२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'हिमआँधीले टेन्ट नै उडाउँदा ९ को मृत्यु'

घनश्याम खड्का

काठमाडौँ — स्थित गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको हिमआँधीमा परेर मृत्यु भएको छ  । मृत्यु भएकामा ४ नेपाली र ५ कोरियाली छन्  ।

'हिमआँधीले टेन्ट नै उडाउँदा ९ को मृत्यु'

स्थित गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको हिमआँधीमा परेर मृत्यु भएको छ । मृत्यु भएकामा ४ नेपाली र ५ कोरियाली छन् । आठ वर्षपछि गुर्जा आरोहणमा आएको पहिलो टोली दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार मृत्यु भएकामा कोरियाली पर्यटक लिएर गएका संखुवासभाको हटियाका छिरिङ भोटे, भोटेखोलाका लाक्पा सोङबु भोटे, फर्बु भोटे र म्याग्दी, गुर्जाका नेत्रबहादुर छन्त्याल छन् । दक्षिण कोरियाका जोहोन ली, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङको पनि मृत्यु भएको छ ।

गुर्जा आरोहणमै आएका हङ जिन च्योय, उनका गाइड लाक्पा शेर्पा र राजन भोटेको नेतृत्वमा रहेका ७ फ्रान्सेली, २ स्विस तथा एक क्यानेडियन पर्यटकको टोली भने सुरक्षित छ । टोलीले गुर्जाछेउकै गुस्तुङ साउथ हिमाल आरोहण गर्दै छ ।


गुर्जामा रहेका गाइड लाक्पा शेर्पाले दुई पाहुनामध्ये ७७ वर्षीय हङ जिन च्योय बेसक्याम्पदेखि अन्दाजी तीन घण्टा तलै बिरामी परेपछि बिहीबार फिर्ता भएको जनाए । ‘सोही राति पहिलो आधार शिविरमा दुर्घटना भएछ,’ उनले भने, ‘शुक्रबार बिहान सम्पर्क नभएपछि स्थानीयसहितको टोली खोज्न जाँदा दुर्घटना भएको पत्ता लागेको हो ।’ घटनास्थल करिब ४ हजार ५ सय मिटर उचाइमा छ । डिलमा टेन्ट टाँगेर बसेका बेला आएको आँधीले उनीहरूलाई उडाएर भीरतर्फ लगेको थियो । हिमपहिरोका कारण आँधी आएको अनुमान छ ।

कोरियाली टोली असोज १५ गते बेनीको होटल डल्फिनमा बास बसी २१ गते गुर्जा पुगेर २२ गते बेसक्याम्पतर्फ लागेको थियो । २४ गते टोली बेसक्याम्प पुगेको थियो । २६ गते बिहान बीचबाटै फर्केका लाक्पासँग बेसक्याम्पमा रहेको टोलीको सम्पर्क नभएपछि वडाध्यक्ष झकबहादुर छन्त्यालसहित गुर्जावासी खोजीका लागि गएको थियो ।

उनीहरू बेसक्याम्प पुग्दा दुर्घटना पुष्टि भएको थियो । ‘शुक्रबार बिहान उज्यालो नहुँदै दुई दिनको बाटो एकै दिन हिँडेर बेसक्याम्पछेउ पुग्यौं । त्यहाँ टेन्ट र शवहरू छरिएका थिए । हामीले राति नै गाउँ झरेर उद्धारका लागि हेलिकप्टर बोलाएका हौं,’ छन्त्यालले भने, ‘बेसक्याम्पमा हिउँ परेको थिएन, पहिरो पनि थिएन । सम्भवत: हिमआँधीले उडाएको हुन सक्छ ।’

सबैभन्दा नजिकको ताकम प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ परिचालन भएको डीएसपी वीरबहादुर बुढाले जानकारी दिए । दुर्घटनाको पुष्टि भएपछि शनिबार बिहान सिम्रिक एयरका हेलिकप्टर दुईपटक घटनास्थल पुगे पनि शव ल्याउन सकेन । शनिबार एक्स्पर्ट रेस्क्यु टिम लगिएको ट्रेकिङ क्याम्प नेपालले जनाएको छ । हेलिकप्टरबाट घटनास्थल पुगेर फर्केका प्रत्यक्षदर्शी समप्रसाद छन्त्यालका अनुसार आँधीले क्याम्प राखेको स्थानबाट मान्छेहरूलाई सय मिटरसम्म पर पुर्‍याएको छ । प्राय: सबैको शव भीरमा अल्झेको र खोंचमा खसेको छ ।

धौलागिरि हिमशृंखलाको पश्चिमछेउमा चुरेन, पुथा, गुस्तुङपश्चिम, म्याग्दीमाथा र गुर्जा हिमटाकुरा छन् । तीमध्ये गुर्जा हिमाल सबैभन्दा अग्लो ७ हजार १ सय ९३ मिटर छ । गुर्जा र छेउको गुस्तुङ हिमाल चढ्न तीन समूहमा पर्यटक आएपछि ६० जना गुर्जावासीले भरियाको काम पाएका थिए ।

प्रकाशित : आश्विन २८, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?