आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशअन्तर्गतका अधिकांश आयुर्वेदिक अस्पताल जिल्ला स्वास्थ्य केन्द्र चिकित्सकविहीन छन् । प्रदेशका ९ मध्ये ३ जिल्लामा मात्रै आयुर्वेद चिकित्सक कार्यरत छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

पुरानो आयुर्वेद चिकित्सा पद्धतिद्वारा रोगको उपचार खोज्नेको संख्या पछिल्लो समयमा बढेका छन् । चिकित्सकीय सेवा अभावमा पनि सुदूरपश्चिम प्रदेशमा वर्षमा १ लाख ५० हजार बढीले आयुर्वेदिक चिकित्सा सेवा लिएको एक तथ्यांकले देखाएको छ ।


प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयुर्वेद शाखाका प्रमुख डा. चेतराज जोशीले नसर्ने रोगका लागि यो पद्धति प्रभावकारी भएकाले उपचार गराउने बिरामीको संख्या बढिरहेको बताए । तर उनले जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार चिकित्सक र वैद्यको पदपूर्ति गर्न नसकेको स्विकारे ।


उनका अनुसार यो प्रदेशका ९ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा चिकित्सकसहित ४२ बढीको पद रिक्त छन् । ‘डाक्टर नहुँदा कहीं कविराज र वैद्यबाट आयुर्वेद स्वास्थ्य केन्द्र चलिरहेको छ,’ उनले भने, ‘तथ्यांकअनुसार सबै जिल्लामा आयुर्वेद पद्धतिबाट सेवा लिनेको संख्या सन्तोषजनक छ ।’



डा. जोशीले प्रदेशमा आयुर्वेद र आधुनिक चिकित्सालाई एकीकृत गरी एउटै ठाउँबाट दुईवटै विधिबाट उपचार दिने प्रक्रियामा अघि बढेको बताए । ‘अहिले आयुर्वेद प्रतिष्ठान, प्रादेशिक हर्बल गार्डेन र प्रादेशिक योग तथा पञ्चकर्म केन्द्रका लागि समेत काम भएको छ,’ डा. जोशीले भने, ‘यो योजनामा जिल्ला र स्थानीय तहमा हाल रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमा चिकित्सक र वैद्य दरबन्दी पदपूर्ति हुनेछ ।’ उनले हाल यस प्रदेशका ८८ मध्ये ३८ स्थानीय तहमा ४२ आयुर्वेद स्वास्थ्य संरचना मात्रै रहेको जानकारी दिए ।


मन्त्रालयको आयुर्वेद शाखाका अनुसार हाल डडेल्धुरा, कञ्चनपुर र कैलालीबाहेक अन्य सबै जिल्लामा आयुर्वेद चिकित्सक छैनन् । कविराज र वैद्य पनि सबै आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार छैनन् । अछाममा ३ आयुर्वेद स्वास्थ्य संस्था छन् । जसमा एक चिकित्सकसहित कविराज ३ र वैद्य ४ जनाको दरबन्दी हो तर यहाँका चिकित्सक अध्ययन बिदामा छन् । वैद्यको एक पद रिक्त छ ।


बाजुराका २ आयुर्वेद स्वास्थ्य केन्द्रमा एक/एक कविराज २ र ३ वैद्य कार्यरत छन् । तिनीहरू पनि नियमित उपचार सेवामा संलग्न नहुने स्थानीयको गुनासो छ । बझाङमा जिल्ला आयुर्वेद चिकित्सक प्रदेशको सामाजिक विकास मन्त्रालयमा तानिएका छन् । यहाँ ५ कविराज र ६ वैद्यको दरबन्दी छ । वैद्यको १ पद रिक्त छ । डोटीमा ५ आयुर्वेद स्वास्थ्य केन्द्र छन् । चिकित्सकसहित यहाँ कविराजका २ पद रिक्त छन् । जिल्लाभर ६ कविराज र ९ वैद्य कार्यरत छन् ।


त्यसैगरी बैतडी र दार्चुला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा चिकित्सक पद स्थापनाकालदेखि रिक्त छन् । दार्चुलामा कविराज र बैतडीमा वैद्य एक/एक पद रिक्त छ । डडेल्धुरामा ५ कविराजमध्ये २ जनाको पद रिक्त छ । ६ वैद्यमा १ पद खाली छ । कञ्चनपुरमा २ कविराज र १ वैद्य पद रिक्त छ । कैलालीमा कविराज र वैद्यको एक/एक पद खाली छ ।


आयुर्वेद शाखाले हालै वार्षिक रूपमा जिल्ला–जिल्लाको आयुर्वेद पद्धतिबाट सेवा लिनेको संख्या संकलन गरेको छ । सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा आयुर्वेद सेवा लिने बिरामी छन् ।


यहाँका आयुर्वेदिक स्वास्थ्य संस्थाबाट वर्षमा ५२ हजारले उपचार सेवा लिएका छन् । पहाडी जिल्लामा आयुर्वेद सेवा बढी लिनेमा दार्चुला पर्छ । त्यहाँ वर्षभरि २१ हजारले आयुर्वेद सेवा लिएका छन् । त्यस्तै गत वर्षको तथ्यांकमा बझाङमा १४, डोटीमा १६, डडेल्धुरामा ११ र बैतडीमा १८ हजार बिरामीले आयुर्वेद उपचार सेवा लिएका छन् । सबैभन्दा कम अछाममा ५ हजार र बाजुरामा ८ हजारले मात्रै आयुर्वेद पद्धतिबाट सेवा लिएका छन् ।


‘तथ्यांकअनुसार हाल नसर्ने रोगबाट ६० प्रतिशत सर्वसाधारण पीडित छन्,’ डा. जोशीले भने, ‘यस्ता नसर्ने रोगका बिरामीलाई कुनै असर नपार्ने गरी हुने आयुर्वेद उपचार पद्धति बढी प्रभावकारी भएको हो ।’ चिकित्सकका अनुसार वेदबाट प्रादुर्भाव भएको यो पद्धति प्रचलित चिकित्सा पद्धतिमा सबैभन्दा पुरानो र भरपर्दाे मानिन्छ । रोग लागेको व्यक्तिको रोगको उपचार र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा पद्धति मानिन्छ । विश्व स्थास्थ्य संगठनले समेत यस पद्धतिलाई मान्यता दिएको डा. जोशी बताउँछन् ।

प्रकाशित : आश्विन २६, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?