कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक पर्यटनले समृद्धि

सबैको प्रयासले पाँच वर्षभित्रै पुरानो बजार रंगेली पूर्वाञ्चलकै प्रमुख धार्मिक केन्द्रतर्फ उन्मुख
जितेन्द्र साह

रंगेली, मोरङ — सय वर्षअघि मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सारियो  । यहाँबाट भारतीय सीमा टाढा, सडक र परिवहनको समस्या भएकाले विराटनगर उपयुक्त रहेको त्यतिबेलाका सरकारी अधिकारीको तर्क थियो  ।

धार्मिक पर्यटनले समृद्धि

रेलवे सुविधायुक्त सीमावर्ती जोगवनीनजिक भएकाले आयातनिर्यातमा सहज हुने भन्दै महत्त्वपूर्ण सरकारी कार्यालय यहाँबाट विराटनगर लगिएको हो ।


एकपछि अर्को गर्दै उद्योग, व्यवसाय र सरकारी कार्यालय गएपछि पूर्वाञ्चलकै यो पुरानो बजार रंगेली लामो कालखण्डसम्म उजाड रह्यो । धेरैजसो उद्योगी एवं व्यवसायी अवसर खोजीमा यहाँबाट अन्यत्र पलायन भए । चहलपहल भइराख्ने बजार अचानक सुनसान भयो । तर पुर्खौंदेखि यहाँ बसिरहेका जुझारु स्थानीयले हरेस खाएनन् ।


आपसमा थोरैथोरै आर्थिक सहयोग संकलन गरी टोलपिच्छैका पुराना मठमन्दिरको संरक्षण गर्दै धार्मिक पर्यटनलाई बढावा दिने अठोट उनीहरूले लिए । अधिकांश धार्मिक सम्पदा प्राचीन समय र राणाकालदेखिका थिए । मिलिजुलीको प्रयासले पाँच वर्षभित्रै पुरानो बजार रंगेली पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटनका रूपमा चिनिएको छ ।


‘सदरमुकाम भएको गौरव गुमाए पनि धार्मिक तीर्थाटनका रूपमा आफूलाई स्थापित गरायो,’ स्थानीय बुद्धिजीवी सुरेश मिश्रले भने, ‘विराटनगरवासीलाई पनि मुख्य पर्वहरूमा पूजाआजा गर्न रंगेली नआई हुन्न ।’ सरकारको नयाँ नमुना सहर योजनामा परेको यो नगरमा पथरी–कानेपोखरी–रंगेली सडक निर्माण एवं अन्य भौतिक पूर्वाधार विकास जारी रहेकाले निराशाका दिन सकिएको उनले बताए ।


आवागमनसँगै व्यवसाय बढेर सयौंले रोजगारी पाइरहेको स्थानीय युवा कैलाश मण्डलले बताए । चण्डीपूर्णिमा (वैशाख), दसैं, तिहार र छठजस्ता पर्वमा यो नगरमा स्वदेश एवं विदेशका यात्रुको घुइँचो लाग्छ । ‘काठमाडौं, भक्तपुर र ललितपुरलाई मन्दिरहरूको सहर भनेझैं उति बेलादेखि रंगेली मन्दिरहरूको गाउँ भनेर चिनिएकै हो,’ स्थानीय युवा बजरंग अग्रवालले भने, ‘यहाँका मधेसी, पहाडी एवं मारवाडीले मिलेर त्यो गरिमाको संरक्षण र प्रवद्र्वन प्रयास गरिरहेका छौं ।’


नगरपालिका बन्दै सम्मान पाएको यो थलोमा झन्डै १ सय ५० मठमन्दिर छन् । स्थानीय चिसाङ र बक्राहा खोला छेउमा प्राचीन संसारी माईस्थान मन्दिर, थोरै पूर्वपट्टि अघि बढेपछि ठूलो हाट एवं मुख्य बजार क्षेत्रमा दुर्गा, शिव, राधाकृष्ण र कालीका गरी ६ भव्य मन्दिर छन् । फिर्दै जाँदा टोल र बस्तीपिच्छै धार्मिक स्थलमात्र देखिन्छन् । ‘सबैको आ–आफ्नै धार्मिक एवं सांस्कृति महत्त्व छ,’ अग्रवालले भने । स्थानीय अग्रवाल नेपाल मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष पनि हुन् । ऐतिहासिक काली मन्दिरमा राणाकालदेखि चलिआएको फूलपातीको बढाइँ बर्सेनि जारी रहेको उनले बताए । अग्रवालले भने, ‘यो नगरको इतिहास गरिमामय छ, वर्तमान र भविष्य पनि उज्ज्वल छ ।’


