१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हिमाली बासिन्दालाई खाद्यान्न भित्र्याउने चटारो

आनन्द गौतम

ताप्लेजुङ — गाउँपालिकाको भदौ पहिलो साताको बैठकपछि फर्किएका फक्तालुङ ७ का गाउँकार्यपालिका सदस्य छेतेन वालुङ असोज तेस्रो साता बल्ल गाउँपालिका आए  । गाउँपालिका प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरिरहेका उनी झन्डै २ महिना सम्पर्कविहीन जस्तै भए  ।

हिमाली बासिन्दालाई खाद्यान्न भित्र्याउने चटारो

यो क्षेत्रमा फोन सम्पर्क हुँदैन । त्यसैले उनीसँगको सम्पर्क पनि टुटेको हो । उनी घरायसी काममा व्यस्त थिए । ओलाङचुङगोला, याङमा पापुङको तोक्पेगोलाजस्ता हिमाली बस्तीमा यतिबेला खाद्यान्न भित्र्याउन भ्याइनभ्याइ छ । यी क्षेत्रका बासिन्दा कम्तीमा १ वर्षका लागि असोजभर खाद्यान्न जोहो गरिसक्छन् । उनीहरूले आफ्नो उपभोग्यसँगै पशुचौपायाका लागि खाद्यान्नको जोहो गर्छन् । आफ्नो सामान पनि यही सिजनमै बिक्री गर्छन् ।


‘करिब–करिब अब सबैले सामान ल्याइसक्यौं,’ मंगलबार गाउँपालिका आइपुगेका छेतेनले भने, ‘अब छुटफुट र भैपरीका लागि थप गर्ने मात्रै हो ।’ हुनेखानेले डेढ देखि २ वर्षका लागि सामान जोहो गर्छन् ।


‘अर्को वर्ष सामान ल्याउन नसके वा चीनले नदिए त्यस बेलाका लागि पनि भण्डारण गर्छौं,’ उनले भने, ‘वर्षदिनमा कसैको घरमा पुगेन वा समस्या भयो भने उसलाई सहयोग गर्न पनि हुनेखानेले बढी ल्याउने गर्छन् ।’ यी बस्तीमा धेरै सामान ल्याउनेले व्यापार पनि गर्छन् ।


कात्तिकदेखि हिउँ पर्ने र बाटो बिग्रन सक्ने भएकाले यति बेलै सामानको जोहो गरिएको हो । यो पुरानै चलन हो । तिब्बतबाट चामल, चिनी, दूधपाउडर, बिस्कुट, उवाको पिठो ल्याइन्छ । हिउँदमा ओढ्ने सिरक, डसना, लगाउने कपडा, जुत्ता, चप्पल र गलैंचा बुन्ने ऊन पनि यही सिजनमा ल्याइन्छ ।


पशुचौपाया चांैरी, याकका, भेडा, च्याङ्ग्राका लागि नुन, भुस, पिना, पिठो पनि यति बेलै ल्याइन्छ । सबैभन्दा धेरै सामान याङ्माका बासिन्दाले भित्र्याउँछन् । सदरमुकाम फुङलिङबाट ३ दिनको पैदल हिँडेपछि पुगिने यहाँ ११ परिवारको बसोबास छ । उनीहरूले ९५ प्रतिशत सामान तिब्बतबाटै ल्याउँछन् ।


ओलाङचुङगोलामा भने अभरपरे सदरमुकाम फुङलिङबाट खच्चडमा पनि लान सकिन्छ । ओलाङचुङगोला र याङमा एउटै वडामा परे पनि दूरी भने एक दिनको फरकमा पर्छ । नेपालबाट चिराइतो, कुटी, बिख्मा, वनलसुन जस्ता जडिबुटी निर्यात गरिन्छ भने गलैंचा, घिउ जस्ता वस्तु पनि चीन पठाइन्छ । गोदाम गरेका नेपाली वस्तु पुर्‍याउने बेला पनि यही हो । नेपालीहरू सामान लिन याक, चौंरी लिएर जाने गरेका छन् । आउँदा तिनैलाई बोकाएर ल्याउँछन् ।


चिनियाँ व्यापारीहरू पनि सामान बिक्री गर्न नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ नजिकै मौवाटारसम्म आउँछन् । तिब्बतको रिउ बजारका व्यापारी आउने गरेका हुन् । ‘पहिला रिउ बजारमै पुग्नुपथ्र्यो, सडकले जोडिएपछि उनीहरू सिमाना नजिकै आएर बिक्री गर्न थालेका हुन्,’ वडाध्यक्ष छेतेनले भने, ‘उनीहरू वरसम्म आउँदा हामी (नेपाली) लाई राहत भएको छ ।’
ओलाङचुङगोलामा एक दाना अन्न पनि उत्पादन हुँदैन र अन्य कुनै बाली पनि लाग्दैन । याङमामा भने आलु उत्पादन हुन्छ । यहाँ उत्पादित आलु औल क्षेत्रका किसानलाई बिक्री गरिन्छ । यहाँको मुख्य पेसा पशुपालन र गलैंचा बुनाइ भएकाले तिब्बतबाट नुन र ऊन सबैभन्दा बढी ल्याइन्छ । ओलाङचुङगोलामा ५२ परिवारको बसोबास छ । अधिक चिसो हुने भएकाले चिनीको पनि धेरै खपत हुन्छ ।

प्रकाशित : आश्विन २४, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?