१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चुनावको लफडा सकियो अब ध्यान विकासतर्फ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीका नेता बामदेव गौतम चुनाव उठ्ने विषय समाप्त भएको बताएका छन् । ‘बामदेवजी नै लड्दिनँ भन्नुभयो अब यो विषयको लफडा सकियो,’ शुक्रबार राजधानीको आलापोटमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘अब हामी मुलुकको विकासकै लागि सक्रिय हुने हो ।’ 

चुनावको लफडा सकियो अब ध्यान विकासतर्फ : दाहाल

गौतमलाई सांसद बनाएर प्रतिनिधिसभामा लैजान मुख्य जोडबल गर्ने अध्यक्ष दाहाल पनि हुन् । चुनावका लागि सिट खाली गराउने लगायतमा भूमिका खेल्ने अध्यक्ष दाहालले सर्वत्र विरोधपछि गौतम आफै पछि हटेकाले यो विषय अब सकिएको उल्लेख गरे । गत सोमबारको पार्टी सचिवालय बैठकमा काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतम उपचुनावका लागि त्यहाँबाट उठ्ने योजना दाहालले अघि सारेका थिए ।

त्यही योजनाअनुसार सांसदबाट राजीनामाका लागि मानन्धरको स्वीकृति पत्र सचिवालयमा पेस भएको थियो । तर, उक्त विषय बाहिर आउनेवित्तिकै पार्टीभित्र र बाहिर तीव्र आलोचना भयो । गौतम आफैंले नेताहरुसँगको छलफलबाट अब चुनावमा नउठ्ने मनस्थिति बनाए । त्यसपछि शुक्रबार गौतमको विषयमा अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाट थप स्पष्टीकरण दिएका हुन् ।


‘जहाँसम्म चर्चा चल्यो रामवीरको राजीनामा, बामदेव चुनाव लड्ने, केके हो केके यसमा तपाईहरु टेन्सन नलिनुस् । पार्टी छ, पार्टीले निर्णय गर्छ । अब अहिले त्यो लफडातिर हामी लाग्दैनौं,’ अध्यक्ष दाहालले भने, ‘बामदेवजीले म लड्लिनँ भन्नुभयो कुरा सक्कियो ।’


अध्यक्ष दाहालले सरकारका कामकारबाहीको बचाउ पनि गरेका छन् । शुक्रबारै पाटनमा भएको अर्को कार्यक्रममा दाहालले सरकारले हालसम्म गरेको उपलब्धिहरुको प्रशंसा गरे । उनले यो सरकारले नै विकास र समृद्धि ल्याउने भएकाले भरोसा गर्न आग्रह गरे । अस्थिरताको अन्त्यका लागि आफूहरुले पार्टी एकता गरेको उल्लेख गर्दै दाहालले अब विकास सुशासन दिने दाबी गरे । ‘यदि हामीले त्यसो गर्न सकेनौं भने, बहुमतको सरकार, पार्टी एकता, हिजो दुई पार्टी नभए अर्कोले गर्छ भन्ने हुन्थ्यो भने अब त्यो अवस्था रहँदैन,’ दाहालले भने, ‘देशभर जनताको ठूलो भरोसा र विश्वास छ ।’


सरकारका पछिल्ला कामकारबाहीप्रति भइरहेका टीकाटिप्पणीमाथि पनि अध्यक्ष दाहालले अब समीक्षा गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । सात महिनाको समयमा सरकारले चीन र भारतसँगको सम्बन्ध सुधार उलेख्य सम्झौता गरेको दाहालको भनाइ थियो । उनले दैनिक जीवनसँग जोडिनेको जनताका समस्यामा विशेष ख्याल गर्दै अघि बढने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित : आश्विन २६, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?