कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन तस्करीका अभियुक्तलाई यूएईबाट काठमाडौं ल्याइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित ३३ किलोग्राम सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका मुख्य अभियुक्तमध्येका एक जना संयुक्त अरब इमिरेट्स (यूएई) मा पक्राउ परेका छन् ।

सुन तस्करीका अभियुक्तलाई यूएईबाट काठमाडौं ल्याइयो

सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा यूएईमा पक्राउ गरी आइतबार काठमाडौं ल्याइएको जानकारी नेपाल प्रहरीले दिएको छ ।


मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) का प्रमुख सहयोगी मानिएका श्रेष्ठविरुद्ध फरार अभियुक्तका रूपमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारद्वारा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख छ ।


उनलाई लिन मोरङ जिल्ला प्रहरी कार्यालयको टोली सोमबार नै काठमाडौं आइपुगेको छ । उनलाई मोरङ लगेर हिरासतमा राखिने र अदालतमा उपस्थित गराइने जानकारी प्रहरीले दिएको छ ।


सुन तस्करीका लगानीकर्ता मानिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) का भाइ रमेश उप्रेती, हरिशरण खडका र बेनु श्रेष्ठविरुद्ध गत असारमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । श्रेष्ठ सुन तस्करीका अलावा हुन्डीको कारोबारीसमेत भएको प्रहरीले उल्लेख गरेको छ ।


सुन प्रकरणमा जिल्ला अदालत मोरङको आदेशअनुसार थुनामा रहेका केही प्रहरी अधिकारी भने उच्च अदालत विराटनगरको आदेशमा थुनामुक्त भइसकेका छन् । एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल थुनामुक्तमात्र होइन निलम्बन फुकुवा भई पदमा बहाल भइसकेका छन् ।


उच्च अदालतको आदेशमा पूर्वडीआईजी गोविन्द निरौला र बहालवाला डीएसपी प्रजित केसीसमेत थुनामुक्त भइसकेका छन् । केसीसमेत निलम्बन फुकुवाको क्रममा छन् ।

प्रकाशित : आश्विन २९, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?