कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णाली प्रदेशको संसद् आफ्नै भवनमा

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रदेश संसद् सुविधासम्पन्न आफ्नै भवनमा सरेको छ  । साबिकको शैक्षिक जनशक्ति तालिम केन्द्रको हलको डिजाइन र अन्य पूर्वाधार परिवर्तन गरी संसद् भवन बनाइएको हो  ।

कर्णाली प्रदेशको संसद् आफ्नै भवनमा

मंगलबारदेखि संसद्का सबै कामहरू नयाँ भवनबाट थालिएका छन् ।


नयाँ संसद् भवनलाई सबैखाले सुविधायुक्त बनाइएको छ । चैतदेखि संसद् सभाकक्षको निर्माण थालिएको थियो । करिब डेढ करोडमा भवनको मर्मत गरिएको हो । नयाँ संसद् भवनका भित्री र बाहिरी दुवै संरचना व्यवस्थित बनाइएका छन् । हललाई अत्याधुनिक र साउन्डप्रुफ बनाएको छ । फर्निसिङ, कार्पेटिङलगायत सुविधा नयाँ भवनमा उपलब्ध छन् । सांसदका लागि व्यवस्थित टेबुलसहित कुर्सीको व्यवस्था गरिएको छ ।


हलको बनावटदेखि कम्पाउन्ड परिवर्तन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । नयाँ भवनमा सचिवालय, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री, विपक्षी दल, सत्तारुढ दलका नेताका लागि बेग्लाबेग्लै कार्यकक्षको व्यवस्था गरिएको छ ।


सुविधासम्पन्न बैठक कक्षमा सांसदहरू प्रवेश गर्नुअघि संसद् सचिवालयका कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गरेका थिए । पहिलोपटक माघ २१ दखि प्रदेशसभाको बैठक सिँचाइ डिभिजनको हलमा बसेको थियो । प्रदेश संरचना सुझाव समितिको सिफारिसअनुसार तालिम केन्द्रको अडिटोरियम हल मर्मतका लागि टेन्डर आहवान गरिएको थियो । सभामुख राजबहादुर शाहीले आफ्नै भवनमा सरेपछि संसद बैठकमा मंगलबार फरक अनुभूति भएको बताए । ‘पहिले कुनै सामान्य हलमा बसेर बैठक गरेजस्तो लाग्थ्यो,’ उनले भने, ‘सबै संरचना बनेपछि बल्ल संसद् बैठकमा बसेजस्तो लाग्यो ।’


हलको पुन:संचरनामा ढिला नहोस् भनेर एउटै योजनालाई टुक्रा पारेर मर्मतको जिम्मा दिइएको थियो । संसद् सचिवालयका अनुसार अब साउन्ड सिस्टमको काम मात्र बाँकी छ । टेन्डरलगायत प्रक्रियामा ढिलाई हुँदा पुरानै साउन्ड सिस्टममा केही सुधार गरी तत्काल सञ्चालनमा ल्याइएको सभामुख शाहीले जानकारी दिए । सचिवालयका अनुसार ‘फोर के’ प्रविधिमा आधारित साउन्ड सिस्टमको व्यवस्था गर्न लागिएको छ । जसका उच्चस्तरीय प्रबिधिमा आधारित श्रव्य दृष्य सुविधा हुनेछन् । दसैपछि टेन्डरको काम भएर २ महिनाभित्र अत्याधुनिक साउन्ड सिस्टमको काम सकिने सचिवालयले जनाएको छ । साउन्ड सिस्टमका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सूचना टाँसेर संसद बैठक स्थगित
दुई महिनापछि मंगलबार बसेको कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षी कांग्रेसको अवरोधका कारण सूचना टाँसेर स्थगित भएको छ । सरकारको कामकारबाही, बजेट कार्यान्वयनलगायत विषयमा असन्तुष्टि जनाउँदै कांग्रेसले सरकारको जवाफ माग्दै अवरोध गरेको हो ।


कांग्रेस सांसद दीनबन्धु श्रेष्ठले बैठकको सुरुमै आफ्नो धारणा राख्दै ४ महिनासम्म रातो किताब उपलब्ध नगराएको भन्दै सरकारको आलोचना गरे । उनी बोलेलगत्तै कांग्रेस सांसदहरूले सिटबाट उठेर बैठक अवरोध गरे । ‘हामीले पनि जनतालाई जवाफ दिनुपर्छ, सरकार के गर्दै छ ? सदनलाई जानकारी छैन,’ उनले भने, ‘कुरा ठुल्ठूला गर्ने काम सिन्को नभाँच्ने सरकारको रवैयादेखि हामी सांसदहरू दिक्क भइसक्यौं ।’ महत्त्वपूर्ण विधेयक अघि नबढाएको, सदनलाई २ महिनासम्म कामविहीन बनाएको भन्दै सांसद श्रेष्ठले मुख्यमन्त्रीबाटै जवाफ आउनुपर्ने अडान राखे ।

प्रकाशित : आश्विन २४, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?