कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जग्गा विवादले बसपार्क अलपत्र

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका ३ जुम्रीमा दुई दशकअघि निर्माण भएको बसपार्क अलपत्र छ  । अझै व्यवस्थित हुन सकेको छैन  ।

जग्गा विवादले बसपार्क अलपत्र

(प्यूठान) - प्यूठान नगरपालिका ३ जुम्रीमा दुई दशकअघि निर्माण भएको बसपार्क अलपत्र छ । अझै व्यवस्थित हुन सकेको छैन । स्थानीयले नि:शुल्क जग्गा उपलब्ध गराएपछि ०५६ मा यसको निर्माण थालिएको थियो । जिल्लामा राप्ती र स्वर्गद्वारी यातायात समिति फुटेपछि विवादले व्यवस्थित नभएको हो ।


व्यवस्थित गरेर सञ्चालन गराउन स्थानीय तहले ध्यान नदिएको उनीहरूको गुनासो छ । स्थानीयले २० रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएर सुरुमा बसपार्क सञ्चालन गरेका थिए । पछिल्लो समय स्थानीय सरकारले ध्यान नदिएकाले भौतिक पूर्वाधार निर्माणका काम अलपत्र परेको जुम्री बसपार्क व्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठले बताए ।


राप्ती र स्वर्गद्वारी यातायात समिति एउटै हुँदा राप्तीको नाममा स्थानीयले जग्गा प्रदान गरेका हुन् । राप्ती समितिले स्वर्गद्वारी समितिलाई वा प्यूठान नगरपालिकालाई जग्गा फिर्ता दिएर बाटो खुला गरिदिनुपर्ने स्थानीय बताउँछन् । राप्ती समितिबाट जग्गा नगरपालिकाले आफ्नो नाममा लिन पहल गरेर बसपार्क व्यवस्थित गर्नुपर्ने स्थानीयले अपेक्षा गरेको श्रेष्ठले बताए ।


‘केन्द्रमा रहेको बसपार्क व्यवस्थित गर्ने काम स्थानीय सरकारको हो,’ श्रेष्ठले भने, ‘नगरपालिकाले कुनै पहल गरेको पाइँदैन ।’ गत वर्ष विनियोजन गरिएको ५ लाख रुपैयाँ यसको व्यवस्थापनमा खर्च नगरेर नगरपालिकाले रकमान्तर गरेको श्रेष्ठले गुनासो गरे । जुम्रीलाई नदी कटानबाट जोगाउन जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमार्फत ५० लाख रुपैयाँ सहयोग भएर तटबन्धन गरिएको श्रेष्ठले बताए । ‘समितिले भए पनि व्यवस्थित गरौं भनेर सवारीबाट केही रुपैयाँ लिन थालेका थियौं,’ श्रेष्ठले भने, ‘नगरपालिकाले रोक्यो ।’ नगरपालिकाले कि आफैं गर्नुपर्ने कि समुदायलाई व्यवस्थित गर्न दिनुपर्ने श्रेष्ठले बताए ।


नगरपालिकाभित्र टिकुरीमा अर्को बसपार्क निर्माण गर्न भौतिक पूवार्धार निर्माणको काम भइरहेको छ । बाग्दुलाबाट टिकुरी पुग्ने बाटोका विषयमा विवाद हुँदा जग्गाधनीले सडक रोकेका छन् । झिमरुक खोला किनारमा भएकाले वर्षामा गाडी पार्किङ गर्न जोखिम हुने यातायात व्यवसायीले बताए ।


दुवै बसपार्क निर्माणमा लाखौं रुपैयाँ रकम खर्च भइसकेको छ । त्यही पनि जिल्लामा एउटै व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बाग्दुलामा प्यूठान­–भालुबाङ सडक छेउमै सवारी पार्किङ गर्नाले धेरै समस्या निम्तेका छन् । जुम्रीस्थित बसपार्कलाई यस वर्ष ५ लाख रुपैयाँ विनियोजन गरिएको मेयर अर्जुनकुमार कक्षपतिले बताए । दुईवटा सोलार बत्ती जडान गरिसकेको उनले बताए । ‘जिल्लामा व्यवस्थित बसपार्क नहुँदा समस्या छ,’ उनले भने, ‘टिकुरी र जुम्री दुवै स्थानका बसपार्क व्यवस्थित गरी सञ्चालन गर्ने योजना बनाएका छांै ।’

प्रकाशित : आश्विन २४, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?