अचाक्ली महँगी

दसैं नजिकिएसँगै डेढ महिनायता मात्रै दैनिक उपभोग्य वस्तुमा कम्तीमा १५ प्रतिशत मूल्य बढेको छ ।
राजु चौधरी

काठमाडौँ — माग र बिक्री बढ्ने मौकाको फाइदा उठाउँदै व्यवसायीले दसैंमा खाद्यान्न, लत्ताकपडा लगायतका उपभोग्य वस्तुको मूल्य बढाएका छन्  । अहिले सबै क्षेत्रमा कम्तीमा १५ प्रतिशतले मूल्य बढेको सरोकारवाला बताउँछन्  ।

अचाक्ली महँगी

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले १५ प्रतिशत मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेर ‘उपहार’ दिएको बताए । सरकारले यातायातको सिन्डिकेट तोडेको दाबी गरे पनि १० प्रतिशत भाडा वृद्धि भएको छ । भुक्तभोगीका अनुसार ब्ल्याकमा समेत टिकट बिक्री भइरहेको छ ।

व्यापारी संगठित छन् भने सबै क्षेत्रमा मूल्य वृद्धि भएपछि उपभोक्ता निरीह बनेका छन् । बजार अनुगमनको जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर विभाग, यातायात विभाग मौन छन् ।


आपूर्ति र खाद्य प्रविधि विभागले बेलाबेला अनुगमन गरे पनि उपभोक्ताले अनुगमनको अनुभूति पाएका छैनन् । व्यवसायीहरूले आपूर्ति विभागमा पठाएको विवरणअनुसार डेढ महिना अवधिमा बास्मती चामलमा प्रतिकिलो ५ रुपैयाँ बढेर १ सय २० रुपैयाँमा बिक्री भएको छ । आँटामा प्रतिकिलो ७ रुपैयाँ बढेको छ । मैदामा ५ रुपैयाँ, सुजीमा १० रुपैयाँ, ताइचिन चिउरामा ५ रुपैयाँ बढेको छ ।

यस्तै, चना मसला किलोमा ५ रुपैयाँ, केराउमा ५ रुपैयाँ, तोरी तेलमा १० रुपैयाँ, भटमास तेलमा प्रतिलिटर ५ रुपैयाँ र सनफ्लावर तेलमा ५ रुपैयाँ बढेको छ । खसीको मासुमा ४५ रुपैयाँ वृद्धि भएको छ । अधिकांश खाद्यान्नको भाउ अकासिए पनि खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य भने तेल, मैदा र आँटाबाहेक अन्यमा नबढेको दाबी गर्छन् ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले तेलको मूल्य बढेको छ । आँटा, मैदाको हकमा सरकारले भ्याट रिफन्ड हटाएपछि केही महँगो भएको हो,’ उनले भने । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि तेल, मैदा र आँटा बाहेकको मूल्य नबढेको दाबी गरे । ‘हामीले १५/१५ दिनमा मूल्य सूची उपलब्ध गराएका छौं,’ चेम्बर अफ कमर्शका आपूर्ति सभापतिसमेत रहेका उनले भने, ‘मूल्य बढेको छैन । तर, खुद्राले बढाएको भए जानकारी छैन ।’

धानको सिजन सुरु भएकाले मूल्य वृद्धि नभएको उनको दाबी छ । गेडागुडीमा भने ७/८ प्रतिशतले बढेको उनले बताए । यस्तै, तरकारी तथा फलफूलको मूल्य पनि ७१ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माग अत्यधिक भएकाले केही मात्रामा बढेको दाबी गरे । उनका अनुसार तरकारीमध्ये मुख्यत: गोलभेंडामा मूल्य बढेको छ ।

‘गोलभेंडाको सिजन होइन, त्यसैले मूल्य ह्वातै बढेको छ,’ उनले भने, ‘अन्य तरकारीको हकमा मूल्य वृद्धि सामान्य हो ।’

