२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विमानस्थलको सफ्टवेयरमा बारम्बार समस्या, रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर बारम्बार बिग्रिएपछि अध्यागमन अधिकारीहरूले रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति दिएका छन् ।

विमानस्थलको सफ्टवेयरमा बारम्बार समस्या, रेकर्ड नै नराखी यात्रुलाई प्रस्थान अनुमति

गत सोमबार दिउँसो एक बजे करिब एक घन्टासम्म नेपालबाट विदेश जाने यात्रुको रेकर्ड राख्ने इमी सफ्टवेयरले काम गरेको थिएन ।

यात्रुको लामो लाइनमा रहेका बेला अचानक पीआरएम अर्थात् पासपोर्ट रिडेबल मेसिनमार्फत इमी सफ्टवेयरमा डाटा इन्ट्री गर्ने काम बन्द भएको थियो । यात्रुको चाप र त्यही बेला सफ्टवेयरमा खराबी आएपछि अध्यागमन अधिकारीले सामान्य जाँच र पासपोर्ट पढेर प्रस्थान अनुमति दिएका थिए ।

एक अध्यागमन अधिकृतका अनुसार सफ्टवेयर बारम्बार ह्याङ हुने समस्या नौलो होइन । उनका अनुसार हरेक साता कुनै न कुनै समय सफ्टवेयरले काम गर्न छाड्छ। प्राविधिक समस्याका कारण यस्तो बेला नेपालबाट विदेश जाने यात्रुको जानकारी राख्न नसकिने ती अधिकृतले बताए ।

‘पाँच/छ वटा पासपोर्ट स्क्यान गर्ने बित्तिकै सफ्टवेयर ह्याङ भइहाल्छ’, उनले भने । सुरक्षाका हिसाबले संवेदनशील अध्यागमनमा देश छाडनेको विवरण अद्यावधिक नहुँदा सुरक्षा चुनौती बढन सक्छ । विमानस्थल सुरक्षामा खटिएका एक उच्च सुरक्षा अधिकारीका अनुसार सफ्टवेयरमा समस्या आएका बेला देशभित्रै कुनै अपराध गरेका वा शंकास्पद सूचीमा रहेकाहरू पनि खुसुक्क देश छाडने खतरा हुन्छ ।


विमानस्थल अध्यागमनमा यात्रुको रेकर्ड राख्ने काममा समस्या उत्पन्न भएपनि सन् २०१४ अगस्टदेखि अध्यागमन विभागले इमी अर्थात इमिग्रेसन सफ्टवेयर प्रयोगमा ल्याइरहेको छ । तर प्रयोगमा आएको केही महिनादेखि नै सफ्टवेयरमा बारम्बार समस्या आउने गरेको विमानस्थलका अध्यागमनका अधिकृतहरू बताउँछन् ।


विमानस्थल अध्यागमनका प्रमुख अधिकृत राजेश पौडेलसँग पनि सफ्टवेयरमा बारम्बार समस्या हुने गरेको अनुभव छ । पासपोर्टमा उल्लेखित डाटा खिच्ने, प्रस्थान र आगमनको समयसहितको रेकर्ड राख्ने सफ्टवेयरमै समस्या आएपछि अध्यागमनका डेस्क अधिकृतहरू समस्यामा पर्ने गरेका छन् ।


प्रमुख अधिकृत पौडेलले भने,‘सफ्टवेयर बिग्रेका बेला के गर्ने ? सेवा रोकौं क्षमतामा प्रश्न उठने, बिनाप्रविधिको सेवा दिँदा कर्मचारी आशंकाको घेरामा पर्ने सम्भावना हुने ।’अधिकृत पौडेलले सफ्टवेयरको समस्याबारे अध्यागमन विभागमा बारम्बार कुरा राखे पनि समस्या समाधान नभएको सुनाए । उनले भने, ‘सफ्टवेयर बिग्रेका बेला अनधिकृत काम हुने खतरा सधैं रहने भयो तर के गर्ने उपाय छैन ।’

प्रकाशित : आश्विन २५, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?