दुवै अध्यक्षलाई स्थानीय नेताको प्रश्न: उपचुनाव किन ?

गौतममाथि प्रश्नैप्रश्न
दाहालले भने– सिट गुम्ने गरी चुनावमा जान्नौं
दुर्गा खनाल

काठमाडौँ — वामदेव गौतमलाई उपचुनावमार्फत संसद्‌मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन्  । प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए  ।

दुवै अध्यक्षलाई स्थानीय नेताको प्रश्न: उपचुनाव किन ?

प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराए । उनीहरूले अकस्मात् काठमाडौं ७ खाली गर्ने कुरा आउँदा मतदाता र पार्टी कार्यकर्ता अन्योलमा परेको बताए । न्हुच्छेकाजी यसअघि उक्त क्षेत्रका निर्वाचन परिचालन कमिटी संयोजक थिए ।


तीनै जनाले जनमत र गौतमबारे भइरहेका टीकाटिप्पणी अध्यक्षहरूलाई सुनाएका थिए । ‘सुरुमा यो विषयमा छलफल नभएकाले सबै अचम्म पर्ने अवस्था आयो, अन्तक्र्रिया र सामाजिक सञ्जालमा पनि प्रतिक्रिया प्रकट भएका छन्, शीर्ष नेतालाई हाम्रो क्षेत्रमा ल्याउने र जिताउने गर्वको कुरा हो,’ भेटपछि प्रदेश सांसद मानन्धरले कान्तिपुरसँग भने, ‘तर एक वर्ष पनि नबित्दै उपचुनाव गर्दा नकारात्मक सन्देश जाने हो कि ? त्यसमा ख्याल गर्न सुझाव दिएका छौं ।’


पाँच वर्षलाई काम गर्ने प्रतिबद्धता जनाएका सांसदले बीचैमा पद छाड्दा अरू कुनै नै उद्देश्य लुकेको भ्रम पर्ने भएकाले शीर्ष तहबाटै यसलाई स्पष्ट पारिनुपर्ने उनीहरूले बताए । काठमाडौं ७ कम्युनिस्ट पार्टीले जित्दै आए पनि जनमतका हिसाबले धेरै सुरक्षित स्थान नरहेको उनीहरूको ब्रिफिङ थियो । यहाँबाट गत चुनावमा मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए ।

राप्रपाले १० हजार ७९, विवेकशीलले ५ हजार ३ सय ७६, संघीय समाजवादी फोरमले १ हजार ७ सय ८१ मत ल्याएका थिए । यस क्षेत्रमा कांग्रेसका उम्मेदवार थिएनन् । नेकपाबाहेक अन्य सबैको मत जोडदा धेरै अन्तर नहुने लेखाजोखा उनीहरूले गरेका थिए । एक वर्षमै उपनिर्वाचन गर्नुपरेको र सांसदले छोड्नुको कारण पनि प्रस्ट नहुनाले चुनावी नतिजा सकारात्मक नै आउँछ भन्नेमा ढुक्क रहन नसकिने उनीहरूको विश्लेषण छ ।


काठमाडौं ७ स्थानीय नेवार त्यसमा पनि मानन्धरहरूको गुठी भएको स्थान हो । निर्वाचनमा यस्ता गुठी समूहको बलियो आधार हुन्छ, जुन रामवीरको हकमा पनि सावित हुँदै आएको छ । अहिले चुनाव हारेका, एउटा सांसदलाई हटाएर आफू संसद् छिर्ने उद्देश्यले आएका राजधानीबाहिरका ब्राह्मण उम्मेदवारलाई मतदाताले कति रुचाउलान् भन्ने प्रश्न पनि नेकपाभित्र चर्चामा छ ।


स्थानीय नेताले पार्टीले निर्णय गरेको अवस्थामा सिंगो संगठन गौतमलाई जिताउन परिचालित हुने जानकारी गराएका थिए । ‘पार्टीले स्पष्ट निर्णय र निर्देशन गर्दा संगठन चुनाव जित्ने गरी परिचालन भइहाल्छ,’ मानन्धरले भने, ‘त्यसका लागि पार्टीलाई तयारी अवस्थामा राख्छौं ।’ अध्यक्षद्वयले भने चुनावबारे निर्णय भइनसकेको बताए । उनीहरूले उपयुक्त समयमा पार्टीले निर्णय लिने जनाउँदै सरकारका राम्रा कामबारे जनतालाई बुझाउँदै गर्न निर्देशन दिए ।


गौतमका लागि काठमाडौं ७ खाली गराउन लागिएको विषयले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म हलचल ल्याएको छ । नेकपाकै नेताले यसबारे पार्टीभित्र व्यापक छलफल हुनुपर्नेमा जोड दिएका छन् । नेता भीम रावलले पार्टीभित्र यस्ता विषय छलफलबाट टुंगिनुपर्ने सार्वजनिक रूपमै बताएका छन् । ईश्वर पोखरेलले फेसबुकमा लामो स्टाटस लेख्दै ‘विचार विधि, आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरुरी रहेको’ उल्लेख गरेका छन् ।


पार्टी केन्द्रीय सदस्य सूर्य थापाले बर्दिया र प्यूठानको उदाहरण दिँदै कटाक्ष गरेका छन् । ‘हलेदो भनेर चिनेपछि किन बोक्रा कोट्याइरहनु ? हलेदो आफंै तरकारी हुने होइन, पहेंलो रंगका लागि अरूले मिसाउने न हो औचित्यबमोजिम,’ उनले लेखेका छन्, ‘विकासको मूल फुटे/फुटाएको हेर्न प्यूठान र बर्दियाको भ्रमणमा जानेहरूले देखिहाल्छन् नि ।’ ट्वीटर र फेसबुकमा पनि गौतमले चुनावमा उठ्न खोज्नुको औचित्यमाथि व्यापक प्रश्न उठाइएका छन् । एउटा सांसदलाई हटाई राज्यकोषको करोडौं खर्चेर गौतम आउन खोज्नुलाई जनमतको अपमान भन्दै नेकपाकै आलोचना भइरहेको छ ।


सिट गुम्ने गरी चुनावमा जान्नौं : दाहाल
नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने सिट गुम्ने अवस्थामा उपनिर्वाचनमा नजाने बताएका छन् । ‘निर्णय गर्न त बाँकी नै छ तर हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन,’ सांसद योगेश भट्टराईले बुधबार राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा दाहालले कार्यकर्तासँग भने, ‘त्यति कुरामा ढुक्क हुनुहोला ।’ चुनावबारे प्रधानमन्त्री ओलीसँग बुधबार कुरा भएको जानकारी दिँदै उनले निर्णय हुन बाँकी रहेको बताए ।

प्रकाशित : आश्विन २५, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?