आयुर्वेद अस्पतालमा त्रिविको बेवास्ता

सेवाग्राहीलाई पर्याप्त जानकारी नभएको र त्रिविले जनशक्ति र सेवा सुविधा बढाउन नसक्दा अस्पताल छायामा
गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत दुईवटा शिक्षण अस्पताल छन्  । महाराजगन्जस्थित शिक्षण अस्पतालमा बिरामीको चाप थामी नसक्नु छ  ।

आयुर्वेद अस्पतालमा त्रिविको बेवास्ता

त्रिभुवन विश्वविद्यालयअन्तर्गत दुईवटा शिक्षण अस्पताल छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा बिरामीको चाप थामी नसक्नु छ । तर, त्रिविकै कीर्तिपुरस्थित आयुर्वेद शिक्षण अस्पतालमा डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी भएर पनि दिनमा मुस्किलले ५० देखि १०० जना मात्र बिरामी जचाउन आउँछन् । सेवाग्राहीलाई पर्याप्त जानकारी नभएको र त्रिविले जनशक्ति र सेवा सुविधा बढाउन नसकेका कारण आयुर्वेद अस्पताल छायामा परेको हो ।


क्याम्पसको साढे पाँचवर्षे कोर्स ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी (बीएएमएस) मा १ सय २० जना अध्ययनरत छन् । यी विद्यार्थीले यही अस्पतालमा इन्टर्नसिप गर्छन् । कीर्तिपुरस्थित त्रिवि हाता १ सय १० रोपनी आयुर्वेद शिक्षण अस्पतालको स्वामित्वमा छ । यही हाताभित्र अस्पताल, आयुर्वेद क्याम्पस, आयुर्वेद अनुसन्धान केन्द्र छन् । अनुसन्धान केन्द्रले ३० रोपनी जग्गा ओगटेको छ । शिक्षण अस्पताल र केन्द्रबीच भने कुनै समन्वय छैन ।


२०६८ देखि सुरु भएको अस्पतालमा बहिरंग सेवा (ओपीडी) र अन्तरंग सेवा (इन्डोर) सेवा उपलब्ध छन् । बहिरंगअन्तर्गत कायाचिकित्सा, शल्यचिकित्सा, नाक, कान, घाँटी र आँखा सेवा, बालरोग र स्त्री रोग सेवा छन् । त्यसैगरी पञ्चकर्म सेवाअन्तर्गत शरीर जाँच, मालिस, ठूलो आन्द्रा सफा गर्ने, पाठेघर सफा गर्ने, पिनास, नसा च्यापिएका, रगतसम्बन्धी रोगको उपचार व्यवस्था छ । पायल्स, फिस्टुला, जन्डिस, हड्डी खिइएको जस्ता रोगको उपचार हुन्छ ।


ज्येष्ठ नागरिकलाई विशेष सेवा दिँदै आएको अस्पतालमा ५० शय्या भए पनि आवश्यक पूर्वाधारको अभावमा भर्ना लिने गरिएको छैन । विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा परियोजनाअन्तर्गत सुरु गरिएको अस्पतालमा परियोजनाकै सहयोगमा एक्सरे मेसिन, अल्ट्रा साउन्ड, इसिजी मेसिन व्यवस्था गरिएको छ ।

तर चलाउन जान्ने जनशक्ति नहुँदा दुई वर्षदेखि थन्किएको अस्पतालका निमित्त निर्देशक डा. डीबी रोका बताउँछन् । ‘यी एक्सरे मेसिन चलाउन जनशक्ति त्रिविसँग माग गरेको डेढ वर्ष भइसक्यो, दिएको छैन,’ रोका भन्छन्, ‘प्याथालोजी, दिसा, पिसाब जाँच्ने ल्याबमा विशेषज्ञ छैनन्, सामान्य जनशक्तिले काम चलाएका छौं ।’


अस्पतालमा खटाइएका केही प्राविधिक लामो समयदेखि ज्यालादारीमा रहेका छन् । सरकार र त्रिविले चासो नदिँदा अस्पतालमा कार्यरत विशेषज्ञ, कर्मचारीको व्यक्तिगत उन्नति रोकिएको चिकित्सकहरू बताउँछन् । शिक्षण अस्पतालमा स्थायी सेवाका निम्ति स्थायी दरबन्दी छ तर पदपूर्ति गरिएको छैन । चार जना नर्स भने त्रिवि शिक्षण अस्पतालबाट काजमा ल्याइएको छ । त्रिवि कार्यकारी परिषद्ले दशकअघि आयुर्वेद शिक्षण अस्पताल स्वायत्त निकायका रूपमा रहने निर्णय गरेको थियो । त्यसनिम्ति प्रशासनिक र प्राविधिक गरी ४९ जनाको दरबन्दी स्वीकृत गरेको थियो । त्रिविको उक्त प्रस्तावलाई विश्वविद्यालय अनुदान आयोगबाट अर्थ मन्त्रालयमा पठायो तर हालसम्म दरबन्दी पूर्ति प्रक्रिया अघि नबढेको अस्पतालका निमित्त निर्देशक रोका बताउँछन् ।


शिक्षण अस्पतालमा डाक्टर र नर्स बस्ने क्वार्टर हुनुपर्छ, त्यो छैन । बिरामी राख्ने बेड छन्, कुरुवा बस्ने ठाउँ छैन । भान्सा घर छैन । दिउँसो खाजा खाने क्यान्टिन पनि दुखजिलोमात्र छ । क्यान्टिन सञ्चालक शौचालयका निम्ति बनाइएको भवनभित्र बास बस्छन् । अस्पतालमा एकजना मात्रै चौकीदार छन् । पालेघरसँगै एउटा कोठामा निजी आयुर्वेद औषधि पसल सञ्चालन गरिएको छ ।


अस्पतालमा छिटफुट बाहिर जिल्लाका र उपत्यकाको कीर्तिपुर, बल्खु, चाल्नाखेल, दक्षिणकाली, शेषनारायण, मच्छेगाउँ, सानेपा, धोबीघाटलगायतका बिरामी आउने गरेका छन् । शिक्षण अस्तालको सेवा सुविधा बढाउने क्रममा रहेको र अब सय शय्याको व्यवस्था गर्न लागिएको रोकाले बताए । ‘यही हातामा नयाँ भवन बन्ने क्रममा छ,’ उनले भने, ‘विश्वविद्यालयले आयुर्वेद शिक्षण अस्पतालकै रूपमा विकास गर्ने लक्ष्य राखेकाले सेवा सुविधा बढाउने क्रममा छौं ।’


त्रिवि उपकुलपति तीर्थ खनियाँ सरकारले आयुर्वेद अध्ययन संस्थानकै रूपमा त्रिविअन्तर्गत सञ्चालन गर्ने नीति लिएको बताउँछन् । ‘सरकारले आयुर्वेद अध्ययन संस्थान बनाउन सहमति दिएको छ,’ त्यसनिम्ति त्रिवि कार्यकारी परिषद्ले प्रस्ताव पारित गरेको बताउँदै खनियाँले भने, ‘अब बस्ने त्रिवि सिनेटको बैठकले पास गर्नेछ ।’

प्रकाशित : आश्विन २४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?