किशाेरीलाई आत्मरक्षा तालिमकाे लहर

धनगढी, डडेलधुरा र परासी — ‘मेरो सुरक्षा मैले नै गर्नुपर्छ । म सक्षम छु, हामी सक्षम छौं,’ मोटिभेटर रजनी थापाले यसो भन्दा अधिकांश सहभागीका आँखा रसाए । धनगढीको कभर्ड हल तालीले गुन्जियो । एकहप्ते आत्मरक्षा तालिमपछि किशोरीहरूमा बढाएको आत्मविश्वासले थापा पनि हर्षित छिन् ।

किशाेरीलाई आत्मरक्षा तालिमकाे लहर

‘हिंसाबाट जोगिन सक्छु भन्ने हिम्मत जागेको छ, सुरुको दिन त बोल्नै मुस्किल भएको थियो,’ १८ वर्षीया रक्षा बमले भनिन् । शुक्रबार तालिमको अन्तिम दिन हो । सहभागीहरू नयाँ ऊर्जा सँगालेर घर फर्किएका छन् । ‘महिलाहरूका लागि आत्मरक्षा शिविर’ नाम दिइएको तालिममा यौन हिंसाबाट जोगिने आधारभूत सीपसहित आत्मविश्वास बढाउने क्रियाकलाप सञ्चालन गरिए । सहभागीलाई कराँते प्रशिक्षकहरूले अप्रत्याशित रूपमा हुन सक्ने आक्रमणबाट जोगिने अभ्यास गराए । किशोरीहरूलाई कसैले धम्क्याएर बलात्कार प्रयास गरे तत्काल प्रत्याक्रमण गरी उम्कन सक्ने प्रशिक्षण दिइएको थियो । तालिमको बीचबीचमा विभिन्न क्षेत्रका व्यक्तिले सुरक्षासम्बन्धी प्रवचन पनि दिएका थिए ।

बलात्कार र यौनहिंसाका घटना बढेसँगै किशोरीहरुलाई आत्मरक्षा तालिमको लहरै चलेको छ । प्रशिक्षित किशोरीहरु टोलटोल र विद्यालय पुगेर अन्य किशोरीलाई बलात्कारको
प्रतिकार गर्न सिकाउँदै छन् । आवश्यक शारीरिक अभ्याससमेत गराउँदै छन् । तालिमपछि किशोरीहरुले मनोबल बढेको अनुभूति गरेका छन् ।


प्रा. हेमराज पन्त, प्रदेशसभा सदस्य पूर्णा जोशी, धनगढी उपमहानगरकी उपप्रमुख सुशीला भट्ट, अधिकारकर्मी गीता सोडारीलगायतले प्रवचन दिएका हुन् । ‘प्रेरणादायी प्रवचनले निकै उत्साही बनायो,’ सहभागी रचना शाहीले भनिन्, ‘यो प्रशिक्षण हाम्रा लागि दुर्लभ अवसरजस्तै महसुस भयो ।’


कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि यस क्षेत्रमा महिला सुरक्षाको विषय जोडतोडले उठदै आएको छ । यसै बेला धनगढीमा स्कुले किशोरीलाई लक्षित गरी आत्मरक्षा तालिम सञ्चालन गरिएको हो । निश्चित कोटा तोकिएको तालिममा सहभागी हुन इच्छुक किशोरीको तँछाडमछाड भयो । सहभागितापछि यौन हिंसाको प्रतिकार गर्ने मनोबल र ज्ञान बढेको अर्की किशोरी ममता चन्दले बताइन् । ‘तालिमपछि किशोरीहरूमा आत्मबल निकै बढेको देखियो,’ प्रदेशसभा सदस्य जोशीले भनिन् ।


सहभागीको संख्या आयोजकले निर्धारण गरेभन्दा दोब्बर पुग्यो । ‘एक हजार किशोरीलाई प्रशिक्षण दिने योजना बनाएका थियौं, २ हजार १ सय ८६ जना पुगे,’ राष्ट्रिय गोजुरियो कराँते डो संघका महासचिव प्रकाश चन्दले भने । तालिम धनगढी रंगशालामा बिहान–बेलुका दुई–दुई घण्टा चलाइएको थियो । संघका अनुसार सन् २०१६ मा भारतको तमिलनाडु प्रहरीले ६ हजार महिलालाई यस्तै तालिम दिएको थियो ।

‘उक्त तालिम हालसम्मकै सबैभन्दा ठूलो मानिन्छ,’ संघकी केन्द्रीय सचिवसमेत रहेकी थापाले भनिन् । आयोजकले सहभागीमध्ये उत्कृष्ट १ सय ५० जनालाई प्रशिक्षकका रूपमा छनोट गरेका छन् । उनीहरूलाई थप सिकाएर वडा र टोल तहमा तालिम दिन खटाउने योजना रहेको महासचिव चन्दले बताए । सातवटै प्रदेशमा यस्ता तालिम सञ्चालन गरिने संघले जनाएको छ । ‘त्यसपछि काठमाडौंमा १० हजार महिलालाई एकसाथ तालिम दिने योजना छ,’ थापाले भनिन् ।


