कमाउन गएको छोरो कफिनमा

पर्वत पोर्तेल

सुरुंगा, झापा — साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ (दीपक) ।

साउदीमा दुर्घटनामा परी मृत्यु भएका झापा सुरुंगा २ का दिपक श्रेष्ठका वुवा,छोरा र श्रीमती । तस्बिर: पर्वत पोर्तेल/कान्तिपुर

गत असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए ।

Yamaha


श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना सुनाए । कस्तो विडम्बना † त्यही दिन अपराह्न ४ बजे उनी दुर्घटनामा परे । तिहारपछि होइन, दसैंअघि नै उनी घर फर्किए तर काठको बाकस (कफिन) मा ।

जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक थिए दीपक । दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत उनी त्यहाँ पुगेका हुन् । ‘ऊ तेस्रोपटक साउदी गएको थियो’, बुवा जितबहादुर भक्कानिए, ‘यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो ।’

मृत्युको दिन दीपक कम्पनीको मान्छे लिन एयरपोर्ट जाँदै थिए । तर, एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै उनको गाडी दुर्घटना भयो । घटनास्थलमै उनको मृत्यु भयो । मृत्युको भोलिपल्ट मात्रै परिवारले खबर पाएको बताए । ‘छोराको मृत्युको भोलिपल्ट कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाए, तर पत्यार लागेन,’ बुवा जितबहादुरले बिलौना गर्दै भने, ‘यथार्थ रहेछ । अहिले पनि सपनाजस्तो लागिराछ ।’

खाडीमा मृत्यु भएकाको शव ल्याउन साह्रै समस्या छ । मृत्युलगत्तै शव ल्याउने पहल भएको तर प्रक्रिया लामो भएको काका डिगेनले सुनाए । ‘बल्लतल्ल १७ दिनपछि शव ल्याउन सक्यौं,’ उनले भने, ‘साह्रै झमेला हुँदोरहेछ शव ल्याउन ।’

बुधबार दीपकको शव बुझ्न बुवा जितबहादुर, काका डिकेन तथा आफन्त एयरपोर्ट पुगे । धेरैका छोरा दसैं मान्न घर फर्किंदा दीपक भने काठको बाकसमा आए । छोराको शव बुझ्न गएका जितबहादुर र आफन्त भक्कानिए ।

‘आफू मर्ने बेलामा छोराको किरिया बस्नुको पीडा कस्तो होला,’ जितबहादुरले बिहीबार सुरुंगास्थित घरमा भने, ‘त्यो मलाईमात्रै थाहा छ ।’ दीपक उनका कान्छा छोरा हुन् । उनका श्रीमती र एउटा छोरा छन् । ‘नातिको भविष्यको चिन्ताले मलाई सताइरहेको छ,’ आमा पवित्राले चिन्ता गरिन् ।

प्रकाशित : आश्विन २५, २०७५ २०:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दसैंमा नातिनातिनाको झल्को

दुर्गालाल केसी

दाङ — दसैं सुरु भइसक्यो, सबैतिर जमरा राखिसकियो । वर्षभरि भेट नहुने घर परिवारका सदस्य र आफन्त यही पर्व पारेर जमघट हुन्छन् । कामको सिलसिलामा घरबाहिर भएकाहरू घरतिर फर्कन हतारिँदै छन् ।

दाङको घोराही १६, तेरौटेस्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग बुढेसकालका समस्याबारे छलफल गर्दै विद्यार्थी । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

घरमा बसेका वृद्ध बाआमा र बाजेबज्यैहरू आफ्ना सन्तान हेर्ने रहरले आतुर छन् । घोराही उपमहानगरपालिका १४, लुहासुरका ७० वर्षीय होलप्रसाद चौधरीलाई भने न कोही सन्तानको पर्खाइ छ, न त कतै जानु छ ।

घोराही १६, तेरौटेस्थित वृद्धाश्रममा उनी जीवनका अन्तिम दिन गिन्ती गरिरहेका छन् । सन्तानले हेरचाह गर्न छोडेपछि उनी २ वर्षअघि वृद्धाश्रम पुगेका हुन् । हरेक चाडपर्वले उनलाई रुवाउँछ । अझ चाडपर्वकै मेसो पारी वृद्धाश्रम आउने बालबालिकाले उनलाई नातिनातिनाको झल्को दिन्छन् । उनीसामु केही बालबालिका फलफूल लिएर आए, दु:खसुखका कुरा सोधे ।

