए विकास निर्माण हुने त्यस क्षेत्रका जनताले झन् सुविधा पाउने दाबी गरे ।


गौतमका लागि यसअघि १३ वटा स्थान चर्चामा ल्याइएको थियो । पछिल्लोपटक डोल्पाका सांसद एवं पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा दिलाउने प्रयास अलिक सूक्ष्म ढंगले अघि बढेको थियो । तर डोल्पाका स्थानीयले नरुचाएपछि गौतम पछि हटे । त्यसपछि काठमाडौं ७ का मानन्धर गौतमका लागि ठाउँ खाली गर्न राजी भए । गत चुनावमा मानन्धरले राप्रपाका विक्रमबहादुर थापालाई ८ हजार २३ मतले हराएका थिए ।


सांसद मानन्धर पार्टीभित्र अध्यक्ष केपी ओलीनिकट हुन् । पछिल्लोपटक उनी काठमाडौंबाट मन्त्री बन्ने आकांक्षीमध्ये थिए । अहिले गौतमका लागि ठाउँ खाली गर्ने क्रममा उनलाई पछि राष्ट्रिय सभाबाट सांसद बनाउने र मन्त्री एवं पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन नेताहरूले दिएको जनाइएको छ । तर सांसद मानन्धरले भने पार्टीभित्र कुनै ‘डिल’ नगरेको दाबी गरे । ‘मेरो पार्टीभित्र कुनै डिल होइन, आफैं स्वत:स्फूर्त छोड्ने निष्कर्षमा पुगेको हुँ,’ उनले भने, ‘डिल हो कि होइन, भोलिपर्सि थाहा भइहाल्छ नि, पार्टीले चाहेका बेला निकाल्न र ल्याउन सक्छ ।’


के भन्छन् गौतम ?
झन्डै एक दर्जन क्षेत्रमा स्थिति अनुकूल नबनेपछि सुस्ताएका गौतम काठमाडौं ७ खाली हुने भएपछि उत्साही बनेका छन् । उनले चुनावी घोषणापत्रअनुसार पार्टीको नीति कार्यान्वयनका लागि आफूले सांसद बन्ने रुचि देखाएको बताए ।


‘मैले पहल गरेको होइन, उहाँ (मानन्धर) ले नै वामदेवजस्तो व्यक्ति संसद्मा जरुरी छ, देश र पार्टीका निम्ति आवश्यक भएकाले राजीनामा दिएर मेरो क्षेत्रबाट जिताएर ल्याउन तयार छु, यसका लागि अनुमति दिइयोस् भनेको पत्र सचिवालयमा पेस गर्नुभएको हो,’ गौतमले कान्तिपुरसँग भने, ‘उक्त पत्रबारे अब आउने बैठकमा निर्णय हुन्छ, त्यसपछि पार्टीले के भन्छ, त्यहीअनुसार अघि बढ्छु ।’

मानन्धरको राजीनामा आएपछि आफूले चुनावको विषयमा औपचारिक मुख खोल्ने गौतमले बताए । चुनाव हारेको व्यक्ति एउटा चुनाव अवधि नसकिँदै किन संसद्मा जाने आवश्यकता पर्‍यो ? भन्ने प्रश्नमा उनले ‘आफू विकासका काम गर्ने गरी जाने र संसद्मा धेरै प्रभावकारी काम हुने’ बताए । ‘हामीले घोषणापत्रमा उल्लेख गरेका विषय कार्यान्वयन गरेर देखाउने थिएँ,’ उनले भने । नेकपाको चुनावी घोषणापत्र बनाउने संयोजक गौतम नै थिए । उनकै डिजाइनमा वाम गठबन्धनका तर्फबाट महत्त्वाकांक्षी घोषणापत्र आएको थियो । ‘यसअघि पार्टीका दुवै अध्यक्ष एउटा शक्तिशाली विकास प्राधिकरण बनाउने र त्यसका प्रमुख प्रधानमन्त्री र मैले सहायक भएर काम गर्ने कुरा भएको थियो,’ उनले भने, ‘त्यस्ता काम पनि संसदभत्रबाट अघि बढाउन सजिलो हुन्छ ।’


विकास निर्माणलाई तीव्रता दिन र घोषणापत्रको सही कार्यान्वयनका लागि भन्दै संसद् छिर्न खोजेका गौतम यसअघि पटक/पटक सांसद/मन्त्री भइसकेका छन् । उनी तीनपटक गृहमन्त्री भए । पटक/पटक सांसद भए । चुनाव हारेदेखि नै सांसद बन्ने इच्छा राख्दै गौतम दौडिए पनि अन्य शीर्ष नेताहरू अध्यक्षद्वय ओली तथा दाहाल र वरिष्ठ नेता माधव नेपालले कुनै आपत्ति जनाएका छैनन् । उनीहरू गौतमलाई ल्याउने पक्षमा नै छन् । त्यसैले सचिवालयमा मानन्धरको पत्रको सहज प्रवेश भयो । त्यस विषयमा आउँदो बैठकबाट निर्णय गर्ने कार्यसूची तय गरिएको छ ।

प्रकाशित : आश्विन २४, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?