३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

घरैपिच्छे जोर भेडा

आनन्द गौतम

उकालीपानी, ताप्लेजुङ — उकालीपानीका देवराज गुरुङ १९ वर्षको उमेरमा बाबुआमाबाट छुट्टिए  । हजुरबुवा–हजुरआमाले नाति र नातिनी बुहारीसँग बस्ने इच्छा देखाएपछि बाबुले आफ्ना बाबुआमाको हेरचाहको जिम्मा देवराजलाई दिए  ।

घरैपिच्छे जोर भेडा

अलग चुलामा धूवाँ बलेका दिन खाना खानुअघि हजुरबुवा र हजुरआमा दुवैले देवराज दम्पतीलाई जीवन जिउने शैली बताए र अर्ति दिए । त्योमध्येको एक थियो, ‘प्रत्येक वर्ष पुस पहिलो सातासम्ममा भेडाको जोर पाठा किन्नु, एउटाले दसैंमा इष्टमित्र बोलाएर चाड मान्नु अर्कोले बीउ जगाउनु ।’


अर्ति दिने हजुरबुवा–हजुरआमा दुवै बिते । ३३ वर्षीय देवराजले उनीहरूले सिकाएको अर्ति पछ्याउन छाडेका छैनन् । यो वर्ष पनि उनको खोरमा जोर भेडा छन् । एउटाले द्वादशीको दिन इष्टमित्रसँग बसेर चाड मान्छन् । अर्को मंसिरमा बिक्री गर्छन् । त्यसबाट आएको पैसाले अर्को सालका लागि जोरपाठा किन्छन । यसरी जोर भेडा पाल्ने उनीमात्र होइनन् । छिमेकी प्रवीण गुरुङले पनि यसरी नै पालेका छन् । यहाँका १८ गुरुङ परिवारका घरमा दुईवटा भेडा छन् । सबैले गर्ने त्यही हो ।


‘हाम्रो एकाघरका दाजुभाइ १८ परिवार छौं । दसैंमा प्रत्येक घरमा भेला हुन्छौं । एउटा भेडा सामूहिक भोजका लागि पुग्छ र दसैंमा आउने पाहुनालाई पनि त्यसले पुर्‍याउँछौं । अर्को भेडा मंसिर लागेपछि बिक्री गर्छौं र त्यसको आम्दानीले जोरपाठा किन्छौं,’ जोर भेडाको प्रयोगका विषयमा देवराजले भने, ‘चाड पनि मान्छौं र बीउ पनि जोगाउँछौं ।’


आधुनिकतासँगै धेरै परम्परा संस्कृति मासिए पनि यो भने अहिलेसम्म कायम रहेको उनले सुनाए । कुनै एउटा घरले नगरे अर्कोले उसलाई निगरानी गरिरहने भएकाले पनि कायम रहेको उनी बताउँछन् । फुुङलिङ–६ का शिवकुमार गुरुङका अनुसार यो परम्परामा वैज्ञानिकता पनि छ । दुईवटा भेडा पालेपछि त्यसको ऊन वर्षमा तीन पटक काटिन्छ । यसले राडी बुन्न काम दिन्छ । एउटा भेडाको एक वर्षको ऊनले एउटा पाटे राडी बने त्यसले चार हजार रुपैयाँ आम्दानी गर्छ । भन्छन्, ‘राडी बेचेको पैसाले दसैं खर्चका लागि पनि सहयोग पुग्छ ।’


गुरुङ परिवार कसैले पनि भेडा किनेर नकाट्ने उनीहरू बताउँछन् । मंसिरमा हुने विवाहमा भेडाको खोजी अधिक हुन्छ । मंसिरमा किनेर विवाहका लागि माघ–फागुनसम्म पनि राख्ने गरिन्छ । जोरपाठाको अहिले १८ हजार रुपैयाँसम्म पर्छ । वर्ष दिन पालेर बिक्री गर्ने भेडाले पनि १६ हजारदेखि २२ हजार रुपैयाँसम्म साट्छ । ‘दाना धेरै दिएर पाल्नेको सप्रिन्छ धेरै साट्छ, घाँसपानी कम भए कम साट्छ,’ प्रेम गुरुङले भने ।


आफूले जान्दादेखिको यो संस्कारले पारिवारिक मिलन पनि गराएको ८६ वर्षीया सोममाया गुरुङ बताउँछिन् । ‘कहिलेकाहीं कर्म गर्दा छरछिमेक आफन्तमा झगडा, विवाद भएको हुन्छ, दसैंमा सबैजना भएका बेला छलफल गरेर मिलाइदिन्छन्,’ सोममायाले थपिन्, ‘कसले कति न्याय, अन्याय गर्‍यो भनेर पनि दाजुभाइले बसेर छलफल गर्छन् ।’ घरको ठूलोदेखि सानोसम्म सबै अनिवार्य भेला हुने भएकाले खानाको जस्तै कुराको पनि मिठोमसिनो हुने र माझिने सोममाया बताउँछिन् । यो बेला कसको छोरा कत्रो भयो, कहाँ के गर्दैछ भनेर जानकारी हासिल हुने गरेको छ ।


हुर्कंदै गरेकाहरूले पनि आफ्नो आफन्त चिन्ने मौका भएको शिव बताउँछन् । भेला हुँदा बालबालिकालाई आफ्ना मान्यजनलाई आदर गर्न लगाउने प्रचलन पनि छ । कसैले अरूप्रति अनादर गरेको भए यहीबेला तैंले त्यो गल्ती गरिस्, त्यसो गर्नु हुँदैन भनेर सम्झाउने गरेको शिव बताउँछन् । परम्परागत संस्कार जस्तै भएकाले यसरी सम्झाउन कुनै कठिन नभएको उनको दाबी छ ।


प्रकाशित : आश्विन २९, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?