बल्झियो सीमा विवाद

हरि गौतम

रुकुमपूर्व — स्थानीय तह सक्रिय भएपछि दुई स्थानीय तहबीच सीमा विवाद बल्झिएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका र रुकुम पश्चिमको मुसिकोट नगरपालिकाबीच विवाद बढेको हो । साबिकको रुकुमबाट रुकुम पूर्व र पश्चिम छुट्टै जिल्ला भएको एक वर्ष नपुग्दै दुई स्थानीय तहबीच पुरानो सीमा विवाद बल्झिएको हो । 

बल्झियो सीमा विवाद

दुवै तहले एकअर्कालाई सीमा मिचेको आरोप लगाइरहेका छन् । सिस्ने गाउँपालिका ६ र मुसिकोट नगरपालिका ८ मा पर्ने उक्त सीमा एक अर्कोले एकदेखि डेढ सय मिटरसम्म मिचेको दाबी गरेका छन् । केही समयअघि दुवै स्थानीय तहले एकअर्काले राखेको सीमा आरम्भ र सीमा समाप्त लेखिएको होर्डिङ बोर्डसमेत फालाफाल गरेका थिए ।


सिस्ने गाउँपालिकाले राखेको रुकुम पूर्व सिस्ने गाउँपालिका सीमा आरम्भ लेखिएको बोर्ड मुसिकोट नगरपालिकाले हटाइदिएको थियो भने मुसिकोट नगरपालिका रुकुम पश्चिमको सीमा समाप्त लेखिएको बोर्ड सिस्ने गाउँपालिकाले हटाइदिएको थियो । सिस्ने गाउँपालिकाले होर्डिङ बोर्ड राखेपछि छलफलको प्रयास भएको थियो तर सफल हुन सकेन । मुसिकोट नगरपालिका ८, वडा कार्यालयले छलफल गरेर पनि सिस्ने गाउँपालिका प्रतिनिधि नआएपछि छलफल हुन नसकेको मुसिकोट ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए ।


विवाद समाधान प्रयासस्वरूप छलफल भएको छ । सिस्ने गाउँपालिका रुकुमकोटमा मुसिकोट नगरपालिका र सिस्ने गाउँपालिकाबीच छलफल भएको हो । छलफलबाट विवाद टुंग्याउन नसके पनि समाधानका लागि भन्दै दुवैतर्फबाट ३/३ सदस्य रहने गरी कार्यदल गठन गरिएको छ । मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतम, सिस्नेका अध्यक्ष कुमारी बराल, मुसिकोट नगरपालिका ८ का अध्यक्ष बुद्धिप्रसाद बुढा र सिस्ने ६ का अध्यक्ष सुदन रेग्मी सदस्य रहेको कार्यदल बनाइएको छ ।


दुवै जिल्लाबाट एक/एक जना गरी अरू २ सदस्यमा राख्ने सहमति भएको सिस्ने गाउँपालिका अध्यक्ष बरालले बताइन् । उनले विवाद देखिएको जग्गालाई आधाआधा पार्ने गरी सीमा कायम गर्नेतर्फ छलफल केन्द्रित भएको बताइन् । पञ्चायतकालपूर्वकै सीमा विवाद हल गर्न खोजिएको भनाइ अध्यक्ष बरालको छ । ‘यो विवाद पुरानै हो, स्थानीय तहको निर्वाचन भइसकेपछि मिलाउन मात्रै खोजिएको छ,’ अध्यक्ष बरालले भनिन्, ‘यसमा नयाँ विवाद आएको होइन ।’


जिसस प्रमुख गजेन्द्रबहादुर ओली, उपप्रमुख भीमकुमारी पुनको रोहबरमा भएको दुई स्थानीय तहको छलफलले विवादित जमिनको नापी/नक्सा हेर्ने र त्यसैअनुसार नयाँ सीमा कायम गर्ने सहमति गरेको मुसिकोट नगरपालिका प्रमुख गौतमले बताए ।


‘नापी नक्सा हेर्ने, विवादमा परेको जमिनको बीच सेन्टरबाट आधाआधा पर्ने गरी विवाद हल गर्नेतर्फ छलफल भएको छ, विवाद समाधान गर्ने गरी दसैंपछि र तिहारअघि फेरि एकपटक छलफल हुन्छ,’ नगर प्रमुख गौतमले भने । उनले पूर्वको भाग पाल्पा र पश्चिमको सल्यान जिल्लामा हुँदाकै विवाद रहेको पाइएको बताए ।

प्रकाशित : आश्विन २६, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?