क्यानडाली व्यापारी नेपालमा लगानी गर्न इच्छुक

घनश्याम खड्का

काठमाडौँ — क्यानडाली व्यापारीको टोली नेपालमा लगानी गर्न इच्छुक देखिएको छ  । क्यानडाको हाउस अफ कमन्सका सदस्य ब्राड टोस्टको नेतृत्वमा आएका व्यापारी नेपालमा लगानीको वातावरण बुझ्दै छन्  ।

क्यानडाली व्यापारी नेपालमा लगानी गर्न इच्छुक

कृषि उद्योग, रियलस्टेट तथा फोल्टी फर्मसम्बन्धी काम गर्ने इसाउ उद्योगका अध्यक्ष वाल्टर इसाउ, लगानी गर्ने संस्था ली एसोसिएट्सका अध्यक्ष ली हियर्न, रियल स्टेट कम्पनी प्रिन्सेस टावर लिमिटेडका अध्यक्ष वेन वेब्सटर र एम्बेसी कनेक्सन क्याडनाका अध्यक्ष गेराल्डले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पदाधिकारीदेखि लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसम्मलाई भेटेर नेपालमा लगानी गर्न सकिने क्षेत्र र अवसरका बारेमा जानकारी लिए ।

उनीहरूले मंगलबारै अर्थमन्त्री युवराज खतिवडालाई समेत भेटेर नेपालमा लगानी गर्ने आफ्नो आशय राखेका थिए । ‘हामीले उहाँहरूलाई स्वागत गर्दै लगानीलाई सजिलो पार्न सक्दो सघाउने प्रतिबद्धता व्यक्त गर्‍यौं,’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले भने, ‘क्यानडाका पुँजीपति नेपालमा लगानी गर्न आउँछु भन्नु हाम्रा लागि राम्रो हो ।’


प्रधानमन्त्री केपी ओली र क्यानडाली प्रधानमन्त्री जस्टिन टु्रडेउबीच सेप्टेम्बर २४ मा अमेरिकाको न्युयोर्कमा भएको द्विपक्षीय भेटवार्तामा नेपालमा लगानी भित्र्याउने समझदारी भएको थियो । त्यसको एक सातापछि क्यानडामै नेपालका परराष्ट्र सचिव शंकर बैरागी र त्यहाँका उपविदेश मन्त्रीबीच नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, यातायात लगायतका विभिन्न क्षेत्रको पहिचान गर्ने सहमति भएको थियो । त्यसको केहीपछि भएको क्यानडाली व्यापारीको भ्रमणले लगानीको वातावरण अझै राम्रो बनेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘हामी नेपालमा लगानी गर्न चाहन्छौं,’ यो भ्रमणको चाँजोपाँजो मिलाउने एम्बेसी कनेक्सन क्यानडाका अध्यक्ष गेराल्डले संसदीय समितिमा भने, ‘यसका लागि कुन कुन क्षेत्र बढी प्राथमिकतामा छन् र कस्तो खालको व्यवस्था छ भन्ने बुझ्ने प्रयास गर्दैछौं ।’


क्यानडासँग सदैव मित्रतापूर्ण सम्बन्ध रहँदै आएको नेपालमा अहिले राजनीतिक स्थिरता र शान्ति कायम भएकाले लगानीको राम्रो वातावरण बनेको भन्दै सांसदहरूले भ्रमण दलका व्यापारीलाई ऊर्जा तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । लगानी बोर्डका पदाधिकारीसँगको बैठकमा उनीहरूले नेपालमा लगानी गर्दा अपनाउनुपर्ने प्रक्रियाका बारेमा सोधपुछ गरेका थिए ।


‘उहाँहरू लगानी गर्नका लागि उपयुक्त वातावरण भए नभएको बुझ्ने क्रमम हुनु हुँदोरहेछ,’ लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘नेपालले वैदेशिक लगानी सक्दो भित्र्याउने नीति अख्तियार गरेको तथ्य मैले उहाँहरूलाई अवगत गराएँ ।’

प्रकाशित : आश्विन २४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?