३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शौचालय नभएकै बस्ती ‘खुला दिसामुक्त’

शिव पुरी

रौतहट — चन्द्रपुर–९ स्थित मुसहर बस्तीका ६० वर्षीया रामु मुसहर शुक्रबार बिहान हातमा लोटा बोकेर खेतबाट घर आउँदै गर्दा बाटोमै भेट्टिए । उनी खेतमा शौच गरी फर्केका थिए । 

शौचालय नभएकै बस्ती ‘खुला दिसामुक्त’

घरमा शौचालय नभएपछि उनी लगायत घर परिवारका सदस्यहरू लामो समयदेखि यही खेतमा दिसा पिसाब गर्दै आएका छन् । उनको घर भएको बस्ती खुला दिसामुक्त घोषणा भइसकेको छ । यसबारे उनी अनभिज्ञ छन् ।


खुला आकाश मुनि दिसापिसाब गर्नुको विकल्प नभएको रामुले सुनाए । ‘घरमा शौचालय छैन । बनाउन पैसा पनि छैन,’ उनले भने, ‘मुसहर बस्तीमा शौचालय वितरण गरेको भनी नक्कली सही गरेर नगरपालिकाले रकम निकासा दिइसकेको भन्ने सुनें । दु:ख लागेको छ ।’ नक्कली सही गरेर गरिबको नाउँको पैसा खाने मानिसहरू दिसा खाए बराबरको हुने भन्दै उनले आक्रोस पोखे । रामु मात्र होइन यस बस्तीमा ५० घर मुसहर सुमदायको छ । उनीहरू कसैको घरमा शौचालय छैन । बस्तीका बालबालिकादेखि वृद्धवृद्धासम्म खुला स्थानमा शौच गर्छन् ।


अहिले सिंगो बस्ती मात्र होइन नगरपालिका नै खुला दिसामुक्त घोषणा भइसकेको छ । शौचालय नै नभएको बस्तीलाई खुला दिसामुक्त भनिएपछि मुसहर समुदाय छक्क परेका छन् । उनीहरूको नाममा वडा अध्यक्षको सिफारिसमा कागजमा मात्र नगरपालिकाले शौचालयको सामान वितरण गरिसकेको भन्दै गत आर्थिक वर्षमै रकम निकासा दिइसकेको छ । नगरपालिकाको अधिकांश दलित बस्तीमा शौचालय छैन ।


केही स्थानमा वडा अध्यक्षले शौचालयका लागि सामान दिए पनि आर्थिक अभावले निर्माण गर्न सकेका छैनन् । शौचालय नै नभएको अवस्थामा सरोकारवाला संस्थाले शतप्रतिशत शौचालय बनाइसकेको भन्दै घोषणा गरेका थिए । नगरपालिका सहित सिङगो बस्ती खुला दिसामुक्त घोषणा भइसकेको छ । ‘शौचालय नै नभएको बस्ती समेत खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको रहेछ,’ कांग्रेसका मुकेश गिरीले भने ।


यो नगरपालिका क्षेत्रफल तथा जनसंख्याका आधारमा रौतहटकै सबैभन्दा ठूलो हो । साविक चन्द्रनिगाहपुर, पौराई, जुडिबेला, सन्तपुर र डुमरिया गाविस मिलाएर नगरपालिका बनाइएको हो ।


२०६८ को जनगणना अनुसार नगरमा १३ हजार ४ सय ४५ घरधुरी छन् । नगरको कुल जनसंख्या ७२ हजार ५९ रहेको नगरपालिकाले जनायो । नगरपालिकामा १० वटा वडा छन् । सबै वडा कागजमा मात्र खुला दिसामुक्त भएका छन् । प्लान नेपालका रौतहट प्रमुख जिवनाथ पराजुलीले चन्द्रपुर नगरपालिकालाई हतारमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको भन्ने महसुस भएको बताए । ‘कमिकमजोरी भएकै हो,’ उनले भने, ‘आगामी दिनमा अब यस्तो हँुदैन ।’ लक्षित वर्गका लागि ४ दशकदेखि काम गर्दै आएको प्लान नेपालको समेत आलोचना भएको छ ।


पछिल्लो समय जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न होडबाजी नै चलेको छ । जनसेवाका निर्देशक भाग्यनारायण महतोसित सम्पर्क गर्दा उनले मोबाइल फोन उठाएनन् । डुमरिया, बडहर्वा, चेतनगर लगायतका स्थानका मुसहर बस्तीमा शौचालय छैन । शौचालयको रिङ र ढकन बाटोमा त्यतिकै फालिएको छ । धेरैजसो नगरपालिकाले शौचालय नबनाउनेको सबै खाले सुविधाबाट वञ्चित गराइने अवधारणा अघि सारेको थियो ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेस दाहालले घोषणासभा कार्यक्रमका लागि नगरपालिकाले एक रूपैयाँ पनि खर्च नदिएको बताए । ‘शौचालय बनाईएको छ/छैन भन्ने सबालमा हामी बहस गर्छौं,’ उनले भने, ‘त्रुटि कहाँ भएको छ भन्ने सुधार गर्नु जरुरी छ ।’ उनले शौचालय नभएको भनिएको मुसहर बस्ती पुगेर हेर्ने सुनाए ।


जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख अनिल केशरीले जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानमा लागेको बताए । अहिले पनि केही नगरपालिकामा समस्या छ,’ उनले भने, ‘कतिपयले शौचालय भएर पनि प्रयोग गर्दैनन् । शौचालय बनाउन दिइएको सामान बाहिर त्यतिकै राख्छन् ।’ केशरीका अनुसार शौचालय बनाउन दिइएको रिङ लगायतका सामग्री त्यतिकै राखिएको पाइए उठाएर ल्याउने चेतावनी दिइएको छ ।


डिभिजन कार्यालयले खुला दिसामुक्त गाउँमा म्याइकिङ गरी शौचालय प्रयोग गर्न र नभएकाहरूले तत्काल निर्माण बनाउन अनुरोध गरेको छ । कार्यालयले शौचालयको निर्माण र प्रयोग गर्न घरदैलो समेत गरेको थियो । जिल्लाका केही स्थानमा हचुवाका भरमा खुला दिसामुक्त घोषणा गरिएको भन्दै डिभिजन कार्यालयको तीव्र आलोचना भएको थियो । केही दिनअघि कटहरिया नगरपालिकाका जनप्रतिनिधकै घरमा शौचालय नभएको भन्दै सर्बत्र आलोचना भएको थियो ।


खुला दिसामुक्त घोषणा भएको नगरपालिकामा जनप्रतिनिधि समेत बाहिर शौचादी गर्दै आएका थिए । केहीलाई सरोकारवालाहरूले नियन्त्रयणमा लिएका थिए । पछि प्रहरीको रोहबरमा शौचालय बनाउने मौखिक प्रतिबद्धता जनाई छाडिएको थियो ।


नगरपालिकालाई खुला दिसामुक्त गर्न विभिन्न संघसंस्थाबीच प्रतिस्पर्धा नै चलेको छ । घोषणामा रकम खर्च गर्ने संस्थाको ओइरो लागेको छ । अहिले १३ वटा एनजीओले सरसफाइ कार्यक्रम भनेर लागेका छन् । खुला दिसामुक्त घोषणा भए पनि यसको प्रभावकारिता कुनै पनि संघसंस्थाले अनुगमन गर्न गएका छैनन् ।

प्रकाशित : आश्विन २६, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?