१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जहाज भाडा : जाँदा ३, फर्किंदा १० हजार

ठाकुरसिंह थारू

नेपालगन्ज — नेपालगन्ज– काठमाडौं आउजाउ गर्न हवाई दूरी एउटै हो । जहाज भाडामा भने धेरै अन्तर छ । दसैं सुरु भएसँगै काठमाडाैंबाट घर फर्किने यात्रुको चाप बढेको छ ।

जहाज भाडा : जाँदा ३, फर्किंदा १० हजार

नेपालगन्जबाट काठमाडौं जाने यात्रु घटेका छन् । यहाँबाट जानेको संख्यामा कमी आएपछि एयरलाइन्स कम्पनीले यात्रु आकर्षित गर्न भाडा घटाएर ३ हजारमा झारेका छन् । तर, फर्किनेको भीड बढेपछि भाडा बढाएर १० हजार ३ सय रुपैयाँसम्म पुर्‍याइएको छ ।


नेपालगन्ज–काठमाडौं दैनिक करिब १० भन्दा बढी उडान छन् । निजी कम्पनीका बुद्ध, सौर्य, श्री र यती एयरलाइन्सले उडान भर्दै आएका छन् । सरकारी नेपाल वायुसेवा निगमको उडान नियमित छैन । यही कारण निजी एयरलाइन्सले हवाई भाडा तोक्ने गरेका छन् । सरकारी जहाज नेपालगन्जका लागि लामो समयसम्म अनियमित छ । चाडपर्वका लागि नियमित उडान गर्ने भन्दै नेपाल वायुसेवा निगमले जहाज नेपालगन्ज ल्याएको थियो । तर, दुई दिनपछि काठमाडौं फर्किएको छ ।


नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले एयरलाइन्स कम्पनीहरूको बिजनेस पोलिसीका आधारमा भाडा तय हुने गरेको बताए । ‘एयरलाइन्सबीच पनि प्रतिस्पर्धा छ । त्यसले पनि भाडा घट्ने, बढ्ने हुन्छ,’ उनले भने, ‘उपभोक्ताले सस्तो खोज्छन् । सस्तोमा सेवा दिने कम्पनीले बढी यात्रु पाउँछन् ।’ उनका अनुसार काठमाडौं र कर्णाली प्रदेशबाट घर फर्किनेको चाप बढेको छ । त्यसैले काठमाडौंबाट हुने हवाई उडानको भाडा एयरलाइन्सहरूले बढाएको उनको तर्क छ ।


बुद्ध एयरलाइन्सका नेपालगन्ज प्रमुख विनीत शाहले भने दसंैका बेला पनि यात्रुको चाप खासै नबढेको बताए । उनले बुद्धको दुई उडान नियमित भइरहेको र भाडामा पनि खासै फरक नरहेको बताए । ‘हाम्रो पहिलेजस्तै दुई उडान नियमित छ,’ उनले भने । नेपालगन्ज–कर्णाली प्रदेशका लागि तारा, सीतालगायत एयरलाइन्सले उडान भर्दै आएका छन् । सीताको एउटा जहाज बिग्रिएर थन्किएको छ । ‘यात्रुको चाप एक्कासि बढेको छ । तर, कर्णालीका लागि जहाज कम परिरहेका छन्,’ ठाकुरले भने, ‘जहाज व्यवस्थापन गर्न समस्या भइरहेको छ ।’ नेपालगन्ज आउन र कर्णाली फर्किने यात्रुको संख्या उस्तै छ ।


नेपालगन्ज–काठमाडौं राजमार्ग अवरुद्ध हुने कारण हवाई यात्रुको चाप बढेको हो । नेपालगन्ज–काठमाडौं राजमार्ग अवरुद्ध हुँदा लामो समयसम्म यात्रु अलपत्र पर्दै आएका छन् ।


नेपालगन्जबाट काठमाडौं पुग्न दुई दिनसम्म लाग्दा यात्रु जहाज रोज्न बाध्य छन् । हवाई यात्रुको चाप बढेपछि काठमाडौंबाट जहाजको टिकट समयमै पाउन मुस्किल भएको छ । हवाई मार्ग हुँदै नेपालगन्ज काठमाडौं पुग्न ४५ देखि ५५ मिनेटसम्म लाग्छ । तर, राजमार्गबाट जाँदा ४८ घण्टासम्म लाग्ने गरेको छ । राजमार्ग अवरुद्ध नहुँदा नेपालगन्जबाट काठमाडौं पुग्न बढीमा १२ घण्टा लाग्ने बस चालकले बताए ।


नेपालगन्ज–काठमाडौं एकतर्फी भाडा १ हजार ५ सय छ । तर, यात्रुको चाप घटेपछि यातायातकर्मीले भाडामा प्रतिस्पर्धा गर्दै १ हजारदेखि १ हजार २ सय रुपैयाँ भाडा लिन थालेका छन् । भेरी अञ्चल यातायात व्यवसायी समितिका कार्यवाहक अध्यक्ष शोभाकर पौडेलले चाडपर्वका बेला यात्रु नबढेका कारण सवारी नथपेको बताए । गत वर्ष समितिले नेपालगन्ज–काठमाडाैंका लागि सवारीसाधन थपेको थियो ।

प्रकाशित : आश्विन २६, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?