३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

चिनी उद्योगीले किसानका उखु किन किन्दैनन् ?

शंकर आचार्य

पर्सा — पर्साका अगुवा उखु किसानले रिलायन्स सुगर मिल्स बाराले उखु नकिन्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उखु किसानको हक हितका लागि आवाज उठाएकाले बदलाको भावना राखेर उद्योग व्यवस्थापनले यसो गरेको उनीहरूको आरोप छ ।

चिनी उद्योगीले किसानका उखु किन किन्दैनन् ?

उखु किसान संघर्ष समिति पर्साका अध्यक्ष सहरूम राउत, सचिव पृथ्वी साह कानु र अर्का अगुवा किसान महम्मद हैदरको उखु यस वर्ष उद्योग व्यवस्थापनले खरिद गर्न नमानेको उनीहरूको आरोप छ । विगतमा जिल्लाका किसानको उखु खरिद गर्न रिलायन्स व्यवस्थापनले आनाकानी गरेपछि आफूहरूले त्यसविरुद्ध सशक्त आवाज उठाएकाले प्रतिशोधको भावना राखेर उद्योग व्यवस्थापनले यस वर्ष उखु खरिद गर्न नमानेको उनीहरूले दाबी गरेका छन् ।


राउतको जगरनाथपुर गाउँपालिकास्थित–५ बिघा, साहको कालिकामाई गाउँपालिकास्थित ६ बिघा र हैदरको वीरगन्ज महानगरपालिका ३१ बेल्वास्थित ५ बिघा जग्गामा लगाइएको उखुको सर्भे हालसम्म उद्योगले गरेको छैन । जिल्लाका अधिकांश किसानको उखुको सर्भे गरिसकेको उद्योगले आफूहरूको जानाजान सर्भे गर्न नमानेको राउतले गुनासो गरे ।


‘रिलायन्स व्यवस्थापनले हामीलाई हाकाहाकी यस वर्ष तपाईहरूको उखु किन्दैनौं, जहाँ बिक्री गर्नु छ गर्नुस् भनी जवाफ दिएको छ,’ उनले भने, ‘गत वर्ष हाम्रो मोरहन उखु खरिद गरेको उद्योगले यस वर्ष उखु लिन्न भनी पन्छिन् मिल्दैन, फेरि गत वर्ष उद्योगले हाम्रो खातामा उखुको पैसा ट्रान्सफर गरेको प्रमाण पनि छ, यसै आधारमा हामी उद्योग व्यवस्थापनविरुद्ध कानुनी कारबाही र क्षतिपूर्तिका लागि अदालतमा जान सक्छौं ।’


साहले बिगतमा उद्योग व्यवस्थापनले नक्कली किसानको रेकर्ड खडा गरी सस्तो भारतीय उखु खरिद गरेर नेपाली किसानलाई समस्यामा पार्ने, प्रतिक्विन्टल उखुमा पाइने ६५ रुपैयाँ सरकारी अनुदानको पनि दुरुपयोग गर्ने, सादा चलान छापेर उखुको चलान बिक्री जस्ता बदमासी गरेकाले आफूले त्यसको समेत बिरोध गरेपछि यस वर्ष आफ्नो उखु खरिद गर्न नमानेको दाबी गरे । ‘अब हामी कसको शरणमा जाने, प्रशासन गुहार्दा सधैं उद्योगको पक्षमा बोल्छ, खेत बाँझो राख्ने किसानलाई सरकार कारवाही गर्छु भन्छ,’ उनले भने, ‘उद्योगले उखु किन्दैन भने हामीलाई क्षतिपूर्ति देओस् ।’


रिलायन्स व्यवस्थापनले गत वर्षकै किसानको उखुको भुक्तानी ४६ करोड दिन बाँकी रहेको छ । यस वर्ष पर्सा जिल्लामा मात्रै करिब ६ हजार बिघा जग्गामा उखु खेती गरिएको छ । रिलायन्स पर्सा बाराका उखु किसानको सबैभन्दा ठूलो उखु खरिदकर्ता हो । जिल्लामा एभरेस्ट सुगर मिल्सको उखु संकलन केन्द्र २ वर्षअघिदेखि सन्चालनमा छ । अन्य ससाना खाडसारी उद्योगले पनि उखु खरिद गर्छन् । तर ठूलो परिमाणमा खरिद रिलायन्सले नै गर्ने हुँदा उसको गतिविधिले किसानको भविष्यमा प्रत्यक्ष असर गर्छ ।


हैदरले पनि हालसम्म उद्योगले आफ्नो उखुको सर्भे नगरेको गुनासो गरे । ‘उद्योग व्यवस्थापनलाई सोध्दा तपाईले आफ्नो गाउँमा एभरेस्ट सुगर मिलको उखु संकलन केन्द्र खोल्न सघाउनुभयो, त्यो बन्द गराउनुस् अनि मात्र तपाईंको उखु किन्छौं भन्छ,’ उनले भने, ‘कस्तो अचम्मको तर्क हो यो, रिलायन्सले सहजै किसानको उखु किनि दिदैन भने अन्य उद्योग यहा आएर आफ्नो संकलन केन्द्र खोल्दा त्यसमा के गलत भयो, खुला अर्थतन्त्र तथा प्रतिस्पर्धात्मक बजारमा एउटै उद्योगले मात्र आफ्नो एकाधिकार खोज्नु कत्तिको उचित हो ।’


रिलायन्सका व्यवस्थापक राजु गाडियाले कुनै पनि किसानको उखु खरिद गर्नु नगर्नु आफ्नो स्वतन्त्रताको कुरो भएको बताए । ‘कुन किसानको उखु किन्ने, कसको नकिन्ने भन्ने निर्णय उद्योग व्यवस्थापनको स्वविवेकमा निर्भर हुने कुरो हो,’ उनले भने, ‘जानाजान उद्योगको हित विपरीत काम गर्ने किसानको उखु किन्नै पर्छ भन्ने के बाध्यता छ र, १२ हजार किसान मध्ये २/३ जनाले मात्र बदमासी गर्छ र उद्योगले उनीहरूको मात्र उखु किन्दैन भने त्यसको पछाडि पनि केही कारण होला नि ।’


आफू कुनै पनि किसानको विरोधमा नरहेको र हाल सर्भे नगरिएका किसान नेताहरूले विगतमा आफूहरूले गरेका गल्ती सच्याएर आउन चाहे आफू उखु खरिद गर्न तयार रहेको उनले बताए ।


‘गत वर्ष उहाँहरूले मेरो विरुद्ध निक्कै षडयन्त्र गर्नु भयो, मलाई जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाएर गालीगलौज गर्नुभयो, बाटोमा पनि गाली गर्न छोड्नु भएन, उहाँहरूलाई उखुको चलान पुर्जी पहिले चाहिन्छ र भुक्तानी पनि सबैभन्दा पहिले चाहिन्छ,’ उनले भने, ‘तैपनि म किसान विरोधी होइन, किसानसँग झगडा गरेर सम्भव पनि छैन, विगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जाहेर गरे उखु किन्न तयार छुँ ।’

प्रकाशित : आश्विन २६, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?