प्रधानमन्त्रीको मन मनाङको स्याउबारीमा

कान्तिपुर संवाददाता

लमजुङ — प्रधानमन्त्री केपी ओलीले बारीमै पसेर स्याउ सुम्सुम्याए । उनको मन स्याउबारीले तानेको उनको हाउभाउबाट स्पष्ट हुन्थ्यो । उनले लुकाएनन् पनि, भने, ‘मेरो मन स्याउले तान्यो । स्याउ देखेर म छक्क परें । यस्तो होला भनेर कल्पना पनि गरेको थिएन ।’ 

स्याउ सुम्सुम्याउँदै प्रधानमन्त्री केपी ओली । तस्बिर : कान्तिपुर ।

गत असोज १ गते तय भएको भ्रमण रोकेर बिहीबार हेलिकप्टरमार्फत मनाङ पुगेका प्रधानमन्त्री ओलीले एग्रो मनाङ प्रालिले स्थापना गर्ने मनाङबाट निर्वाचित नेकपाका सांसद पोल्देन छोपाङ गुरुङलाई धन्यवाद समेत दिए । गुरुङले काठमाडौंको ठमेलस्थित चल्तिको होटल बेचेर स्याउमा लगानी गरिएको बताउँदै गर्दा उनले अश्चर्यसमेत ब्यक्त गरे । उनले थपे, ‘कृषि क्रान्तिको लागि गाउँ फर्किनु भएकोमा धन्यावाद ।’

Yamaha

प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालसहित पुगेका ओलीले स्याउ फार्मको भ्रमण गरे ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका १, भ्राताङस्थित एग्रो मनाङ प्रालिले सुरु गरेको स्याउ खेती तथा स्याउ प्रशोधन केन्द्रको उद्घाटन गर्न प्रधामन्त्री ओली पुगेका हुन् । उनले सबै नेपालीले समृद्धिको सपना देख्नुपर्ने र आफ्नो ठाउँबाट यसको सुरुवात गर्नुपर्ने बताए । ‘दुर्गमका माटोमा गरिएको कृषि, यसले निम्त्याउने पर्यटक, रोजगारी र स्वदेशी स्याउ उत्पादनले आर्थिक समृद्धिसंग जोड्छ’ उनले भने, ‘कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सकिए समृद्धि खोज्न टाढा जानु पर्दैन ।’ सरकारले स्याउ खेती विकासका लागि आगामी वर्ष १ लाख विरुवा विदेशबाट झिकाउने र हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, कालिकोट र जुम्लामा वितरण गरिने बताए ।

एग्रो मनाङ प्रालिले ४ वर्षअघि स्थापना गरेको स्याउ बगैंचा ७ सय ३५ रोपनीमा फैलिएको छ ।
संस्थाका अध्यक्ष समराज गुरुङले स्याउ टिप्ने कार्य धमाधम भइरहेको बताए । उनका अनुसार स्याउलाई काठमाडौं, पोखरालगायत ठूला सहर पठाउन थालिएको छ । बगैंचामा फलेका गाला र गोल्डेन जातको स्याउ टिप्ने कार्य भइरहेको र फुजी जातको स्याउ पुरै नपाकेकाले केही सातापछि मात्रै टिपिने उनले बताए ।

उनका अनुसार बगैंचामा इटली र सर्भियाबाट वर्णशंकर (हाइब्रिड) जातका बेर्ना ल्याएर रापिएको थियो । गतवर्ष ३ सय टन स्याउ उत्पादन भएको बगैंचामा यसबर्ष करिब ५ सय टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले फार्ममा कार्यरत सबै कर्मचारी स्याउ टिप्न व्यस्त भएको बताए । स्याउलाई बजारसम्म पुर्‍याउने गरिएको उनले बताए । स्याउ छिपेपछि यसको ‘ग्रेड’ छुट्याएर फार्ममा रहेको कोल्ड स्टोरमा राखिएको र बजारको अवाश्यकता अनुसार पुर्‍याइएको बताए ।

प्रकाशित : आश्विन २५, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न

नवीन पोखरेल

लण्डन — बेलायत सरकार,विश्व स्वास्थ्य संगठन र आर्थिक सहयोग र विकास सम्बन्धी संगठनको संयुक्त आयोजनामा लण्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न भएको छ। 

९ देखि १० अक्टोबरसम्म चलेको सम्मेलन 'एक्काइसौँ शताब्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणा' जारी गर्दै सम्पन्न भएको छ ।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सम्मेलनमा सहभागी थिए।सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य समस्या अल्प विकसित र विकासोन्मुख राष्ट्रहरुको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए ।

निम्न तथा मध्यम आय भएका मुलुकहरुका हरेक पाँचमा एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेका जनाए ।

नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन भन्दै उपप्रधानमन्त्री यादवले अशिक्षा, बेरोजगारी,बसाईसराई,सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिबीका कारण नेपालमा मानसिक रोगीहरुको संख्या दिनानुदिन बढिरहेको विचार व्यक्त गरेका थिए ।

नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अंगीकार गरेको उल्लेख गर्दै यादवले नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिइएको बताए ।

विश्व सम्मेलनको पहिलो दिन मन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केन्डलसँग शिष्टाचार भेट गरी मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता गरेका थिए ।

यसैबीच उपप्रधानमन्त्री यादव बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको स्वागत समारोहमा समेत सरिक भएको लण्डन स्थित नेपाली दूतावासले जनाएको छ ।

यादवको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी,मानसिक स्वास्थ्य विज्ञ डा. रवीन्द्र ठाकुर,स्वकीय सहसचिव अमरेन्द्र यादव र उपसचिव भवनाथ खतिवडा थिए ।

प्रकाशित : आश्विन २५, २०७५ १७:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT