३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अतिक्रमण चपेटामा तेघरी

गोदावरी, कैलाली — डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग बनेसँगै तेघरी क्षेत्र सुगम बन्यो  । सबैका आँखा चुरे फेदीको समथर भूभाग र जंगलमा पर्न थाल्यो  । टहरा, भवन, मठ–मन्दिर, खेलकुद मैदानदेखि करोडौं लागतका रिसोर्टसम्म बने ।

अतिक्रमण चपेटामा तेघरी

यसमा डिभिजन वन कार्यालय कैलाली भने वर्षौंदेखि आँखा चिम्लेर बसेको छ । त्यही ठाउँलाई सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएपछि वन क्षेत्र अतिक्रमण गर्नेहरू निकै खुसी छन् ।


तेघरीदेखि दक्षिणतिरको गोदावरी नदीमा हरेक दिन कैयौं स्काभेटरले दोहन गरिरहेका छन् । दर्जनौं ट्रक त्यहाँबाट गिट्टी, ढुंगा र बालुवा ओसार्न व्यस्त छन् । तेघरी क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्न गोदावरी नगरपालिकाले स्वाँर कन्स्ट्रक्सन कम्पनीलाई असोज ९ मा १ करोड २० लाख रुपैयाँको ठेक्का दिएको हो । कम्पनीले नदीमा मनोमानी गरिरहे पनि नगरपालिकाले अनुगमन गरेको छैन । नगर प्रमुख हरिसिंह साउद भर्खरै ठेक्का लगाइएकाले केही दिनपछि अनुगमन गरिने बताउँछन् ।


अत्तरियादेखि पहाडी जिल्लाहरू जोड्ने भीमदत्त राजमार्गको बायाँतिरको जंगल क्षेत्रलाई राजधानी तोकिएको हो । गोदावरी नगरपालिकाको २ र ४ नम्बर वडामा पर्ने यो क्षेत्र तेघरी सामुदायिक वन हो । वन उपभोक्ता समूहका पूर्वअध्यक्ष कैलाशकुमार जोशीले आफ्नो पालामा अतिक्रमण हटाउन पहल गरे पनि अहिले मनपरी चलेको बताए । ‘पहिला जंगल रहेको क्षेत्रमा अहिले बस्ती छ, सार्वजनिक जग्गा मिचिएको छ,’ उनले भने, ‘सम्बन्धित निकायले चासो नदिँदा सबैको मनपरी बढेको छ ।’ उनका अनुसार तेघरी वनसँगै रहेका बस्तीसमेत वन मिचेरै बनाइएका हुन् ।


विगतमा समथर भागमा मात्र हुने गरेको अतिक्रमण अब चुरे जंगलतिर उकालो लाग्न थालेको छ । गोदावरी खोला आसपास र पारिको जंगलभित्र पनि टहरा बनिरहेका छन् । तिनै टहरामा सडक पुर्‍याउन चुरे फेदी खन्ने क्रम जारी छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रममार्फत संरक्षण कार्यक्रम अघि बढिरहेकै स्थानमा जथाभावी खनिँदै छ ।


प्रदेश वन निर्देशनालय, धनगढीका प्रमुख सहसचिव नवराज काफ्लेले अत्तरियादेखि गोदावरीसम्म वन क्षेत्र अतिक्रमण गर्नेहरूलाई विगतमा धेरै पटक हटाइएको दाबी गरे । ‘नयाँ संरचनाबारे मलाई थाहा छैन,’ उनले भने, ‘पहिला धेरै पटक हटाइएको हो ।’ काफ्लेले हटाएको दाबी गरे पनि त्यही क्षेत्रमा अहिले टहरा बन्ने क्रम जारी छ । जंगलकै बीचमा होटल
थपिइरहेका छन् ।


गोदावरी पुलनजिकै चुरेको जंगल हुँदै सडक खनिँदै छ । चुरेको खोंचमा रहेको ४ नम्बर वडामा पर्ने फूलबस्तीमा बाटो पुर्‍याउन नगरपालिकाले गत वर्ष २० लाख रुपैयाँ छुट्याएको छ । ४ नम्बर वडा अध्यक्ष प्रेमबहादुर भण्डारी पुरानो बस्ती भएकाले बाटो खन्न थालिएको बताउँछन् । ‘त्यो बस्तीमा पहिला मगरहरू मात्र थिए, अहिले उनीहरू विस्थापित भएर नयाँ मान्छे थपिएका छन्,’ उनले भने । चुरे क्षेत्रमै बेलपानीदेखि काफलीसम्म पनि सडक बन्दैछ । वन क्षेत्र अतिक्रमण गरेर बस्ती विकास भइरहेको थाहा भए पनि गरिब र निमुखा भएकाले हटाउन नसकिने वडाध्यक्ष भण्डारीको तर्क छ ।


सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर कोइराला सबै निकायको सहयोग भए मात्र अतिक्रमण हटाउन सकिने बताउँछन् । ‘प्रदेश मन्त्रालयले अतिक्रमण हटाउने विषयलाई प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘नयाँ संरचना रोकिएको छ ।’ गोदावरीमा राजधानीका संरचना बनाउँदा वातावरणीय पक्ष अध्ययन गर्दै सम्भावित क्षति न्यूनीकरणमा ध्यान दिन उनको सुझाव छ ।

विज्ञहरूले वातावरणीय अध्ययनबिना चुरेको खोंचमा सहर बनाउँदा भविष्यमा क्षति निम्तिन सक्ने चेतावनी दिएका छन् । तेघरी भावर क्षेत्र भएकाले उत्खनन हुँदा तल्लो तटीय क्षेत्रमा पानीको संकट पर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?