विभागका अधिकारीहरूका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार मात्र अनुगमन र कारबाहीको काम हुन्छ । जसले गर्दा अनुगमन प्रभावहीन बन्दै गएको हो । ‘अनुगमन गर्न जाँदा सबै डिटेल जानकारी दिनुपर्छ । मन्त्रालयको स्वार्थमा अनुगमन हुँदा प्रभावकारी हुन सकेन,’ ती अधिकारीले भने ।


स्थानीय सरकारले विभिन्न शीर्षकमा कर लगाएपछि खसीबोकाको मूल्यसमेत महँगो भएको छ । चौपाया व्यवसायी संघ कलंकीका अनुसार भन्सार र नगरपालिका/ गाउँपालिकाहरूले छुट्टाछुट्टै कर लगाएपछि विगतको तुलनामा महँगो परेको हो ।

‘करले किलोमै १०० रुपैयाँभन्दा बढी बढेको छ,’ संघका अध्यक्ष भानु पराजुलीले भने । यता, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन अनुगमन तीव्र बनाएको दाबी गर्छन् । दसैंमा सबै क्षेत्रमा आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए । ‘चिनीको विषय बढी चर्चामा रहेकाले अनुगमन टोलीलाई चिनीमा केन्द्रित गर्‍यौं,’ उनले भने, ‘आज (शुक्रबार) बाट थप ७ टोली बजारमा खटाएका छौं ।’

विभागका अनुसार तुलनात्मक रूपमा बढी समस्या देखिएका खाद्यान्न, लत्ताकपडा, माछा, मासु, औषधिलगायतका क्षेत्रमा अनुगमन केन्द्रित हुनेछ । बजार अनुगमनका लागि जनशक्तिको कमी भएपछि विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग ३० कर्मचारी माग गरेको छ । तीमध्ये करिब आधा कर्मचारी उपस्थित भइसकेको विभागले जनाएको छ । ‘अनुगमन विशेष भनेका छौं,’ उनले भने, ‘यो निरन्तर ३ महिनासम्म चल्छ ।’

अमेरिकी डलर बलियो हुँदा बजारमा अन्य सामानको पनि मूल्य बढेको छ । ‘तेस्रो मुलुकबाट आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्छ । यसले गर्दा बजारभाउ स्वत: बढ्छ,’ पूर्ववाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले भने, ‘यही मौकामा व्यवसायीहरूले कार्टेलिङ गरेर मूल्य बढाएका छन् ।’

अमेरिकी डलर ३ महिनायता लगातार बढेको छ । हाल डलर १ सय १८ रुपैयाँमा कारोबार भइरहेको छ । डलर बढ्दा नेपालजस्तो आयातमुखी मुलुकमा महँगी थप बढ्ने ओझाको दाबी छ । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ७१.८९ अमेरिकी डलर छ । यो बढ्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा भारतमा असर पर्छ । त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने ओझाले बताए ।

‘भारतसँगको निर्यात/आयातमा ठूलो खाडल छ । इन्धन भारतबाटै खरिद गर्ने हुँदा प्रत्यक्ष असर पर्छ,’ उनले भने । इन्धनको मूल्य बढ्दा ढुवानी भाडा बढ्छ । ढुवानी भाडा वृद्धिले खाद्य तथा उपभोग्य वस्तुको मूल्य बढ्ने जानकारहरू बताउँछन् ।

मन्त्रालयका प्रवक्ता नवराज ढकालले बजार अनुगमन तीव्र बनाउन निर्देशन दिएको बताए । ‘आपूर्तिबाहेक अन्य विभागलाई पनि अनुगमन तीव्र बनाउन निर्देशन दिएका छौं । व्यवसायीहरूको छाता संगठनलाई पनि आग्रह गरेका छौं,’ उनले भने, ‘अनुगमनका क्रममा कैफियत भेटिए कानुनी कारबाही गर्छौं ।’

प्रकाशित : आश्विन २७, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?