त्रुटी नहुने गरी काम गर्नु: प्रहरी महानिरीक्षक 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।

त्रुटी नहुने गरी काम गर्नु: प्रहरी महानिरीक्षक 

गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्दै सोमबार उनले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।


'इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्छ' उनले भने, 'दशैँ, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नआउने गरी काम गर्नु ।'


सङ्गठनको नीतिविपरीत काम गर्ने कर्मचारी तत्काल सजायको भागीदार हुने पनि उनको भनाइ थियो । महानिरीक्षक खनालले प्रहरीले लागू गर्न लागेको समुदाय साझेदार प्रहरी अवधारणाले संगठनमा थप गतिशीलता ल्याउने बताए ।


दर्ज्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षकमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्याय छन् ।


प्रकाशित : आश्विन २९, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?