खाद्यको चामल गाउँमा पुगेन सदरमुकाममा बिकेन

तुलाराम पाण्डे

कालीकोट — सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको चामल यहाँका ग्रामीण भेगमा रहेका खाद्य डिपोमा अझै पुग्न सकेको छैन  । सदरमुकाम मान्मस्थित खाद्य संस्थानको शाखामा अघिल्लो वर्षको करिब ७ सय क्विन्टल अझै मौज्दात छ  ।

खाद्यको चामल गाउँमा पुगेन सदरमुकाममा बिकेन

तर, थिर्पु, पादमघाट र खल्लागाड डिपोमा चामल नहुँदा स्थानीय समस्यामा छन् ।


दसैंको मुखमा गाउँका कुनै पनि डिपोमा चामल नहुँदा स्थानीय नजिकका बजारबाट महँगोमा चामल किन्न बाध्य छन् । ढुवानी अनुदानमा जिरा मसिनो प्रतिकिलो ६३, जापानी ५६, सोना मन्सुली ४७ र उसिना ४२ रुपैयाँ पर्छ । बजारबाट खरिद गर्दा व्यापारीले ढुवानी ज्याला जोडेर बेच्दा महँगो पर्छ ।


शाखाका लागि चालु आवमा ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत भए पनि ढुवानी हुन सकेको छैन । थिर्पुका लागि १५ सय क्विन्टल कोटामध्ये १ सय क्विन्टल ठेकेदारले पुर्‍याइसकेको निमित्त प्रमुख खडकबहादुर बुढाले बताए । उनका अनुसार पादमघाट र खल्लागाड डिपोका लागि पनि १५ सय क्विन्टलका दरले कोटा स्वीकृत भएर आएको छ । डिपोमा चामल ढुवानीका लागि ठेक्का भइसकेकाले तिहारसम्म चामल गाउँ पुर्‍याउन सकिने उनको भनाइ छ ।


शतप्रतिशत ढुवानी अनुदानमा बिक्री हुने खाद्य संस्थानको चामल सदरमुकाम आसपासका बासिन्दालाई दसैंसम्म पुग्ने संस्थानका चामल विक्रेता तिलक खनाल बताउँछन् । उनका अनुसार आइतबारसम्म मान्म शाखामा सोना मन्सुली चामल २ सय ७८, जापानी एक सय २३, उसिना १ सय ६९ र जिरा मसिनो ४१ क्विन्टल मौज्जात छ । उनले दसैंका बेला भएकाले दैनिक १५/२० क्विन्टल बिक्री भइरहेको जानकारी दिए ।


‘तिहारसम्म नयाँ कोटाको चामल आउँछ होला,’ खनालले भने, ‘सदरमुकाममा बजारबाट खरिद गर्न सहज भए पनि गाउँमा चामल अभाव छ ।’ उनले सडक पुगेपछि पहिलेजस्तो चामलको अभाव नभएको दाबी गरे । कर्णाली राजमार्ग असारसम्म सञ्चालन भएकाले विनियोजित सबै चामल जिल्लामा पुग्नु, स्थानीय व्यापारीले पनि चामल स्टक राख्नु, गहुँ र मकै बालीको उत्पादनमा वृद्धि हुनुले चामलको कम खपत हुन थालेको छ । त्यस्तै कर्णाली नदीपारि पर्ने दर्जन गाउँका बासिन्दा संस्थानको चामल लिन सदरमुकाम मान्मभन्दा जिते बजार जाने गरेका छन् ।


खाँडाचक्र १ का रघुवीरे विश्वकर्माले विगतमा जस्तो खाद्य समस्या नभएको बताए । सदरमुकामसहित सडक पुग्ने ठाउँमा व्यापारीले चामल पुर्‍याएको उद्योग वाणिज्य संघका अध्यक्ष सुईबहादुर शाहीले बताए । उनका अनुसार बजारमा चामलको माग घटेको छ । सधैंजसो खाद्यान्न अभाव हुने पलाता र पचालझरना गाउँपालिकामा भने चामलको समस्या धेरै छ । त्यहाँका बासिन्दा अझै महँगोमा चामल किनेर खान बाध्य छन् । कर्णाली करिडोर पनि पूर्ण रूपले सञ्चालनमा नआएकाले चामल ढुवानीमा समस्या रहेको स्थानीयको भनाइ छ ।


प्रकाशित : आश्विन २९, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?