कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बहिष्कार गर्ने घोषणापछि कांग्रेस बैठक स्थगित, नेविसंघ महाधिवेशन अन्योलमा

रासस

काठमाडौँ — कांग्रेसको बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आन्तरिक विवादका कारण स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट बैठक बहिष्कारको घोषणा भएपछि सभापति शेरबहादुर देउवा बैठक स्थगित गर्ने निर्णयमा पुगेका हुन् ।

बहिष्कार गर्ने घोषणापछि कांग्रेस बैठक स्थगित, नेविसंघ महाधिवेशन अन्योलमा

नेविसंघको विधानको पूर्ण स्वीकृतिका लागि सभापति देउवाले बैठक बोलाएका थिए । आइतबारको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) मा ३२ वर्षे उमेर हद लगाउने निर्णयमात्रै गरेको थियो । अन्य व्यवस्थासहित विधानको पूर्ण स्वीकृतिका लागि बिहीबारको बैठक बोलाइएको हो । केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि भनेर स्थगित गरिएको छ । संस्थापन पक्षीय एक केन्द्रीय सदस्यले अब दसैंपछि मात्रै बैठक राख्ने योजनामा सभापति देउवा रहेको बताए ।


आइतबारको बैठकमा सभापति देउवाले बहुमतको बलमा विधि र प्रक्रिया मिचेर निर्णय लिएको भन्दै एक दिनका लागि संस्थापनइतर पक्षले बैठक बहिष्कार गर्ने निर्णय लिएका थिए । नेविसंघ केन्द्रीय कार्यसमितिले सर्वसम्मत रुपमा पठाएको विधानलाई लत्याएर पार्टीमा अर्के विधान ल्याइएको भन्दै संस्थापनइतर पक्षले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मतसमेत लेखेको छ ।

पार्टीको विधानअनुसार भातृसंस्थाले बनाएको विधानको मस्यौदालाई कांग्रेस केन्द्रीय कार्यसमितिले स्वीकृत दिने व्यवस्था छ । तर, पार्टी नेतृत्वले संघले सिफारिस गरेभन्दा फरक विधान प्रस्तुत गरेर विधि र प्रक्रिया मिचेको आरोप पौडेल र सिटौला पक्षले लगाउँदै आएका छन् । संस्थापन पक्षले भने संघको ११ औं महाधिवेशनमै ३२ वर्षे उमेर हद लगाउने निर्णय भएकाले त्यसलाई कार्यान्वयनमा ल्याइएको बताउँदै आएका छन् ।


विधान नपाउँदा नेविसंघको अधिवेशनको तयारी भने शून्य छ । कात्तिक १६ देखि १८ सम्म संघको १२ औं महाधिवेशन राजधानीमा हुने तिथी तय भइसकेको छ । तर, महाधिवेशन सुरु गर्नका लागि प्रारम्भिक तयारी पनि सुरु भएको छैन ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले अब तोकिएकै मितिमा महाधिवेशन संभव नभएको बताए । उनका अनुसार पार्टीभित्रको समस्या हल गरी विधान तत्काल दिन सकेमात्रै मंसिर २ गतेसम्म अधिवेशन गर्न सकिन्छ ।

महर नेतृत्वको कार्यसमितिको अवधि भदौ २ मा सकिएको हो । महाधिवेशनका लागि ३ महिनाको समय थप भएको हो । थपिएको अवधिभित्र महाधिवेशन नभएमा वर्तमान कार्यसमिति स्वत: भंग हुनेछ ।


प्रकाशित : आश्विन २४, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?