राजमार्गमा तालिम प्राप्त कुकुरसहितको चेकिङ

प्रताप विष्ट

हेटौंडा — चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पूर्व–पश्चिम राजमार्गमा तालिम प्राप्त कुकुरसहितको जाँच थालिएको छ । प्रदेश प्रहरी कार्यालयमा रहेका दुई तालिम प्राप्त कुकुरको प्रयोग गरेर प्रहरीले अवैध कारोबार र आपराधिक गतिविधिलाई नियन्त्रणको प्रयास गरेको हो ।

राजमार्गमा तालिम प्राप्त कुकुरसहितको चेकिङ

प्रदेश प्रहरी कार्यालयबाट ल्याइएका लागु औषध र हातहतियार खरखजनासम्बन्धी तालिम प्राप्त कुकुरको प्रयोग गरेर पूर्वपश्चिम राजमार्गको प्रदेश २ र ३ को नाका चुरियामाईमा जाँच थालेको हो । चाडपर्वको समयमा आपराधिक गतिविधि हुनसक्ने र राजमार्गमा लुटपाटसमेत हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजनाको साथ काम गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अनोजजंग रायमाझीले बताए । रायमाझीको कमाण्डमा प्रदेश प्रहरीको तालिम प्राप्त कुकुर र प्रहरी परिचालन गरेर सुरक्षाको लागि काम गरिएको छ ।


राजमार्गमा हुने लुटपाटलगायत आपराधिक घटना नियन्त्रण गर्नका लागि बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकबाट रात्रि बसमा तीन जना प्रहरी चढेर सीमा पार गराउने काम थालिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रात्रिबसमा सुरक्षार्थ खटिने ७२ जना प्रहरीको ८ वटा टिम बनाएको छ । बैंकलगायत वित्तीय क्षेत्र भएको स्थान र हेटौंडा बजार क्षेत्रमा २४ सै घन्टा प्रहरी परिचालन गरिएको छ ।


सुरक्षालाई मध्यनगर गर्दै मकवानपुर प्रहरीले मोटरसाइकल र गाडीमा ५२ जनाको ‘क्विक रेस्पोन्स’ टोली बनाएको छ । टोली २४ सै घन्टा तयारीमा रहने गरी मोटरसाइकल र पैदल गस्ती १९ वटा परिचालन हुने छन् । प्रहरीको पिकेट जिल्ला भरी गरी ३२ वटा रहने कार्यालयले जनाएको छ । चाडबाडलाई लक्षित गरेर सुरक्षाका लागि ६ सय ८२ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रकाशित : आश्विन २७, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?