दसैंको पूर्वसन्ध्यामा एकैदिन तीनकरोडको खसीबोका बिक्री

प्रदीप मेन्याङ्बो

धरान — दसैंको पूर्वसन्ध्यामा धरानस्थित कृषि उपज बजारमा शुक्रबार करिव ३ करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । अघिल्लो शुक्रबार सोही बजारमा करिव डेढकरोड रुपैयाँको खसीबोका बिक्री भएको थियो । 

दसैंको पूर्वसन्ध्यामा एकैदिन तीनकरोडको खसीबोका बिक्री

स्थानीय किसानले व्यपारीलाई प्रतिकिलो सरदर ४ सय ५० रुपैयाँको दरले बिक्री गरेको आधारमा दुई शुक्रबार साढेचार करोड रुपैयाँको खसीबोका बिक्री भएको कृषि उपजबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनकाअनुसार धेरै संख्यामा किनेको खसीबोकालाई व्यापारीले मासु व्यवसायी र व्यक्तिगतरुपमा बिक्री गरेको मूल्यको हिसाव गर्ने हो भने करिव ८ करोड रुपैयाँको कारोबार हुन पुग्छ ।


उनले भने, ‘चाडपर्वको बेला मासु प्रयोजनका लागि पूर्वी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा र सुनसरीबाट दुईसातामा वर्षकै धेरै खसीबोका बिक्री हुने गरेका छन् । धरानमा बिक्री गर्नका लागि टाढाका जिल्लाबाट तीनदिनअघि नै आएर कृषि बजारले उपलव्ध गराएको ठाउँमा बस्ने गरेका छन् ।


तेहेरो निकासी करले हैरान

पूर्वी पहाडका विभिन्न जिल्लाबाट धरान ल्याउदा जहा उत्पादन भएको त्यहीको जिल्लाले निकासी कर लिने गरेको छ । एकपटक निकासी कर लिएपछि अरु जिल्ला वा स्थानीय तहले निकासी कर लिने कुनै वैधानिक व्यवस्था छैन । तर भोजपुरको जरायोटारबाट ल्याएका खसीबोकाका लागि धनकुटाको मूलघाटमा रहेको सशस्त्र प्रहरी, धनकुटाकै भेडेटारमा रहेको ट्राफिक प्रहरीले कर लिएको व्यापारी गजेन्द्र राईले बताए । उनले भने, ‘भेडेटारका ट्राफिकले चौपाया बोक्ने सवारीसाधनमा नल्याई अन्य सवारीसाधनमा खसीबोका ल्याएको भनेर जरिवाना स्वरुप कर तिराए । तर नेपालमा खसीबोका बोक्नका लागि भनेर बेग्लै सवारीसाधन ती ट्राफिक प्रहरीहरुले देखाउन भने सकेनन् । दसैंको बेला करको नाममा पैसा लिए ।’

उनले मुलघाटका सशस्त्रले त खोइ क्वारेन्टाइन गरेर ल्याएको समेत भनेको बताए । नेपाली सामान भारतमा निर्यात गर्नका लागि त सरकारले क्वारेन्टाइनको व्यवस्था गर्न सकेको छैन , भोजपुर, धनकुटा तेह्रथुमबाट सुनसरीमा खसीबोका ल्याउदा के को क्वारेन्टाइन ? सबै पैसा खाने मेलोमात्र भयो । शान्ति सुरक्षाकालागि खट्ने प्रहरी प्रसासनबाटै किसान र व्यापारी पीडित हुन थालियो ।’

एक जिल्लाबाट अर्को जिल्ला हुँदै सुनसरीमा खसीबोका बिक्रीका लागि ल्याउँदा दोहोरो कर नलिन भनेर कृषि उपजबजारले पटकपटक पत्राचार गरेको पनि सुनुवाई नभएको बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कट्वालले बताए । धरान उपमहानगरपालिका आफैंले पनि दोहोरो कर लिँदै आएको उनले बताए । धरान उपमहानगरपालिका भित्रैको विष्णुपादुकाबाट ल्याएको खसीबोकाको रेल्वे चोकमा कर लिने गरेको छ । ती खसीबोका कृषि बजारमा पुर्‍याएपछि बिक्री भएको बेला बजार व्यवस्थापन समितिले सेवा शुल्क पनि लिने गरेकाले समितिले बजार व्यवस्थापन समितिले मात्र सेवा शुल्क लिन पाउने प्रावधान भएको भन्दै यस्तो दोहोरो कर लिएर किसान र व्यापारीलाई मार नपार्न भन्दै गत भदौ मै पत्राचार गरेको अध्यक्ष कट्वालले बताए ।


भारतीय खसीबोकाको बजार विस्थापित

गतवर्षदेखि पूर्वी पहाडी जिल्लामै स्थानीय किसानहरुले खसीबोको प्रसस्त उत्पादन गर्न थालेपछि भारतीय बजारबाट ल्याउने चलन यो वर्षदेखि पूर्णरुपमा बन्द भएको छ । बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘मासुको प्रयोजनकालागि आवश्यक खसीबोका शतप्रतिशत पूर्वी पहाडी जिल्लाका पशुपालकहरुबाट उत्पादित हुन थालेपछि यो वर्षदेखि भारतबाट आयत हुन बन्द भएको छ ।’ उनकाअनुसार एकवर्षअघिसम्म भारतीय बजारबाट धरानको कृषि उपज बजारस्थित चैपाया बजारमा मासुको प्रयोजनका लागि भारतबाट करिव ६ करोड रुपैयाँ बढीको खसीबोका ल्याउनु पर्ने बाध्यता रहेको थियो ।’


गत आर्थिक वर्षमा ४ सय ५२ मट्रिक टन बराबरको २२ करोड ६० लाख रुपैयाँको खसीबोका बिक्री भएको थियो ।


प्रकाशित : आश्विन २६, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?