चक्र बाँस्तोला : दृढ अडान भएका नेता

कुलचन्द्र न्यौपाने

काठमाडौँ — राजनीति सिधा रेखाबाट चल्दैन भन्ने भनाइ कांग्रेस नेता चक्र बाँस्तोलाको हकमा पनि लागू हुन्छ । ०२६ सालतिर अध्ययनका लागि उनी भारतको वनारस पुगे । त्यहाँ उनको भेट प्रदीप गिरीसँग भयो । प्रदीप र उनी बनारस हिन्द विश्वविद्यालयका ‘क्लास’ मेट  हुन् ।

चक्र बाँस्तोला : दृढ अडान भएका नेता

गिरीकै पदचाप पछ्याउँदै उनको सम्पर्क बीपी कोइरालासँग हुन पुग्यो । राजनीतिमा रस पस्दै थियो, पछि बीपीका भान्जी शैलजा आचार्यकी बहिनी मधुसँग बिहे भयो । राजनीतिक माहोलले झनै तान्न थाल्यो ।


०२८ सालमा कांग्रेसले सशस्त्र क्रान्तिको घोषणा गर्‍यो । तर, क्रान्ति अघि बढाउन पार्टीसFग आर्थिक अभाव थियो । त्यही बेला नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर उड्न लागेको विमान अपहरणको योजना बन्यो । त्यसको योजनाकार र अपहरणमा आफैं संलग्न थिए, दुर्गा सुवेदी । सुवेदीका अनुसार बाँस्तोलालाई अपहरणबाट लुटिएको पैसा सुरक्षित राख्न र गाडीको बन्दोबस्त गर्ने जिम्मेवारी गिरिजाप्रसाद कोइरालाले दिएका रहेछन् । ‘मलाई बाँस्तोलाले यस्तो जिम्मेवारी लिनु भएको छ भन्ने पूर्व जानकारी थिएन, पछि मात्रै थाहा भएको हो’ सुवेदी सम्झन्छन्, ‘त्यही काण्डमा उहाँमाथि भारत सरकारले मुद्दा चलायो । पक्राउ पर्नु भयो । विहारको पुर्निया जेलमा ६ महिना बसेर निस्कनु भयो ।’


जेलबाट निस्के पनि मुद्दा फिर्ता भएन । ०४८ सालको आम निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बने । बाँस्तोलाले चुनाव हारेका थिए । अनि उनलाई भारतका लागि नेपाली राजदूत बनाइयो । विमान अपहरण काण्डको मुद्दा कायम रहँदारहँदै राजदूत बनाएको भनेर भारतीय पक्षबाट असन्तुष्टि प्रकट भयो । ‘मुद्दा भएको मान्छेलाई कसरी राजदूत बनाउने भन्ने प्रश्न उठ्न थाल्यो । गिरिजाबाबुले विमान अपहरणमा मेरै संलग्नता थियो । म प्रधानमन्त्री छु । भारत भ्रमणमै आउँदै छु । कि मलाई पनि मुद्दा लगाउनु पऱ्यो भन्ने भनाइ राखेपछि त्यो मुद्दा खारेज भयो’ कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य सम्झन्छन् ।


कोइराला परिवारसँगको सम्बन्धमा पनि उनको उत्तरचढाब रह्यो । सुरुआती समयमा नाताले कोइराला परिवारसँग निकटता बढे पनि उनको बौद्धिक क्षमता र तर्कप्रति बीपीसमेत प्रभावित थिए । उनले आफ्नै आत्मवृत्तान्तमा त्यसबारे उल्लेख गरेका छन् । ‘नाताको भन्दा पनि बौद्धिक कार्यकर्ताको रुपमा उहाँ परिचित हुनुहुन्थ्यो’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन, ‘बीपी र जीपीसँग जस्तो सुकै विषयमा पनि राय बझाउन सक्ने बौद्धिक क्षमता भएको थोरै नेतामा बाँस्तोलाजी पर्नुहुन्थ्यो ।’


निर्वासनमा बस्दा कार्यकर्ता परिचालन गर्ने, तरुण पत्रिका निकाल्ने भूमिकामा समेत उनी देखिए । स्वदेशमा रहँदा ०४६ सालको आन्दोलनमा उनको अग्रणी भूमिका थियो । राजनीतिक दस्तावेज बनाउनेलगायत बौद्धिक कामको भूमिकामा रहेको आचार्य थप्छन् । ‘मैले उहाँलाई गणेशमानजीको निवास चाक्सीबारीमा ०४६ सालको जनआन्दोलनका लागि भएको राजनीतिक भेलाबाट चिनेको हुँ’ आचार्यले भने, ‘वामपन्थीसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल चल्दै थियो । चक्रजी राजनीतिक दस्तावेज बनाउनेदेखि महत्वपूर्ण कागजात आदानप्रदान गर्ने मुख्य भूमिकामा देखिनुहुन्थ्यो, त्यसपछि नै मेरो उहाँसँगको निकटता बढेको हो ।’


