कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नाका खोलेको दिन दसै’

कोदारी राजमार्गको सडक भास्सिएर महिनादिनसम्म सीमाको सम्पर्क टुटदा सरकारी पहलकदमी नगरिएको स्थानीयको गुनासो
अनिश तिवारी

सिन्धुपाल्चोक — दसैंको माहोलले मुलुकलाई छोपिसकेको छ तर चीन जोड्ने सीमावर्ती भेगमा महान् चाडको कुनै उल्लास देखिँदैन ।

‘नाका खोलेको दिन दसै’

अघिल्लो वर्षदेखि दसैं मनाउन छाडेकी भोटेकोसी गाउँपालिका तातोपानीकी ६८ वर्षीया सोनामाया तामाङलाई दसैं आएलगत्तै खल्लो अनुभव गर्छिन् । नाका खुल्दा होटेल व्यवसाय गरेर पसल, घर ठड्याएकी उनलाई अहिले बाँच्न एकदमै कठिन बनेको छ ।


‘दसैं भनेको नि पैसा नै त हो नि बाबै, त्यही नभएपछि दसैं–तिहार जे आए पनि के फरक पर्छ र,’ तामाङले भनिन् । बर्खालगत्तै तातोपानी बजार जोड्ने सडकको नौकिलो, दशकिलो, पिप्लाङ हुँदै तातोपानी र लिपिङ बजारसम्म झन्डै दर्जनौ. स्थानमा पहिराले तहसनहस बनायो । सडक जोडिएर सामान्य मर्मत भए पनि सुख्खा पहिरो झर्ने जोखिम अझै रोकिन सकेको छैन । ‘हालत यस्तो बिग्रँदो छ, दसैं के खुसीले मनाउनु ?,’ तातोपानी चौकीडाँडाका रामचन्द्र घतानीले प्रतिप्रश्न गरे । सरकारले सीमावासीलाई जनता नमानेको उनको आरोप छ । ‘नाका नखुलेका कारणले यहाँलाई बेवास्ता गरियो,’ उनले भने ।


कोदारी राजमार्गको सडक भास्सिएर महिनादिनसम्म सीमाको सम्पर्क टुटदा सरकारी पहलकदमी नगरिएको स्थानीयको गुनासो छ । दसैंलाई विशेष रूपमा लिने यहाँ नेवार, शेर्पा, तामाङदेखि क्षत्री, बाहुनको बाक्लो बसोबास छ । ‘दसैंले सीमाबाट उता सबै ढाकिसकेको छ,’ भोटेकोसी गाउँपालिका तातोपानीका वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले भने ,‘यहाँका स्थानीय नाका खुलेको दिन दसैं मनाउँछौं पो भन्छन् ।’


चीन जोड्ने बजारको भौतिक संरचना खण्डहरमा परिणत भइसकेको छ । यहाँको भौगोलिक बनावटलाई अलग्गै सुरक्षित प्रविधिबाट मर्मतसम्भार गरिनुपर्ने श्रेष्ठको भनाइ छ । भौतिक सम्पदा निर्माणमा गरिएको ढिलाइले नाका नखुल्दा यहाँका युवा विदेशिएको उनले सुनाए । ‘आफन्त विदेशिनु र नाका नखुल्दा शून्यमा झरेको स्तरले कष्टकर दैनिकी भोगिरहेका सीमावासी दसैंले छोएको छैन,’ उनले भने ।


दसैंमा सुरक्षा कडा

दसैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि जिल्लामा चौकन्ना बनाएर विशेष टोली खटाइने प्रहरीले जनाएको छ । ‘दसैंमा कुनै अवान्छित घटना हुन दिने छैनौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने ।


उनकानुसार सुरक्षाको हिसाबले संवेदनशील मानिएका ८७ स्थान पहिचान गरेर ३ सय ७७ प्रहरी परिचालन गरिनेछ । ‘जहाँ प्रहरी निरीक्षकदेखि प्रहरी जवानले रात्रि गस्ती गरेर कडा सुरक्षा दिनेछन्,’ उनले भने ।


प्रकाशित : आश्विन २६, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?