रैथाने प्रजाति जोगाउने रहर

साखिनी, प्वाँख उल्टे र घाँटी खुइले हाम्रा गाउँघरमा पालिने कुखुराका रैथाने प्रजाति हुन् । बजारमा माग सधैं उच्च हुने भए पनि रैथाने प्रजाति पाल्ने तरिका अझै निर्वाहमुखी छ ।
भीम घिमिरे

पोखरा — लगानी र श्रम खन्याएर दुनियाँलाई छिटो फाइदा हात पार्न उत्साहित पार्नुपर्ने जमाना छ  । व्यावसायिक कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे जातमा बल गर्नुस्  ।

रैथाने प्रजाति जोगाउने रहर

अन्नबाली, तरकारी र माछा होस् वा पशुपक्षीपालन । जे गर्नुस् सिफारिसकर्ता छिटो फाइदा दिने विकासे जातै सुझाउँछन् ।


पोखरामा डाँडानाक नजिकै भित्री बाटोका राजेन्द्र अधिकारीको सल्लाह भने अलि फरक छ । उनी भन्छन्, ‘विकासे होइन लोकल पाल्नुपर्छ । तरिका पुर्‍याए लोकलबाट पनि मनग्गे फाइदा लिन सकिन्छ ।’ उनको कुखुरा फार्म गएर हेर्नेले विकासे कुखुरापालनको सोच बनाएका छन् भने पनि थालिहाल्नुअघि अवश्य सोच्छन् ।


‘ब्रोइलर जतासुकै पाइन्छ तर लोकलको स्वाद जिब्रोमा बसेकाहरूले सकेसम्म गाउँघरमा पालेकै कुखुरा खोज्छन्,’ उनी भन्छन्, ‘लोकल धेरैले व्यावसायिक तरिकाले पाल्दैनन् । पाले घाटा लाग्ने कुरै छैन ।’ अध्ययनका हिसाबले अधिकारी स्वास्थ्यकर्मी हुन् । लामो समयदेखि विकासे कार्यकर्ताका रूपमा गैरसरकारी संस्थामार्फत खानेपानी र सिँचाइका परियोजनाहरूमा काम गरिरहेका उनले देशका विभिन्न जिल्ला पुगेर भूगोलपिच्छे कुखुराका फरक–फरक रैथाने प्रजाति देखेका छन् ।


‘मेरो अध्ययनको विषय कुखुरा होइन तर योबारे बुझ्न रहर लागेदेखि तरिका पुर्‍याए फाइदा हुने नै देखेको छु,’ उनी भन्छन्, ‘हामीले अहिले गाउँघरमा पाल्ने गिरिराजजस्ता केही जात इन्डियाले विकसित गरेपछि भित्रिएको छ । खोज्दै गए हाम्रा आफ्नै रैथाने प्रजाति पनि कमका छैनन् ।’


थोरै पाल्ने, आफ्ना लागि खान मात्रै पाल्ने निर्वाहमुखी चलन छाडेर कुखुराका रैथाने प्रजाति पनि सन्तुलित आहारा र लाग्न सक्ने रोगव्याधिलाई ध्यान पुर्‍याएर पाल्न सक्दा राम्रो फाइदा लिन सकिने उनको भनाइ छ । ‘लोकल कुखुरा पाल्नेको न संगठन छ, न त जोगाउनुपर्छ भन्ने प्रभावकारी सरकारी कार्यक्रम,’ उनले भने, ‘ब्रोइलर र लेयर्स पाल्नेको लगानी ठूलो, दाना कारखानाको लबिङ । जमात ठूलो भएकाले विकासे जातका कुरा जसले पनि गर्न सजिलो छ । तर, म लोकल पालेर पनि फाइदा लिनसक्ने कुरा भन्छु ।’


