कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंसँगै खर्च पनि आयो

वीरेन्द्र केसी

अर्घाखाँची — यसपालि दसैंमा बिदा मिलेन  । वैदेशिक रोजागारीमा गएका छोराले फोनबाटै दसंै खर्चका लागि ३२ हजार रुपैयाँ पठाएको जानकारी गराए  ।

दसैंसँगै खर्च पनि आयो

‘त्यही झिक्न बैंक आएँ,’ अर्घाकी राधिका खत्रीले भनिन्, ‘२ वर्षदेखि छोरा श्याम कतारमा छन् । घरमा बुहारी, म र २ नाति छौं ।’ अर्काे दसैंसम्म्म छोराको निधारमा रातो टीका लगाइदिने सपना पूरा हुने उनले बताइन् । छोराले पठाएको पैसाले सेलरोटी पकाउन चामल, अक्षताका लागि रङ, चुरा, डोरी टीका, नाति र हामीलाई नयाँ कपडा र खानेकुरा किन्ने उनले बताइन् ।


गत वर्षझैं अर्घा भगवती मन्दिरमा दर्शन र पूजापाठ गर्ने उनले सुनाइन् । ‘पूर्णिमाका दिन सराय जात्रा लाग्छ,’ उनले भनिन्, ‘नाच्ने पनि हो ।’ उनका अनुभवमा दसैं मान्ने चलन फेरिएको छ । ‘दसैंमा धेरै थरी रोटीका परिकार बनाइन्थ्यो,’ उनले भनिन्, ‘गाउँभर टीका लगाउँदै रोटी बटुल्थ्यौं । अहिले त्यो हरायो ।’ अहिले फरक छ । रोजगार र विभिन्न पेसा व्यावसाय गर्न जिल्ला बाहिर गएकाहरू भित्रिन थालेका छन् । काठमाडौं लगायत ठाउँमा रोजगार, पेसा, व्यवसाय गर्नेले पनि साथमा पैसा लिएर हिँड्दैनन् । उनीहरूले घर नजिकको बैंकबाट पैसा झिक्ने गर्छन् ।


वैदेशिक रोजगारीमा रहेकाहरूले खर्चका लागि बैंक तथा रेमिट्यान्समार्फत पैसा पठाइदिने गरेका छन् । वाङलाकी जानुका शर्माले मलेसियाबाट दाइले पठाएको रकम झिकिन् । केही खानेकुरा, लत्ताकपडा र सरसामान किनेर घर फर्किइन् । २८ हजार रुपैयाँले दसैं खर्च पुग्ने उनले बताइन । भान्सामा मिठो खानेकुरा, मासु र आएका पाहुनालाई खानामा खर्च हुने उनले बताइन् । पैसा झिक्न भने ३ घण्टा लाइन बस्नुपरेको उनले सुनाइन् । आफू र भाउजूलाई कुर्थासुरुवाल, भतिजलाई सर्ट–पाइन्ट र जुत्ता किनिदिएको उनले बताइन् । ‘घरमा सबैले खानाका मिठा परिकार र राम्रा लुगा लगाउँछन्,’ उनले भनिन्, ‘मान्यजनबाट टीका थापेर आशीर्वाद लिने र घरमा टीका लगाउन आएकालाई दक्षिणा दिन्छौं । २५ सयका नयाँ नोट साटें ।’


सिद्धाराका पुनाराम बेल्वासेले कतारबाट छोराले पठाएको १० हजार झिक्न २ घण्टा पैदल हिंडेर ठाडास्थित साइन रेसुंगा बैंक पुगे । ‘तडकभडक गर्नु हुँदैन,’ उनले भने, ‘दसैंमा खर्च कटाएर भरसक यही पैसा वचत गर्छु । एकै दिन मिठो खाएर भएन । अरू बेला पनि चामल किन्नुपर्छ ।’ उनीसहित ४ जनाले बैंकबाट पैसा झिके । उनका अनुसार दसंै खर्च धेरैले बैंकबाटै निकाल्छन् । भारत र तेस्रो मुलुक रोजगारीका लागि गएका छोरा, पति र दाजुले पठाएको पैसा झिक्न जानुपर्छ । पहिलेको जस्तो घरको खोपीमा, गारोमा, पटुकी, कपडाले बेरेर पैसा राख्ने चलन छैन । घरमा नोट राखेर फाइदा छैन । गाउँमा ब्याजमा पैसा लगाउने चलन पनि हराइसक्यो ।


प्रवासीले बैंक र मनी ट्रान्सफरमा पैसा पठाउँछन् । अरु बेलाभन्दा दसैंमा सबैले खर्च पठाइदिने गर्छन् । स्वदेशमा भएकाले पनि विभिन्न समूह, सहकारी र बैंकमा वचत गरी राखेका छन् । ‘कुखुरा, खसीबोका र भैंसी बेचेको पैसा घरखर्चबाट बचत गरी बैंकमा जम्मा गर्छौं,’ उनले भने, ‘बैंकमा सुरक्षित र ब्याज आउँछ । चाहेका बेला झिक्न सकिन्छ । ३ वर्षदेखि बैंकमा जम्मा गरेको छु ।’ मिस्त्री काम गरेको र घरमा खसीबोका बेचेको पैसा अहिलेसम्म डेढ लाख रुपैयाँ बैंकमा जम्मा भएको उनले सुनाए । दसैं खर्चका लागि पैसा धेरैले बैंकबाट निकाल्ने गरेको उनले बताए । छिमेकी, साथीभाइलाई सापटी दिने पैसा पनि बैंकबाट झिकेर दिने गरेका छन् ।


जिल्लामा बैंक अफ काठमाडौं, प्रभु, मेगा, ग्लोबल आईएमई, एसबीआई, एनएमबी, एनआईसी, जनता, एभरेस्ट, साइन रेसुंगा, कैलाशलगायत बैंक तथा वित्तीय संस्था छन् । केही मनी ट्रान्सफर पनि छन् । केही दिनदेखि पैसा झिक्नेको भीड लागेको छ । दसैं नजिकिँदै गर्दा अरू बेलाभन्दा पैसा झिक्नेको दोब्बर भीड बढेको ग्लोबल आईएमई बैंककी म्यानेजर सुष्मा गिरीको भनाइ छ । ‘सेवाग्राहीको चाप दैनिक बढ्दो छ,’ उनले भनिन् ।

प्रकाशित : आश्विन २४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?