कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क, विदेशीलाई पाँच गुना बढ्यो

दीपक परियार

लेखनाथ — तीन संरक्षित क्षेत्रमा नेपाली नागरिकले पनि प्रवेश गर्न शुल्क तिर्नुपर्ने भएको छ । सरकारले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क तोकेको हो ।

संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क, विदेशीलाई पाँच गुना बढ्यो

प्रकाशित सूचना अनुसार अन्नपूर्ण (एक्याप), मनास्लु (एमक्याप) र गौरीशंकर संरक्षण क्षेत्र (जीक्याप) प्रवेश गर्न नेपालीले एक सय रुपैयाँ बुझाउनुपर्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गत रहेका संरक्षण क्षेत्र आयोजनाका काउन्टरबाट परमिट लिनुपर्छ ।

सार्क मुलुक र अन्य विदेशी पर्यटकको प्रवेश शुल्कमा पनि वृद्धि गरिएको छ । सार्क मुलुकका नागरिकलाई दुई सयबाट बढाएर एक हजार रुपैयाँ प्रवेश शुल्क पुर्‍याइएको छ । सार्क बाहेकका मुलुकका पर्यटकले यसअघि करसहित २ हजार २ सय ६० रुपैयाँ बुझाउँदै आएकामा अब तीन हजार रुपैयाँ बुझाउनुपर्ने छ । एक्यापमा पदयात्रा गर्न जाने पर्यटकले काठमाडौंको भृकुटीमण्डप, पोखराको ड्यामसाइड र लमजुङको बेंसीसहरमा रहेको काउन्टरबाट परमिट लिन्छन् ।

सरकारले बिना जानकारी प्रवेश शुल्क तोकेकोमा पोखराका पर्यटन व्यवसायीले आक्रोश व्यक्त गरेको छ । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) पोखरा च्याप्टरका अध्यक्ष हरि भुजेलले नेपालीलाई कर लगाउने विषयमा आफ्नो आपत्ति रहेको जनाए । ‘पहिले देश, अनि विदेश भन्ने सरकारको नारा नै छ,’ उनले भने, ‘२०२० मा २० लाख पर्यटक भित्रयाउने भनिएको बेलामा नेपालीलाई पनि कर लगाउने विषय खेदजनक छ ।’ उनले ६ महिनाअघि सूचना गरेर मात्रै मूल्य बढाउनु पर्नेमा एक्कासी बढ्दा अचम्मित भएको बताए । यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग बुझ्दा उनले अनविज्ञता प्रकट गरेको भुजेलले सुनाए ।


एक्यापका परियोजना प्रमुख राजकुमार गुरुङले भने स्थानीयलाई प्रवेश शुल्क नलाग्ने बताए । ‘पर्यटकका रुपमा जाने नेपालीलाई मात्रै परमिट लिनुपर्ने व्यवस्था गरिएको हो,’ उनले भने, ‘स्थानीयको हकमा कसरी व्यवस्थापन गर्ने भन्ने भइसकेको छैन ।’ उनले नेपालीको अनुगमन कसरी गर्ने भन्ने चुनौति कै विषय रहेको उल्लेख गरे । भने, ‘दसैंपछि नेपालीको हकमा कसरी गर्ने भन्ने छलफलमा आउँला ।’ उनका अनुसार एक्यापले सोमबार दिउँसो सूचना प्रकाशित भएको समयदेखि नै परिमार्जित शुल्क लिएर पर्यटकलाई परमिट जारी गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७५ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?