कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ कहिल्यै विभेद हुन्न

कृष्ण थापा

बेलकोटगढी, नुवाकोट — बडादसैंको पहिलो दिन । कोतघरभित्र लहरै टपरी । हरेक टपरीमा छरिएका छन् जमरा । त्यो पनि एक हैन सबै जातजाति मिलेर । न छुवाछूत न भेदभाव ।

जहाँ कहिल्यै विभेद हुन्न

बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना देवीथानमा वर्षौंदेखि यसै गरिन्छ । यहाँ बुधबार बिहानैदेखि सामूहिक जमरा राख्नेको भीड थियो । दलित/गैरदलित सबै दसैंको रौनकमा देखिन्थे । ‘यहाँ भेदभाव छैन,’ भीमबहादुर नेपालीले भने, ‘सबै मिलेर जमरा राख्छौं । बिहान नुहाइधुवाइ गरेर शुद्ध भई साइत हेरेर जमरा राखिएको हो ।’


उनी यही मन्दिरमा बिहान ५ बजे र साँझ पहेँलीघाम लागेपछि नगरा बजाउने गर्छन् । यहाँ ब्राह्मण, क्षत्री, मगर, नेवार, विश्वकर्मा, नेपाली, मिजारलगायतले सामूहिक रूपमा जमरा राख्दै आएका छन् । ‘यसपल्ट पनि सबै मिलेर जमरा राखियो,’ पुजारी महेश पौडेलले भने, ‘पुस्तौंदेखि यसरी नै राख्दै आएका छौँ । अन्त दलित र गैरदलितबीच छुवाछूतका विभिन्न घटना हुने गरे पनि यहाँ कहिल्यै त्यस्तो भेदभाव हुँदैन ।’


 सामूहिक जमरा राख्ने यो प्रचलनले समाजमा समानता र आपसी मेलको सन्देश दिने स्थानीय बताउँछन् । काठमाडाैंको हनुमानढोकाकै विधिअनुसार जमरा राखिने स्थानीय मानबहादुर रानाले बताए । यहाँका मगरहरू निरञ्जना भगवतीलाई आफ्नो कुलदेवीका रूपमा पुज्छन् । यो पटक जमरा राख्नेहरूमा १८ दलित परिवार र १ सय १८ गैरदलित परिवार छन् । जमरा राखिएका टपरी भने १ सय ८२ वटा छन् । मन्दिरको संरक्षण र पूजाआजा भगवती संरक्षण समितिले गर्दै आएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?