कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रयोगमा आएन टेलिमेडिसिन सेवा

मनोज बडू

दार्चुला — महाकालीमा आएको बाढीले बन्द रहेको जिल्ला अस्पतालको टेलिमेडिसिन सेवा अझै सञ्चालन हुन सकेको छैन  । विशेषज्ञ डाक्टरबाटै दुर्गमका बिरामीको उपचार र परामर्श दिने उद्देश्यले सञ्चालन गरिएको यो सेवा उपकरण अभावमा प्रयोगमा आउन सकेको छैन  ।

प्रयोगमा आएन टेलिमेडिसिन सेवा

अस्पतालका अनुसार बाढीपछि उपकरणमा खराबी आउँदा प्रयोगविहीन बनेको हो ।


२०७० असारमा महाकालीमा आएको बाढीले टेलिमेडिसिन राखेको कोठा जलमग्न बनेको थियो । त्यस बेलादेखि बन्द रहेको कोठा अझै बन्द छ । जिल्लामा तालिमप्राप्त चिकित्सक नभएको र पूर्वाधार नबनेसम्म सञ्चालन गर्न नसकिने अस्पतालले जनाएको छ । तर, टेलिमेडिसिनको डिभाइसबाट गरिने सेवाहरू नयाँ प्रविधिबाट बिरामीलाई दिइरहेको अस्पतालका निमित्त प्रमुख शिवराज सुनारले बताए । ‘टेलिमेडिसिन प्रविधिबाट गरिने काम फेसबुक लाइभ, भाइबर, स्काइपबाट उपलब्ध गराइरहेका छौं,’ उनले भने, ‘टेलिमेडिसिन पुन: सञ्चालनका लागि आपूर्ति महाशाखालाई अनुरोध गरिएको छ ।’


सुनारका अनुसार जिल्लामा अहिले एक विशेषज्ञ डाक्टरसहित ५ दक्ष जनशक्ति छ । केही उपकरण २/३ पटक यताउता सार्दा काम नलाग्ने बनेका छन् ।


बाढीका बेला हतारमा उपकरणहरू सार्दा केही बिग्रिए भने केही बाढीले बगाएको अस्पतालको भनाइ छ । स्वास्थ्य विभागले दुर्गम जिल्लामा विशेषज्ञ डाक्टरबाट चिकित्सक र बिरामीलाई परामर्श दिन ०६८/६९ मा यो सेवा सञ्चालन गरेको थियो । बन्द भएको ४ वर्ष पुग्दा पनि सेवा अझै अलपत्र छ ।

प्रकाशित : आश्विन २९, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?