प्रतिकार सिक्दै
बैतडीमा पनि किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको छ । तीनदिने तालिममा पाटन नगरपालिकाका महिला र बालिका सहभागी थिए । महिलामाथि हुन सक्ने हिंसा तथा बलात्कार प्रतिकार गर्न सिकाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए ।


सहभागीलाई कुरोदय मार्शल आर्ट एसोसिएसनका महासचिव सुरेन्द्र विष्टले प्रशिक्षण गराएका थिए । किशोरीमाथि यौन हिंसा बढेपछि न्यूनीकरण तथा रोकथामका लागि उक्त तालिम दिइएको उनले बताए । ‘किशोरीमाथि हुने यौन दुव्र्यवहार, बलात्कार र यौन हिंसाका घटना न्यूनीकरण गर्न प्रशिक्षणले ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।


तालिममा सहभागी पूजा लिम्बूले तालिमबाट धेरै कुरा सिकेको बताइन् । उनले भनिन्, ‘मैले आफू कसरी सुरक्षित हुने, कसैले आक्रमण गर्न खोजे कसरी प्रतिकार गर्ने भन्ने सिकें ।’ यस्तो प्रशिक्षण क्रमश: जिल्लाका सबै ठाउँमा लगिने भण्डारीले बताए । ‘३ सय किशोरीलाई तालिम दिएका छौं । उनीहरू पनि अन्य ठाउँमा गएर सिकाउन सक्छन्,’ उनले भने, ‘स्थानीय तहसँग समन्वय गरेर अन्यत्र पनि कार्यक्रम लैजान्छौं ।’


अभिभावकको चासो
पश्चिम नवलपरासीको देवकोटा बहुमुखी क्याम्पस । २० वर्षीया प्रतिमा चौधरी शुक्रबार विद्यार्थीमाझ अनुभव सुनाउँदै थिइन् । यौन हिंसा भइहाले कसरी प्रतिकार गर्ने ? आफूमाथि बलात्कार प्रयास भए कसरी जोगिने ? किशोरीहरू जान्न उत्सुक थिए । चौधरीले उनीहरूलाई बलात्कारबाट जोगिने शारीरिक अभ्याससमेत गराइन् । रामग्राम ८ की उनले पनि एक वर्षअघि आत्मरक्षा तालिम लिएकी थिइन् ।


त्यसअघि केही गैरसरकारी संघसंस्थाको पहलमा यस्ता कार्यक्रम गरिए पनि कसैले चासो दिँदैनथे । पछिल्लो समय बलात्कार घटना शृंखलाबद्ध रूपमा आएपछि भने अभिभावकको पनि ध्यान आकर्षित भएको छ । अहिले विद्यालय, कलेज तथा टोलटोलमै यस्ता तालिम चलाइँदै छन् ।


तालिम प्राप्त युवती/किशोरीहरू अरूलाई सिकाउन खटिइरहेका छन् । सार्वजनिक स्थानमा उभिएर बोल्न डराउनेहरू अहिले प्रशिक्षकका रूपमा जनचेतनामूलक कार्यक्रम र शारीरिक अभ्यास गराउँदै छन् । ‘पहिले अरूले केही भन्लान्, दुव्र्यवहार गर्लान् कि भनेर डर लाग्थ्यो । प्रतिरोध गर्ने आत्मविश्वास थिएन,’ प्रतिमाले भनिन्, ‘अहिले महिला हिंसाको मनोवैज्ञानिक असर तथा बलात्कार रोक्न शारीरिक तथा मनोवैज्ञानिक सचेतना फैलाउनुपर्छ भन्ने ज्ञान मिलेको छ । भवितव्य आइहाले त्यसलाई शारीरिक र मानसिक रूपमा प्रतिकार गर्न मजस्ता सयौं किशोरी तयार भएका छन् ।’


जिल्लाका सयौं किशोरी यस अभियानमा लागिपरेका छन् । उनीहरूलाई अभिभावक र किशोरहरूको पनि साथ छ । जिल्लाका सातै स्थानीय तहमा अभियान प्रभावकारी देखिएको बाल अधिकारका लागि राष्ट्रिय अभियान प्रदेश ५ का संयोजक रञ्जित शर्माले बताए ।‘अभियानमा हामीले पनि हातेमालो गरेका छौं,’ उनले भने, ‘अभियानले जनचेतना अभिवृद्धिका साथै नकारात्मक सोच बोकेकालाई पनि सही बाटोमा डोर्‍याउन सहयोग पुग्नेछ ।’


बर्दघाट नगरपालिका ४ का देवीदत्त उपाध्यायले आत्मरक्षा तालिमको सबैभन्दा राम्रो पक्ष नै मनोबल बढाउने रहेको बताए । अधिकांश किशोरी तथा महिलामा समाजको डर र पुरुषभन्दा हामी कमजोर छाैं भन्ने मानसिकताका कारण प्रतिवाद गर्ने आँट नरहेको उनलाई लाग्छ । ‘यो अभियानले किशोरीको आत्मबल बढाएको छ,’ उनले भने, ‘केही शारीरिक प्रतिरक्षाको समेत ज्ञान भएपछि उनीहरू समस्या परिहाले पनि उम्कन सक्छन् ।’

प्रकाशित : आश्विन २७, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?