‘हाम्रो पालाको दसैं पो दसैं’

जितेन्द्र साह

विराटनगर — ‘अन्तिमपटक दसैं कहाँ मनाउनुभएको थियो ?’ ‘हाम्रो उमेरको हुँदा हजुरहरूले यति बेला केके गर्नुहुन्थ्यो ?’ र ‘आश्रमभित्र दसैं कसरी मनाउनुहुन्छ ?’

‘हाम्रो पालाको दसैं पो दसैं’

विराटनगर ८, संगम चोकका २२ वर्षीय आश्मिन भुजेलले सोमबार बिहान स्थानीय विराटेश्वर वृद्ध आश्रममा यी जिज्ञासा राख्दा बाआमा मख्ख पर्दै सुनिरहेका थिए । नाति उमेरका युवकसँग दसैंको अनुभव साटासाट गर्न वृद्धवृद्धाबीच प्रतिस्पर्धा चलेको थियो ।

‘हाम्रो पालाको दसैं पो दसैं,’७१ वर्षीय गणेशबहादुर निरौलाले भने, ‘अहिलेका देखावटी र नक्कली पाराले मनाउँछन् ।’ पुख्र्यौली घर खोटाङ बताउने उनी डेढ वर्षअघि मात्र आश्रममा आएका हुन् ।

चिटिक्कको पहिरन र गोरो मुहारमा कालो चस्मा लगाई आश्रममा फनफनी घुमिराख्ने हुनाले उनलाई सबैले ‘सलमान खान बा’ भनेर बोलाउँदा रहेछन् । उनलाई पनि यो सम्बोधन मनपर्छ । मख्ख पर्छन् । अनि बोनसमा एउटा भजन पनि सुनाइहाल्छन् ।

‘एक्लैले होइन, १० जना मिलेर मनाएको दसैं पो रमाइलो हुन्छ,’ उनले भने, ‘हामी त पूरा गाउँ मिलेर मनाउँथ्यौं, कसको घरमा कतिपटक खाइयो ?, याद हुँदैनथ्यो, पिङ खेल्दा र गाउँ डुल्दाडुल्दै खाएको पच्थ्यो ।’ अहिलेका नयाँपुस्ता चार घरमा पुगेर टीका नलगाउँदै थाक्ने गरेको निरौलाले औंल्याए ।

जीवनको विभिन्न आरोहअवरोह खेप्दै आइपुगेका वृद्ध बाआमामध्ये धेरैले आफ्नो गाउँठाउँको नाम समेत बिर्सिसकेका छन् । धेरै जोर दिएर सोधे आफ्नो जिल्लासम्मको नाम भन्न सक्दा रहेछन् । ‘१३ वर्षअघि यति बेला दसैंका लागि घर लिपपोत गरिरहेको थिएँ,’ ७३ वर्षीया सिंहमाया तामाङले भनिन् ।

उनी २०६२ मा फागुनमा पाँचथरबाट आश्रममा आएकी हुन् । ‘अहिलेको जस्तो हो र, हामी त मनले मान्थ्यौं, अहिले देखासिकी बढी गर्छन्,’ सिंहमायाले भनिन् । आफूहरूको जस्तो गरी वरिपरि कसैले दसैं नमनाउने गरेको उनले ठोकुवा गरिरहेकी थिइन् । ‘भर्खरकी हुँदा त भदौ लागेदेखि दसैंको पर्खाइमा हुन्थेँ,’ उनले सम्झिइन्, ‘नयाँनयाँ लुगा लगाउने, मिठो खाने र फिल्म हेर्न जान मन पराउँथें ।’

आश्रममा ५२ वृद्धवृद्धा आश्रित छन् । ‘दसैंका लागि भनेर खसी पाल्थ्यौं, कहिल्यै किन्नु पर्दैनथ्यो,’८० वर्षीया चन्द्रकुमारी कार्कीले भनिन् । सोलुखुम्बुकी यी आमाले सोह्र श्राद्धपछि मन स्वत: दसैंमय हुने गरेको सुनाइन् । ‘नवरात्रिको दिनदेखि रोटे पिङ खेल्थेँ,’ उनले भनिन्,‘धेरै पटक लडियो पनि ।’

घरमा हुँदा केरा पकाउने र दहीचिउरा खाने गरेको उनले सुनाइन् । ‘दसैं मनाएका दिनहरू सम्झिँदा खुसी लाग्छ,’ उनले भनिन्,‘आश्रममा पनि दाता र पाहुनाहरू आउनुहुन्छ, टीकाजमरा थाप्छौं, लाइदिन्छौं, उनीहरू पनि परिवारभन्दा कम होइनन् ।’

यहाँ आश्रित पाँचथरकै ६३ वर्षीय इन्द्रजित गजमेर त दसैं सम्झेर रोमाञ्चित हुन्छन् । ‘पेसाले चालक थिएँ, जहाँबाट निम्तो आए पनि मासु/मदिरासहितको भोज छुटाइँदैनथ्यो,’उनले भने,‘मेलापात गरिन्थ्यो, प्रेम साटासाट हुन्थ्यो, मायालु पाराले तरुनी जिस्काइन्थ्यो तर नराम्रो भावना राखिँदैनथ्यो ।’ आश्मिन यी बाआमाको रोचक दसैं अनुभव सुनेर दंग परिरहेका थिए । ‘यो अनुभव फरक रह्यो,’ उनले भने ।

आश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्यालले नयाँ पुस्ताका लागि पनि यो प्रेरणादायी हुने बताए । दसैंमा बाआमालाई टीका लगाएर थरीथरीका शाकाहारी भोजन खुवाउने गरेको उनले बताए । ‘उहाँहरूलाई नपच्ने खाले मासुभन्दा पनि मीठो शाकाहारी भोजन खुवाउँछौं,’ उनले भने ।

प्रकाशित : आश्विन ३०, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?