३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सेनाभित्र भ्रष्टाचार मौलाएको छ: सेनापति थापा

दीपेन्द्र विष्ट

काठमाडौँ — प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार मौलाएको स्वीकारेका छन् । सैनिक मुख्यालयमा दसैं–तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमा सेनापति थापाले एक्लो प्रयासले भ्रष्टाचार रोक्न कठिन भएको भन्दै त्यसमा सबैको सहयोगको अपेक्षा गरे । 

सेनाभित्र भ्रष्टाचार मौलाएको छ: सेनापति थापा

‘नागरिक समाज, सञ्चारजगत् सबैको सहयोग चाहिन्छ, भ्रष्टचार छैन नै भनेर म भन्दिँन’ उनले भने, ‘एकैदिनमा भ्रष्टचारलाई निमिट्यान्न गर्न सकिदैन, यसका लागि लामो प्रयास चाहिन्छ, त्यसका लागि म तयार छु ।’


सेनाभित्र रहेका विकृति र विसंगतिलाई न्यूनीकरण गर्न आफूले कुनै कसर बाँकी नराख्ने भन्दै उनले त्यसका लागि काम सुरु गरिसकेको बताए । सेनाभित्र नातावाद, कृपावाद मौल्याएको भन्ने जनगुनासो आफूले सुनेको भन्दै उनले त्यस्तो कार्यलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताए ।


‘सेनाले कसैको भनुसुन र अनुचित दबाबमा परेर काम गरिदैन’ उनले भने, ‘यदि त्यस्तो छ भने पनि त्यसलाई पूर्णरुपमा रोक्छौँ ।’ त्यसलाई नियन्त्रण गर्न पनि नागरिक समाजले सजग गराउनु पर्ने उनले बताए । प्रत्येक सेनालाई क्षमता र कार्यकुशलताको आधारमा समान अवसर दिइने उनले प्रष्ट पारे । संविधान विरोधी र विखण्डनवादीलाई नियन्त्रण गर्न सेना तयार रहेको उनले बताए ।

‘संविधानप्रदत अधिकारलाई सेनाले स्वीकार गर्छ’ उनले भने,‘राज्य विरोधी गतिविधि नियन्त्रण गर्न सेना तयार छ, सरकारले अधिकारले जिम्मेवारी बहन गर्छौं,।’ सरकारद्वारा निर्देशित सबै अधिकार पालन गर्ने भन्दै उनले सिमा हुने अराजक गतिविधि नियन्त्रयण गर्न सेना तयार रहेको बताए ।‘राष्ट्र विरोधी र विखण्डनवादी तत्वलाई सुक्ष्म तरिकाले नियाली राखेका छौँ’ उनले भने, ‘राष्ट्रको सुरक्षाको लागि सेना जतिबेला पनि तयार छ ।’ तर,ती तत्वको नाम भने उनले उल्लेख गरेनन् ।


निष्क्रय रहेको सैनिक अदालतलाई सक्रिय बनाइने उनले जानकारी दिए । सेनाले विभिन्न क्षेत्रमा लगानी गरेर व्यवसाय गर्न थालेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सेनापति थापाले व्यवसायीकरण नगरेको भन्दै कल्याणकारी काम गरेको दाबी गरे ।

‘बाह्य मुलुकका सेनाले पनि कल्याणकारी काम गरेका हुन्छन्’ उनले भने, ‘त्यसै अन्तर्गत अस्पताल, सैनिक महाविद्यालय लगायत विभिन्न काम गरेका छौँ,यो कल्याणकारी काम हो,व्यवसाय होइन ।’सेनाले कल्याणकारी काम गर्नु पर्ने उनले दाबी गरे ।

भूपू गोर्खा सैनिकले नेपालमा समेत विभिन्न कल्याणकारी काम गरेको उदाहरण दिंदै उनले यसले सेनाको छवि झन उजिल्याउने बताए । एकीकृत सुरक्षा प्रणाली लागू गरिने भन्दै उनले सम्भावित असुरक्षा भएमा त्यसलाई नियन्त्रण गर्न सेना सक्षम रहेको दाबी गरे ।

प्रकाशित : आश्विन २५, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?