त्यसो त अधिकारीले पनि विकासे जातका कुखुरा पाल्दै नपालेका भने होइनन् । २०७२ वैशाख १२ को भूकम्पअघिसम्म उनले पनि विकासे कुखुरा पालेका थिए । ‘त्यो बेला घाटा लागेको थियो । अनि यातायातको हडताल भो कि दाना चाहिने बेलामा नआइदिने समस्या भयो,’ उनले भने, ‘मैले पहिलेदेखि पनि लोकल जातमाथि प्रयोग गरिरहेकै थिएँ । भूकम्पपछि अब मसँग लोकल जातमात्रै छन् ।’


डाँडानाकको भित्री गल्लीमा रहेको उनको लेखनाथ पशुपक्षी ब्रिडिङ फार्ममा अहिले पनि हजार हाराहारी रैथाने प्रजातिका कुखुरा छन् । भालेमात्रै डेढ सय हाराहारी छन् । पत्नी र छोरीले काममा सघाएका छन् । फरक प्रजातिका भाले लगाएर प्रयोग गरिरहेका उनले तनहुँ, स्याङ्जा, लमजुङ आदि जिल्लामा पनि १८ फार्मसँग साझेदारीमा कुखुरापालन गरेका छन् । रैथाने प्रजाति पाल्न रहर गर्नेहरू चल्ला खोज्न उनको लेखनाथस्थित फार्ममा पुग्छन् । वरपर गाउँमा पालेकाहरूले अन्डा र कुखुरा बेच्न पनि उनैकहाँ ल्याउने गरेका छन् ।


‘साखिनी, प्वाँख उल्टे र घाँटी खुइले गरी ३ प्रजाति र यिनका क्रससहित अहिले मसँग ८ प्रकारका कुखुरा छन्,’ उनले भने, ‘हुन त सबै पशुपक्षी र मान्छेमा पनि हाडनाता ख्याल राख्नुपर्छ । कुखुरामा मैले भाले लगाउँदा हाडनातामा पार्दिनँ, त्यसले गर्दा प्रयोग सफल छ ।’ जहाँ ब्रोइलर कुखुरा खानयोग्य तौलको डेढ महिनामै हुन्छ, त्यहीँ लोकल भने ३ देखि ४ महिना लाग्ने उनले बताए ।


‘दाना सन्तुलित तरिकाले दिने, चिसो–तातो र रोगव्याधि ख्याल गरे लोकल प्रजाति पनि एउटै कुखुरो ८–९ किलोको बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘अहिले मेरोमा आएर, हेरेर, चल्ला लगेर पाल्नेहरूले पनि मनग्गे फाइदा लिन थालेका छन् ।’ कास्की, स्याङ्जा, पर्वत, बागलुङ, लमजुङ, म्याग्दी, मनाङ र मुस्ताङलगायत ट्रेकिङ रुट र होमस्टे सञ्चालित जिल्लाका व्यवसायीसँगै गाउँलेलाई रैथाने प्रजाति पाल्न सल्लाह दिइरहेको उनले बताए ।


‘हिजोआज लोकल पाल्नुस् भनेर चित्तबुझ्ने गरी सल्लाह दिने नै कोही भएनन्,’ उनी भन्छन्, ‘गाउँघरमा जति जोगिएका छन् त्यो गाउँलेले जानीनजानी पालेर जोगिएका हुन् ।’ जंगलमा हुने कुखुरालाई मानवीय सभ्यताको विकास क्रमसँगै घरपालुवा बनाइएको हो । जंगलमा हुर्केका भाले आफ्नो समूह छाडेर अर्को समूहमा जाने, त्यो समूहका भालेलाई लडाइँ गरी अन्तै धपाएपछि प्रजननमा हाडनाता नपर्ने विकास भइआएको उनी बताउँछन् ।


‘हामीले गाईभैंसी पालौं, भेडाबाख्रा वा कुखुरा,’ उनी भन्छन्, ‘हाडनातामा प्रजनन हुन नदिने हो भने पशुपक्षी स्वस्थ हुन्छन् । छिटो रोगले भेटैन ।’ पोल्ट्री फार्महरूले आवश्यकताअनुसार चिसो–तातो राखेजस्तै रैथाने प्रजाति पाल्दा पनि तापक्रम, आहारा र हाडनाता ध्यानमा राख्न नसक्दा गाउँघरमा पाल्नेले फाइदा लिन नसकेको अवस्था भएको उनी बताउँछन् ।