बजारको माझस्थित भव्य काली मन्दिरकै कारणले किराना, मिठाई, खाजा, कपडा, सौन्दर्य सामग्री एवं सुनचाँदीलगायत वरिपरिका २५ पसलको व्यापार चलेको छ । दसैंतिहारमा यो बजारमा ३० वटा मिठाई पसल थपिन्छन् । ‘दसैंमा सबै खर्च कटाएर कम्तीमा १० हजार रुपैयाँ नाफा हुन्छ,’ मिठाई व्यवसायी ३५ वर्षीय शंकर साह हलुवाईले भने । दसैंका दिन एक व्यवसायीले झन्डै ३५ हजार रुपैयाँसम्मको मिठाई बेच्ने गरेको उनले बताए । साहका अनुसार सप्तमी, अष्टमी, नवमी, एकादशी र द्वादशीमा समेत व्यवसायीले दैनिक औसत १० हजार रुपैयाँसम्मको मिठाइ बिक्री गर्छन् । धार्मिक पर्यटनले गर्दा मुस्लिम समुदायको व्यापारसमेत फस्टाएको रंगेली–८ का वेल्डिङ मिस्त्री मोहम्मद दिलसादले बताए ।


सीमावर्ती विहारको अररिया जिल्लाको फारबिसगन्जसम्मका नागरिक घुमफिर एवं पूजाआजाका लागि आइरहेको स्थानीय धार्मिक, सांस्कृतिक एवं सामाजिक अभियन्ता सञ्जीव श्रेष्ठले जानकारी दिए । ‘सिक्किमसम्मका पनि फाटफुट आउँछन्,’ उनले भने । तीन बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको संसारी माईस्थान मन्दिर व्यवस्थापन समितिमा श्रेष्ठ अध्यक्ष हुन् ।


‘जलाशय किनार र खेतमाझस्थित यो पूजनीय स्थलबाट श्रद्धालुले यात्रा सुरु गर्छन्, नगरका अन्य मठमन्दिरसम्म पुग्छन्,’ श्रेष्ठले भने । भक्तजनको चाप र सामुदायिक भवन निर्माणलगायतको मागलाई पूरा गर्न मन्दिर वरिपरि थप १२ कट्ठा जग्गा किनेको उनले बताए । ‘श्रद्धालुकै दानदक्षिणाबाट यो सम्भव भएको हो,’ श्रेष्ठले भने । मन्दिर व्यवस्थापन समितिले स्थानीय निकायमार्फत प्रदेश १ सरकारसमक्ष सामुदायिक भवन निर्माणका लागि प्रस्ताव पेस गरिसकेको उनले बताए ।


दैनिक औसत ५ सय भक्तजन आउने संसारी माईस्थान परिसरमा मिठाई, चियानास्ता, चुरी, चुनरी, खेलौना, औंठी एवं फूलको गरी ६० पसल छन् । यहाँ पूजा सकेर अन्यत्र जान सहज हुने गरी विद्युतीय रिक्सा सेवा पनि उपलब्ध छ । ‘प्रत्यक्ष र परोक्ष रूपले झन्डै ५ सयले रोजगार पाएका छन्,’ श्रेष्ठले भने ।


बिदाको दिन शनिबार र शुभ दिन मानिने मंगलबार संसारीमाईमा झन्डै १० हजार आउने उनले बताए । श्रेष्ठले भने, ‘यहाँ सयौं कार्टुन मिनरल वाटर बिक्री हुन्छ, यसबाटै व्यापारको अनुमान गर्न सकिन्छ ।’ यो दुई दिन बाहिरका मान्छे र अन्य दिन स्थानीय दर्शन एवं वनभोज मनाउन आउने गरेको उनले जनाए ।


खोला किनारस्थित हराभरा यो धार्मिक स्थलको मुख्य सडकमा मुख्य चाडबाडमा ५ हजार जनाको लस्कर हुने गरेको श्रेष्ठको अनुमान छ । ‘रंगेलीले पुन: आफ्नो पहिचान स्थापित गरेको छ,’ मोरङको सुनवर्षी–३ अमरदहका किसान शम्भु श्रेष्ठले भने ।


३ बिघा खेत र चार जनाको परिवार भएका उनी पनि घुमफिर गर्न रंगेली आइपुग्छन् । श्रेष्ठको घरनजिकै पर्ने पथरीशनिश्चरे बजारमा पनि दसैं मेला लाग्छ । श्रेष्ठले भने, ‘रंगेलीको जस्तो दसैं मेला मोरङमै कही हेर्न पाइन्न ।’ फेरि एकपटक रंगेली उदाहरणीय बनिरहेको सुनवर्षी–५ का योगेन्द्रप्रसाद राजवंशीले बताए ।


ऐतिहासिक महत्त्व बोकेको थलोमा जन्मिन पाएकोमा आफूलाई गर्व लागेको स्थानीय आपगाछीका २२ वर्षीय धिरज राजवंशीले बताए । विराटनगरमा स्नातक अध्ययरत उनी मोरङको कटहरी बजारको एक पेट्रोल पम्पमा काम गर्छन् । ‘दसैंमा चार दिन त मेलामा घुम्दै, खाँदै, मित्रजन एवं आफन्तलाई भेटै बित्छ,’ उनले भने, ‘रंगेलीमा नवमीदेखि द्वादशीसम्म लाग्ने मेलामा सीमावर्ती विहारसम्मका बासिन्दा आउँछन् ।’

प्रकाशित : आश्विन २९, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?