१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

दुर्गमको दसैं : यता टाल्यो, उता भ्वाङ्ग

खसी नहुनेको पेठो (कुभिन्डो) काट्ने योजना
तुलाराम पाण्डे

(कालिकोट) — दसैं हुने खाने र हुँदा खाने सबैको चाड हो । वर्षभरि घरबाट टाढिएका घर फर्किएर आफन्तको मिलन गर्ने सामाजिक पर्व पनि ।  धर्म, संस्कृति, संस्कार र समाज जोड्ने चाड पनि भएकाले सुगम, दुर्गम, सम्पन्न विपन्न, महिला पुरुष, बालक, वृद्ध सबैले दसैं विशेष रूपमा मनाउन मनाउँछन् ।

दुर्गमको दसैं : यता टाल्यो, उता भ्वाङ्ग

दसैंका बेला कालिकोटका गाउँमा सामूहिक भोजभतेर सुरु भएको छ ।


दसैंका अवसरमा भगवती देवीको लगन छोपेर विवाह व्रतबन्ध गर्ने चलन पनि छ । ताडी गाउँमा मात्र अचेल दिनहुँ विवाह हुने गरेको छ । ५ दिनमा ७ विवाह भएको स्थानीय शिक्षक भीमप्रसाद पाण्डेले बताए ।


दसैं मनाउन कालीकोटका विभिन्न गाउँबाट अध्ययन र नोकरीका लागि जिल्लाबाहिर गएका स्थानीय घर फर्किएका छन् । खाँडाचक्र २, जैमल विश्वकर्मा एक साताअघि भारतको नैनीतालबाट घर फर्किए । गत मंसिरमा भारत पसेका विश्वकर्माले ९ जनाको परिवारका लागि नयाँ कपडा र ३० हजार नगद घर पुर्‍याएका छन् । कमाएको पैसा खसीमा सकिने हुँदा छरछिमेकमा खसी वा राँगो जे काटे पनि ३–४ हजारको मासु ल्याएर परिवारलाई खुवाउने उनको योजना छ । टीका लगाउन आउने आफन्तका लागि दिने नयाँ नोट पनि जम्मा पारिसकेका छन् । ‘चाडपर्व हो, रमाइलो गर्नैपर्‍यो,’ उनले भने, ‘गरिबका लागि दसैं दशाजस्तै हुन्छ ।’ उनले खर्च बढी हुने सुनाउँदै स्थानीय लबज भने ‘यता टाल्यो उता भ्वाङ (प्वाल) पर्छ ।’ एकातिर खर्च गर्दा अर्कोतिर अपुग हुने गुनासो उनको छ । सीमित कमाइले सबैलाई खुसी बनाउन कठिनाइ हुने गरेको उनको भनाइ छ ।


रास्कोट ७ सागाटियाका हस्ते सार्कीको दसैं पनि भिन्न छैन । यसपालिको दसैंमा घरमा खसी बोका पालेका छैनन् । तर, बारीभरी पेठो (कुभिन्डो) भने फलाएका छन् । नहुने परिवारले पेठोलाई खसीका रूपमा मार हानेर नवदुर्गाको पूजा गर्ने चलन छ । ‘खसी किन्ने पैसा छैन,’ घरायसी सामान लिन मान्म आएका सार्कीले भने, ‘पेठो (कुभिन्डो) को बली दिने योजना छ ।’ उनले दसैंको बेला मासु नभए केटाकटीले नरमाइलो मान्ने हुँदा छिमेकीका घरबाट २–४ किलो मासु किनेर ल्याउने बताए ।


तिलागुफा नगरपालिका २, राँचुली रतडाका नवराज कटुवालले यसपालिको दसैंका लागि आफ्नै गाउँबाट १४ हजारमा खाल्बा (भाले भेडो) खरिद गरे । उनले आफ्नै घरमा मार हान्ने भए पनि भेडाको मासु भने छिमेकका पाँच परिवारलाई दुई/दुई हजारका दरले बिक्री गर्ने र त्यसैले दसैं मान्ने बताए । ‘सिंगै खसीको मासु खान सकिँदैन,’ उनले भने, ‘बाँडीचुँडी खाँदा रमाइलै हुन्छ ।’ उनको टोलमा चाडबाडमा पालैपालो घरमा खसी काट्ने र मासु बाँडेर खाने चलन छ ।


अहिले चाडबाड महँगा हुँदै गएका छन् । विगतमा आफ्नो घरमा जेजस्तो पाइन्छ त्यसैमा सन्तोष मानेर चाडबाड मनाइने चलन रहे पनि देखासिकीमा एकपटकको चाडले वर्षभरि ऋण बोकाएर जाने गरेको छ । घरमा नभए पनि ऋण गरेर मदिरा खाने, फजुल खर्च गर्ने प्रवृत्ति बढदो छ । दसैं तिहारजस्ता चाडबाडमा हुनेले नहुनेलाई खाद्यवस्तु, दही, दूध बाँडेर खाने राम्रो चलन छ । ‘सधैं सबैको घरमा सबै कुरा हुन्छ भन्ने छैन,’ खाडाचक्रका पण्डित जयचन्द्र अधिकारीले भने, ‘बाँडेर खाने राम्रो चलन हाम्रो ठाउँमा छ ।’


दसैंले समाजलाई जोड्ने भएकाले यसको धेरै महत्व रहेको खाडाचक्र ४, का जयलाल आचार्यले सुनाए । ‘घर बाहिर रहेका सबै आफन्त घर फर्किन्छन्,’ उनले भने, ‘भेटघाटको माध्यम भएको छ ।’ आधुनिकतासँगै दसैं तिहारजस्ता चाडबाड कर्णालीमा पनि खर्चिला र भडकिला बन्न थालिसकेको नागरिक समाजका अगुवा लीलाराम न्यौपानेले बताए । ‘पहिले पहिले घरमा अन्नपात धेरै हुने, गाईभैंसी, घोडा, भेडा बढी हुने घरलाई धनी भन्ने चलन थियो,’ न्यौपानेले भने, ‘अहिले जागिर र ब्यापार गर्ने सम्पन्न जस्ता देखिन्छन् ।’ उनका अनुसार हुनेले गरेको खर्चको देखासिकी गर्दा नहुने ऋणमा डुब्नुपर्ने अवस्था छ ।


चाडबाडमा घर फर्किन पनि कर्णालीवासीलाई निकै सास्ती छ । सुर्खेत नेपालगन्जमा हप्तौं कुर्दा पनि पहुँच नहुनेले हवाई टिकट पाउन कठिन छ । भाडा पनि त्यस्तै चर्को । ‘घर फर्किन मात्रै एक लाख खर्च हुन्छ,’ कालीकोटमा शिक्षकको जागिर गर्ने डोल्पाकी कल्पना सेजुवाल बुढाले भनिन्, ‘खर्चिलो भएकाले घर नगएरै यतै बसियो ।’

प्रकाशित : आश्विन ३०, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?