कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘९ वर्षमा दोब्बर बाघ’

नवीन पोखरेल

लन्डन — वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ९ वर्षमा नेपालमा बाघको संख्या दोब्बरनजिक पुगेको जानकारी दिएका छन्  । बेलायत सरकारद्वारा लन्डनमा सोमबार आयोजित वन्यजन्तुको अवैध व्यापार निराकरणसम्बन्धी दुईदिने सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त जानकारी दिएका हुन्  ।

‘९ वर्षमा दोब्बर बाघ’

बस्नेतले ११ अक्टोबरको पूर्ण सत्रमा वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे समेत प्रकाश पारे । उनले २३ प्रतिशत नेपालको भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको सिकारमा पूर्ण प्रतिबन्ध लगाइएकाले सन् २०११ देखि २०१८ सम्ममा गैंडाको सिकार शून्य रहेको जानकारी गराउँदै नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको बताए ।


नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिने नीति अवलम्बन गरेको बताउँदै मन्त्री बस्नेतले यसबाट समुदायसमेत लाभान्वित भइरहेको विचार व्यक्त गरे । उनले वन्यजन्तुको व्यवस्थापन पक्ष वर्तमानको चुनौती रहेको पनि बताए ।


सम्मेलन उद्घाटन सत्रमा बेलायती विदेशमन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोब्बर वृद्धि भएको र चार वर्षदेखि गंैडा र बाघको सिकार शून्य रहेकाले यस्तो उदाहरणीय कार्यको अन्य देशहरूले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।


अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधका रूपमा लिई यसको नियन्त्रणका लागि सरकार र सबै सरोकारवाला निकायबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्यसहितको २० बुँदे विश्व घोषणा जारी गर्दै सम्मेलन १२ अक्टोबर २०१८ मा सम्पन्न भएको हो ।


८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको उक्त विश्व सम्मेलनमा मन्त्री बस्नेत नेतृत्वको टोली सहभागी भएको थियो । सम्मेलन अवधिमा मन्त्री बस्नेतसँग
बेलायती सांसद जोन मान र श्रीलंकाली टोलीका नेता सन्डिथ समरसिंघेले शिष्टाचार भेट गरी नेपालले वन पर्यावरण, जैविक विविधता र वन्यजन्तु संरक्षण सम्बन्धमा गरेको प्रगतिबारे चासो राखेका थिए । यस क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न इच्छुक रहेको पनि उनले बताएका थिए ।


साथै १२ अक्टोबरमा मन्त्री बस्नेतसँग युके ट्रस्ट फर नेचर कन्जरभेसन इन नेपालका अध्यक्ष एवं बेलायती सेनाका पूर्वप्रधान सेनापति अतिरथी सर जोन च्यापलले राजदूतावासमा शिष्टाचार भेट गरी नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र संयुक्त अधिराज्यको राष्ट्रिय प्रकृति संरक्षण कोषबीच साझेदारी र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरेको दूतावासले जनाएको छ । सोही दिन मन्त्री बस्नेतले लन्डनस्थित चिडियाखाना (जेडएसएल जु) को समेत अवलोकन भ्रमण गरे ।

प्रकाशित : आश्विन ३१, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?