‘हाम्रो फरक–फरक भूगोलमा घरपालुवा पशुहरू फरक प्रजातिका भएजस्तै कुखुरा पनि छ,’ उनी भन्छन्, ‘यसो हेर्दा यो अनुसन्धानका लागि राम्रो विषय हो । तर, यसमा काम गर्नेहरू मैले भेटेको छैन । बरु जसलाई भेट्यो विकासे जात पाल्नेबारे खरर बताइदिन्छन् ।’ मुलुकको जुनसुकै कुनामा स्वाद र धार्मिक संस्कार प्रयोजनका लागि रैथाने प्रजातिका कुखुराको माग सधैं हुने भए पनि धेरै पालेर व्यावसायिक काम गर्नेहरू औंलामा गन्न सकिने संख्यामा रहेको उनले बताए ।


ग्रामीण कुखुरा तथा रैथाने पशुपक्षीपालक कृषक संघका उपाध्यक्षसमेत रहेका अधिकारी भन्छन्, ‘जातीय चेत बढेका बेला आ–आफ्नो संस्कार संस्कृति जोगाउनुपर्छ भन्छौं भने हाम्रा रैथाने प्रजातिका पशुपक्षी जोगाउन किन अघि नसर्ने ?’ पाल्दा विकासेका तुलनामा केही ढिलोगरी बेच्नयोग्य हुने भए पनि रैथाने प्रजातिका कुखुराले किसानलाई घाटा नपर्ने उनको दाबी छ ।


कास्कीको पशु रोग अन्वेषण प्रयोगशालाले कुखुरामा लाग्ने रोगबारे अनुसन्धान गरिरहेको हुन्छ । यहाँ रोग पहिचान र निदानको उपाय खोज्न पुग्ने विकासे कुखुरापालक अधिकांश हुन्छन् । ‘लोकल कुखुरा झोक्रायो कि के रोग लाग्यो भनेर सोधीखोजी गर्नुभन्दा काटेरै खाइहाल्ने चलन छ,’ डा. केदार पाण्डे भन्छन्, ‘हामीकहाँ पाइने रैथाने प्रजाति वातावरणअनुसार बाँच्न सक्ने प्रकारकै छन् । तर, बेलाबखत तिनमा लाग्ने रोग के हो भनेर चासो लिने किसान मैले निकै कम भेटेको छु ।’


पछिल्ला केही वर्षयता राम्रो दाम आउने बुझेकाहरूमा व्यावसायिक तरिकाले लोकल कुखुरा पाल्न चासो बढ्न थालेको उनले बताए । ‘बन्द खोरमा नापेर दाना खुवाएर पालेर लोकल हुने होइन,’ उनले भने, ‘लोकल पाल्नेले छोडेर पाल्नुपर्छ, चरनको व्यवस्था गर्नुपर्छ र कुखुराले एक्सरसाइज गर्न पाएको हुनुपर्छ ।’ साखिनी, प्वाँख उल्टे र घाँटी खुइले नेपालका पुराना र चलनमा रहेका कुखुराको रैथाने प्रजाति भएको उनले बताए ।


‘भाले–पोथी हेर्दा सुन्दर, छिटो बढ्ने र मासु स्वादिलो हुने साखिनी हो,’ उनले भने, ‘लोकल प्रजाति अझैसम्म निर्वाहमुखी तरिकाले पाल्ने नै धेरै भएकाले न किसान संगठित छन्, न उनीहरूको निश्चित बजार छ ।’ बजारमा लोकल कुखुराको माग सधैं हुने र तुलनात्मक रूपमा विकासेभन्दा राम्रो दाम पाइने बुझेकाहरूले बिस्तारै गाउँघरमा रैथाने प्रजाति नै पाल्न रहर गरिरहेको उनले बताए ।


प्रकाशित : आश्विन २९, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?