आफ्नै नातिनातिनाजस्तै बालबालिका अगाडि देख्न पाउँदा उनी दंग परे तर आफ्नै नातिनातिना भने थिएनन् । सिद्घरत्ननाथ मावि नारायणपुरबाट वृद्धवृद्धाको अवस्थाबारे जान्न आएका बालबालिका थिए । पाठ्यपुस्तकमा भएको ज्येष्ठ नागरिकसम्बन्धी पाठबारे व्यावहारिक ज्ञान हासिल गर्न उनीहरू त्यहाँ पुगेका थिए ।

काखमा नातिनातिना खेलाएर बस्ने उमेरमा वृद्धाश्रममा एक्लै बस्नुपरेको पीडाले चौधरीलाई साह्रै दु:खी बनाएको छ । उनले आफ्ना सबै कुरा बालबालिकालाई सुनाए । ‘आफ्ना सन्तानले बोझ ठाने । अरू बालबालिका आएर हाम्रोबारे सोधीखोजी गरे,’ उनले भने, ‘नातिनातिनाको याद आयो तर घर जान पाइँदैन, उनीहरू पनि यहाँ आउँदैनन् । कसरी भेट्नु र ?’

उनलाई दसैंमा टीका र जमरा लगाएर नातिनातिनालाई वृद्धवृद्धाको हेरचाह गर्ने आशीर्वाद दिन मन छ तर उनले दुई वर्षदेखि यस्तो अवसर पाएका छैनन् र अब पाउने आस पनि छैन ।

घोराही ११, बाँसगजेरीका ८० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई पनि बालबालिकासामु आफ्ना कुरा सुनाउन पाएपछि केही हलुँगो महसुस भयो । उनलाई आफ्ना नातिनातिनाबारे केही पनि थाहा छैन । १ वर्षदेखि उनी वृद्धाश्रममा छन् । यसबीचमा उनलाई भेट्न कोही पनि आएनन् ।

दसैंले उनलाई घर जाऔं जाऔं बनाउँछ तर सन्तानको छि:छी र दूरदूरले उनको मनै मर्छ । बुढेसकालका समस्या सुन्न आएका स्कुले विद्यार्थीसँग उनले खुलेर समस्या राखे । आफ्ना बाआमालाई यस्तो व्यवहार नगर्न सुझाव पनि दिए । ‘हाम्रोजस्तो हालतमा कोही पनि बूढाबूढी पुग्नु नपरोस् । सानैदेखि कुरा बुझै गर्नू,’ उनले भने, ‘धर्मकर्म कमाउन टाढा जानुपर्दैन । आफ्नै घरका वृद्धवृद्धालाई आदरसम्मान गरे पुग्छ ।’

पश्चिम रुकुमस्थित नुवाकोट चौताराकी ७६ वर्षीया लली चन्द विद्यार्थीसँग वृद्धावस्थाका समस्याबारे छलफल गर्न हौसिइन् । ‘दसैं आयो । यस्तो बेला पनि आफ्ना नातिनातिना देख्न पाइँदैन । यी केटाकेटीले सम्झाइदिए,’ भावुक हुँदै उनले भनिन्, ‘यिनीहरूकै मुख हेरेर भए पनि चित्त बुझाउनुपर्ने भयो । बूढाबूढीको आशीर्वाद सबैलाई लागोस् । बाआमा पाल्ने बुद्धि सबैलाई पलाओस् ।’

बालबालिका पनि वृद्धवृद्धाका समस्या सुनेर भावुक भए, कतिले बुढेसकालमा भोग्नुपरेका कठिनाइ थाहा पाएर अचम्म माने । ‘मान्छेले यस्तो पनि गर्दा रै’छन्, जन्म दिने बाआमालाई पनि यस्तो व्यवहार कसरी गर्न सकेका होलान् ?’ विद्यार्थी विक्रम रोकाले भने, ‘बाआमा त भगवान्जस्तै हुन् । उहाँहरूको स्याहार र संरक्षण गर्नु हाम्रो कर्तव्य हो तर यहाँ यस्तो अवस्था देखेर अचम्म लाग्यो ।’

