१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्याउले धान्दै चाडबाड

विमल खतिवडा

काठमाडौँ — मुगुको छायानाथ–रारा नगरपालिका ४ स्थित कार्कीबडाका महेन्द्र भामले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ७ वर्ष बढी भयो । उनको मुख्य अम्दानीको स्रोत नै स्याउ हो । असोज पहिलो साताबाट स्याउ बिक्री गर्न सुरु गरेका उनले दसैं खर्च जोहो गरिसके । यस वर्ष उनले डेढ लाखको स्याउ बिक्री गरे । उनको परिवारमा २ छोरा, २ बुहारी, श्रीमती र बुवा छन् ।

स्याउले धान्दै चाडबाड

छायानाथका कृषि शाखाका योजना अधिकृत केवी रोकायाका अनुसार स्याउ बिक्री गरेर दसैं खर्च जोहो गर्ने किसान धेरै छन् । ‘असोज पहिलो साताबाट टिप्न सुरु गरिन्छ,’ उनले भने, ‘किसानले चैतसम्म स्टोर गरेर बिक्री गर्छन् ।’


अहिले ठूलो दाना स्याउ १० र सानो ५ रुपैयाँमा बिक्री भइरहेको छ । ‘पछिसम्म राख्दा दानाको १५ रुपैयाँसम्ममा बिक्री हुन्छ,’ उनले भने, ‘केहीले अहिले नै र केहीले स्टोर गरेर राखी पछि बिक्री गर्छन् ।’ किसानलाई ७५ प्रतिशत अनुदानमा स्याउ राख्ने ४ हजार कार्टुन वितरण गरिएको थियो । मुगुमा एक किसानले ३० हजारदेखि ३ लाखसम्म स्याउबाटै आम्दानी गर्दै आएका छन् । यहाँको स्याउको मुख्य बजार सुर्खेत र नेपालगन्ज हो ।


मुस्ताङ स्याउ उत्पादनको अर्को ठूलो क्षेत्र हो । मुस्ताङका वरिष्ठ बागवानी अधिकृत बालकृष्ण अधिकारीका अनुसार जिल्लामा एकैजना किसानले वार्षिक एक करोडसम्मको स्याउ बिक्री गरेका छन् । ‘अघिल्लो वर्षभन्दा यसपालि राम्रो फलेको छ,’ उनले भने, ‘यहाँको उत्पादन ८० प्रतिशत बाहिर जान्छ ।’ २०७४/७५ मा ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष ५ हजार ८ सय भएको उनले बताए । ‘सुरुमा बाटोले गर्दा बजार लैजान समस्या थियो,’ उनले भने, ‘असोज पहिलो साताबाट सहज भयो ।’ मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । यहाँको स्याउ म्याग्दी, बागलुङ र नारायणगढसम्म जाने गरेको छ । गत वर्ष मुस्ताङबाट मात्रै ४३ करोडको स्याउ बिक्री भएको थियो । यो वर्ष ४६ करोडको स्याउ बिक्री हुने अनुमान गरिएको अधिकारीले बताए । ‘स्याउ बिक्री जारी छ, अहिलेसम्म ३२ करोड ५० लाखको बिक्री भइसकेको छ,’ उनले भने ।


जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘स्याउ सुपर जोन’ कार्यक्रम चालु छ । सुपर जोन कार्यक्रम जुम्लाका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माका अनुसार यो वर्ष स्याउका दाना राम्रा छन् । ‘यहाँको स्याउ अग्र्यानिक छ,’ उनले भने, ‘आकर्षक दाना र गुणस्तरीय भएकाले नै यहाँको स्याउको माग धेरै छ ।’ उनका अनुसार अहिलेसम्म जिल्लाबाट २ हजार मेट्रिक टन स्याउ बाहिरिएको छ । पहिला किलोको ५० देखि ५५ रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले किलोको ६५/७० रुपैयाँसम्म पुगेको छ । जुम्लाको स्याउको मुख्य बजार कोहलपुर र सुर्खेत हो । काठमाडौंमा समेत ल्याएर बिक्री गर्ने गरिएको छ । ‘अघिपछि भन्दा चाडबाडमा स्याउको माग धेरै हुन्छ,’ शर्माले भने, ‘त्यसमा पनि दसैं र तिहारमा बढी खोजिन्छ, यो बेला किसानले राम्रो आम्दानी गर्छन् । चाडबाड मान्ने खर्च जुटाउँछन् ।’


सरकारले २०६८/६९ सालको बजेटमा हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, मनाङ र मुस्ताङलाई स्याउको पकेट क्षेत्रका रूपमा राखेको थियो । २०७१/७२ बाट रुकुमलाई पनि समावेश गरियो । २०७३/७४ को तथ्यांकअनुसार मनाङमा २ सय ५ हेक्टर, मुस्ताङमा १ हजार १ सय १५ हेक्टर, डोल्पामा ९ सय ५० हेक्टर, जुम्लामा ३ हजार २५, मुगुमा १ हजार ९०, कालीकोटमा १ हजार ५ सय, हुम्लामा ४ सय ९० हेक्टर र रुकुममा ४ सय ६५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?