राजदूत नहुँदासम्म बाँस्तोलको सम्बन्ध बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद सबैसँग राम्रो थियो । ‘जब राजदूत बनेर जानु भयो त्यसपछि उहाँको झुकाव कोइराला परिवारप्रति देखियो’ सुवेदी भन्छन्, ‘यद्यपि उहाँ र्‍यासनल मान्छे हो । नबुझिकन, छलफल नगरी बोल्नु हुन्थेन । राजनीतिमा पनि उहाँको प्रवेश बुझेर नै भएको थियो ।’


गिरिजाप्रसादले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सुरुआती भूमिकामा बाँस्तोलालाई अघि सारेका थिए । दिल्लीमा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको पहिलो भेटमा गिरिजाप्रसादले बाँस्तोलालाई साथमा लिएका थिए । त्यसपछि विस्तारै यो प्रकृयामा झापाकै कृष्णप्रसाद सिटौला ‘इन’ भए । सिटौला निरन्तर गिरिजाप्रसादको सबैभन्दा विश्वासी नेताको रुपमा रहे । तर, बाँस्तोला भने कोइराला परिवारबाटै टाढिंदै गए ।


पूर्व महामन्त्रीसमेत रहेका सिटौला विचारमा प्रस्ट र दृढ भएको नेताको रुपमा बाँस्तोलालाई लिन्छन् । क्षमता हुँदाहुँदै पनि दृढ अडान र प्रस्ट विचारकै कारण पार्टीभित्र सोचेभन्दा माथि आउन नसकेको कतिपय नेताहरुको बुझाई छ । यद्यपि उनी पार्टीमा केन्द्रीय सदस्य र ०५६ पछि परराष्ट्रमन्त्रीसमेत बने । ‘राष्ट्र र पार्टीसामु आएका कुनै पनि मुद्दामा उहाँ कहिल्यै अनिर्णयमा रहनु भएन’ सिटौला भन्छन्, ‘नेपालको लोकतान्त्रिक संघर्षमा उहाँको जीवनशैली अनुकरणीय छ ।’


सक्रिय राजनीतिका पछिल्ला समय गिरिजाप्रसाद र सुशील कोइरालाको कार्यशैलीलाई लिएर बाँस्तोलामा असन्तुष्टि चुलिएको थियो । पार्टीमा विचलन आएको, विचारले भन्दा गुटले प्रधानता पाएको भन्दै उनले १२ औं महाधिवेशनमा कोइराला परिवारको साथ छाडे, जतिबेला सुशील सभापतिका प्रत्यासीसमेत थिए । उनले सुशीललाई सघाएनन् । त्यतिबेलै तेस्रो धारको रुपमा जन्मिएको भीमबहादुर तामाङको नेतृत्वमा गठित वैचारिक समूहतिर उनी जोडिन पुगे । उक्त समूहबाट सभापतिमा तामाङ (तामाङको केही वर्षअघि निधन भइसकेको छ) महामन्त्रीमा नरहरि आचार्य र केन्द्रीय सदस्यमा उनीसहितको प्यानल थियो । वैचारिक समूहबाट उठेका कसैले जितेनन् । केन्द्रीय सदस्यमै उनी पराजित भए ।


‘हामीले त त्यतिबेला सभापति नै उठाउन खोजेका थियौं, तर उहाँले तपाईंहरुलाई सहयोग गर्छु म उठ्दिनँ भन्नु भयो र सहयोग पूर्णरुपमा वैचारिक समूहलाई नै गर्नुभयो’ पार्टी केन्द्रीय सदस्य आचार्यले थपे, ‘गिरिजाप्रसाद सभापति र सुशील कोइराला कार्यवाहक सभापति हुँदाका क्षण पार्टी चलिरहेको छैन भन्ने बुझाई उहाँको थियो । तर, झन्डा बोकेरै असन्तोषको स्वर बाहिर ल्याउने काम भने कहिल्यै गर्नुभएन ।’


झापा बुधबारेका मध्यम जमिनदार कृष्णलालका कान्छा छोरा थिए, चक्र । उनले वनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका थिए । चार दशक उत्तरचढाबपूर्ण सक्रिय राजनीति गरेपनि पछिल्ला अवधि उनी गुमनाम भए । ०६९ पुस १४ गते मष्तिकघात भएदेखि नै उनको राजनीतिक यात्रामा पूर्णविराम लागेको थियो । शनिबारबाट भने सदाका लागि संसारिक दुनियाँबाट बिदा भए ।


प्रकाशित : आश्विन २८, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?