कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सुत्केरीलाई रातो भाले

रमेशचन्द्र अधिकारी

धनकुटा — पाख्रिबास नगरपालिकाले दुई महिनाअघि थालेको ‘वडाध्यक्षसँग कर्णधार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरभित्र जन्मिएका नाबालकको स्वास्थ्य जाँच, जन्म दर्ता तथा सुत्केरीको जाँच, पोषणयुक्त खानेकुरा वितरणका लागि कार्यक्रम थालिएको हो ।

सुत्केरीलाई रातो भाले

नगर प्रमुख विर्षबहादुर राईका अनुसार १० वडा रहेको पाख्रिबासका प्रत्येक वडाध्यक्षले सुत्केरी महिलालाई घरैमा गएर भेट गर्दै आएका छन् । जसमध्ये पाख्रिबासका सबै वडामा हालसम्म ३६ सुत्केरीलाई वडाध्यक्षले भेट गरिसकेका छन् । स्वास्थ्यकर्मी, जन्मदर्ता गर्ने कर्मचारी, जनप्रतिनिधि, स्वयम्सेविका सहित सुत्केरीको घरमा जाने गरेको पाख्रिबास नगरपालिका-२ का वडा सचिव ठगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।


उक्त वडामा मात्र दुई महिनामा हालसम्म ९ जना सुत्केरी भएको उनले बताए । आमा र बच्चाको स्वास्थ्य परीक्षण सहित साथमा अनिवार्य रातो भाले पनि लगिने गरिएको उपप्रमुख देवकला तिम्सिनाले बताइन् । ‘यसक्रममा अधिकतम स्थानीय स्रोतसाधन प्रयोग गरिन्छ’, उनले भनिन्, ‘कुखुरा, दाल, घिउ लगायतका स्थानीय उत्पादनका वस्तु वितरण गरिन्छ ।’


यसक्रममा स्वास्थ्यकर्मीले नाबालकको स्वास्थ्य जाँच र तौल लिने गरेका छन् । नाबालक र सुत्केरीको संरक्षण गर्ने उद्देश्यले थालिएको उक्त कार्य पछिल्लो समय प्रभावकारी बन्दै गएको तिम्सिनाको भनाइ छ । नवजात शिशु तथा सुत्केरीलाई कुपोषण तथा रक्तअल्पताको अवस्थाबाट मुक्त गर्न अभियान सार्थक हुने दावी गरिएको छ ।


पछिल्लो समय आफ्ना टोलवस्तीमा सुत्केरी हुना साथ स्थानीयले जनप्रतिनिधिलाई तत्काल खबर गर्न थालेको वडा २ का अध्यक्ष तोर्णबहादुर खपाङ्गीले बताए । खबर पाउनासाथ जनप्रतिनिधि भने रातो भाले, पोषणयुक्त खानेकुरा र जन्म दर्ताका लागि सुत्केरीकै घरमा पुग्ने गरेको उनले बताए । बच्चालाई हुर्काउन आवश्यक आमाको दूधका लागि समेत पोसिलो खाना जरुरी रहेकाले नगरपालिकाले रातो भालेका साथमा अन्य पोषणयुक्त खानेकुरा वितरण गर्दै आएको छ ।


.अस्पताल वा दक्ष स्वास्थ्यकर्मीमार्फत सुत्केरी गराउने चलन बिस्तारै बढदै गए पनि पोषणयुक्त खानेकुराको अभावमा सुत्केरी र नवजातको अवस्था दयनीय पाइएपछि जनप्रतिनिधिसँग कर्णधार कार्यक्रम थालिएको नगर प्रमुख राईले बताए । सुत्केरीका लागि नगरपालिकाले रातो भाले सहित ५ हजार रुपैयाँसम्मका सामग्री खरिद गर्दै आएको छ ।


नगरपालिकाले वार्षिक ६ सय सुत्केरी हुन सक्ने अनुमान गरेर बजेट विनियोजन गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने र बढिमा दुई सन्तान भएकालाई यो अभियानमा प्राथमिकतामा राखेको प्रमुख राईले बताए । परिवार नियोजनप्रति चासो जाने र स्वास्थ्य संस्थामा सुत्केरी गराउन् भन्ने उद्देश्यले यसो गरिएको उनको तर्क छ । तर दुईभन्दा बढी सन्तान हुनेलाई पनि वञ्चित नगरिने उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?