ज्येष्ठ नागरिक अपहेलित भएको पहिलोपटक देखेपछि विद्यार्थी शीतल चौधरी पनि निकै दु:खी भइन् । पाठ्यपुस्तकमा भएको ज्येष्ठ नागरिकको पाठ पढेपछि थप बुझ्न स्थलगत अध्ययनमा आएकी उनी प्रत्यक्ष देखेपछि अचम्म परिन् ।

‘पाठ पढिसकेपछि ज्येष्ठ नागरिकको अवस्था बुझ्न जाऔं भनेर यहाँ आएका थियौं । यस्तो अवस्था होला भनेर सोचेका पनि थिएनौं,’ उनले भनिन्, ‘हजुरबा हजुरआमाहरूका कुरा सुनेपछि हामीलाई पत्याउनै गाह्रो भयो । आफ्नौ सन्तानले त्यसरी किन हेला गरेका होलान् भनेर अहिलेसम्म पनि सोचिरहेकी छु ।’

अधिकांश वृद्धवृद्धाले छोराबुहारीबाट तिरस्कृत भएर वृद्धाश्रममा पुगेको गुनासो गरेका थिए । घरमा बस्न नसक्ने अवस्था भएपछि वृद्धाश्रमको आश्रय लिन पुगेको उनीहरूको दुखेसो थियो । व्यावहारिक ज्ञान हासिल गर्न र समाज बुझ्न वृद्धाश्रम अवलोकन उपलब्धिमूलक रहेको विद्यार्थी राधिका केसीले बताइन् ।

‘पढेको भन्दा धेरै फरक कुरा यहाँ देख्न पाइयो । अब ज्येष्ठ नागरिकका बारेमा लेख्दा झल्झली यहीँको याद आउने भयो,’ उनले भनिन्, ‘हाम्रा लागि यो ठूलो पाठ भएको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने सिकाइ भएको छ ।’

अर्का विद्यार्थी सुदीप चौधरीले समाजमा ज्येष्ठ नागरिकको सम्मान गर्ने शिक्षा दिन जरुरी रहेको महसुुस गरे । यसरी वृद्धावस्थामा घरबाट निस्कनुपर्ने अवस्था दु:खदायी भएको उनले बताए । ‘मानिसले आफ्नो कर्तव्य बिर्संदै गएको देखियो ।

परिवारका ज्येष्ठ सदस्यबाट सिक्नुपर्ने कुराहरू धेरै छन् तर यसबारे धेरै मानिस जिम्मेवार नभएको देखियो,’ उनले भने, ‘अब समाजमा ज्येष्ठ नागरिकको संरक्षण गर्ने अभियान चलाउन जरुरी छ ।’ वृद्धाश्रममा विभिन्न समूह बनाएर ज्येष्ठ नागरिकका फरकफरक समस्यामाथि छलफल गरी विद्यार्थीले प्रतिवेदन तयार पारेको शिक्षिका लक्ष्मी केसीले बताइन् । यसले विद्यार्थीलाई समाज बुझ्न सघाएको उनले बताइन् ।

वृद्धाश्रममा १७ जना वृद्धवृद्धा रहेको प्रबन्धक हीरा शाहले बताइन् । यसअघि २६ जना रहेकामा ९ जनाको मृत्यु भइसकेको उनले जानकारी दिइन् । वृद्धाश्रममा दाङका साथै रुकुम, रोल्पा, सल्यानलगायतका जिल्लाका ज्येष्ठ नागरिक रहेको उनले बताइन् ।

अधिकांश वृद्धवृद्धा अब फर्केर घर नजाने मनस्थितिका साथ वृद्धाश्रममा आएको र उनीहरूका कोही पनि आफन्त भेट्न नआउने गरेको उनले बताइन् । ‘सबैका उस्तै खालका समस्या छन् । घरपरिवारले बेवास्ता गरेका कारण मन दुखाएर आएका छन्,’ उनले भनिन्, ‘यहाँ हामीले वृद्धवृद्धाबीच दु:खसुख साटासाट गर्ने वातावरण बनाएका छौं । चाडपर्वमा पनि सकेजति रमाइलो नै गराउँछौं ।’

प्रकाशित : आश्विन २५, २०७५ २०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT